१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मायावतीद्वारा नेपालको प्रशंसा

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको उत्तरप्रदेश राज्यकी पूर्वमुख्यमन्त्री तथा बहुजन समाज पार्टी (बसपा) की प्रमुख मायावतीले सार्कबारे नेपालका राजदूत नीलाम्बर आचार्यबाट व्यक्त धारणाको प्रशंसा गरेकी छन् । 

मायावतीद्वारा नेपालको प्रशंसा

मायावतीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियासँगको कुराकानीमा दिएको ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) को विकल्प हुन सक्दैन’ भन्ने अभिव्यक्तिको प्रशंसा गरेकी हुन् ।


‘भारतका लागि नेपाली राजदूतको बिमस्टेक दक्षिण एसियाली देशहरूको संगठन सार्कको विकल्प हुन सक्दैन,’ शनिबार ट्वीट गर्दै मायावतीले भनेकी छन् । वर्तमान अध्यक्षका हैसियतले नेपालले विगत तीन वर्षदेखि निष्क्रिय प्रायः रहेको सार्कलाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।


तर, भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण नेपालको उक्त प्रयास निरर्थक बनेको छ । राजदूत आचार्यको पछिल्लो भनाइ पनि त्यसैको एउटा कडी हो । राजदूत आचार्यले बिमस्टेक दक्षिणपूर्वी एसियासँगको सम्बन्ध स्थापित गर्न राम्रो माध्यम हुन सक्छ तर सार्कको मूल्यमा त्यसलाई प्रवर्द्धन गर्न नहुने पनि बताएका छन् । ‘सार्कका आफ्नै निश्चित र निर्दिष्ट उद्देश्यहरू छन् । यो क्षेत्रको तीव्रतर विकासका लागि पनि यसको महत्त्व छ । सार्क भनेको दक्षिण एसियाली संस्कृति, पहिचान, समानतासहितको विविधता पनि हो,’ उनले भनेका थिए ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्तो नदिएर भारतले सार्कलाई उपेक्षा गरेको भन्ने विश्लेषण भइरहेका बेला राजदूत आचार्यको यस्तो भनाइ आएको हो । सन् २०१४ को मोदीको शपथ ग्रहणमा सार्क राष्ट्रलाई निम्तो गरिएकोमा दोस्रो कार्यकालका लागि सुरु गर्नुअघिको शपथ समारोहमा भने बिमस्टेक सदस्य राष्ट्र र किर्गिस्तान तथा मोरिससका सरकार प्रमुखलाई बोलाइएको थियो ।


सार्क राष्ट्रलाई यसपटक निम्तो नगर्नुको पछाडि विगत केही वर्षदेखि पाकिस्तानसँगको सम्बन्धमा देखिएको तिक्ततालाई प्रमुख कारण ठानिएको छ । भारतले भने उक्त निर्णयलाई आफ्नो ‘छिमेक पहिले’ र ‘लुक इस्ट पोलिसी’ निरन्तरता मात्र भएको जनाएको छ ।


आचार्यको उक्त भनाइको पनि समर्थन गर्दै छिमेकीसँगको सम्बन्ध सुधारलाई पनि विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् । ‘छिमेकीसँग झगडा गरेर कोही पनि खुसी हुन सक्दैनसमेत भनेकी छन् । पाकिस्तान त्यसको गतिलो उदाहरण हो,’ मायावतीले आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?