१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी : गृहमन्त्री 'पोस्ट स्टडी वर्क' को पक्षमा 

नवीन पोखरेल

(लन्डन) — बेलायतका एकजना प्रभावशाली मन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थीको नियम सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री टेरेजा मेले शुक्रबार दलको नेताबाट राजीनामा दिएपछि उनको उत्तराधिकारी बन्ने दौडमा रहेका गृहमन्त्री साजिद जाविदले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । सत्तारूढ दलको नेताको दौडमा ११ राजनीतिज्ञ छन् । 

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी : गृहमन्त्री 'पोस्ट स्टडी वर्क' को पक्षमा 

जाविदले 'आफू बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भए बेलायती विश्वविद्यालयबाट ग्रयाजुएट गरेपछि अन्तर्राष्ट्रय विद्यार्थीलाई 'पोस्ट स्टडी वर्क' को व्यवस्था गर्ने जनाए । उनका अनुसार त्यसअन्तर्गत विद्यार्थीलाई २ वर्षका लागि वर्क पर्मिट (काम गर्ने अनुमति) दिइनेछ ।


जाविदले बेलयातका विश्वविद्यालयमा पढ्न आउने विदेशी विद्यार्थीका लागि आप्रवासनसम्बन्धी नियम पनि खुकुलो बनाउने प्रतिबद्धता जनाए । बि्रटिस फयुचर नामक थिंक टयांकद्वारा लन्डनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जाविदले बेलायती विश्वविद्यालयबाट पढाइ पूरा गरेका विदेशी विद्यार्थीलाई ६ महिनाभित्रै स्वदेश फर्काउनु अनुपयुक्त भएको बताए ।


यसअघि त्यस्ता विद्यार्थीलाई 'पोस्ट स्टडी वर्क' अन्तर्गत २ वर्षको भिजा दिने गरिन्थ्यो । 'म हाम्रो देशमा अझ धेरै अन्तर्राष्ट्रिय विद्यार्थी पढ्न आएको देख्न चाहन्छु,' गृहमन्त्री जाविदले भने, 'विद्यार्थीले आफनो पढाइ सकेर काम गर्न चाहन्छन् भने उनीहरूलाई सहज रूपमा बस्ने वातावरण मिलाइदिनुपर्छ । यसमा हाम्रो दृष्टिकोण सकारात्मक हुन आवश्यक छ ।'


वर्तमान कामचलाउ प्रधानमन्त्री मे सन् २०१२ मा गृहमन्त्री भएपछि अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कठोर नियम ल्याएकी थिइन् । मेका पालामा विद्यार्थीले ग्रयाजुएट गरेपछि ४ महिना मात्र बस्न मिल्ने नियम ल्याइएको थियो । आप्रवासी नियन्त्रणकै हिस्सास्वरूप ईयूबाहेकका मुलुकबाट आउने विद्यार्थीलाई कडाइ गरिँदा हजारौं नेपाली विद्यार्थीसमेत प्रभावित भएका थिए ।


व्यापक आलोचनापछि यसै वर्षको सुरुतिर सरकारले नियममा हेरफेर गर्दै पढाइपछि ६ महिनासम्म बस्न दिने व्यवस्था गरेको थियो तर प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका जाविदले पूर्वविश्वविद्यालयमन्त्री जो जोन्सनको दुई वर्ष बढाइनुपर्ने मागसहित संशोधन प्रस्तावको समर्थन गरेका छन् ।


बेलायती अखबार फाइनान्सियल टाइम्समा समेत लेख लेख्दै मन्त्री जाविदले बेलायतमा पढाइ सकेका 'क्षमतावान् विद्यार्थीलाई घर फर्काइनु उपयुक्त नहुने' धारणा राखेका छन् । 'मैले पहिल्यै भनिसकेको छु कि विद्यार्थीलाई नियन्त्रण गर्ने मेरो लक्ष्य हुनेछैन । यो बेलायतको हितमा छ,' उनले लेखेका छन् ।


हायर एजुकेसन पोलिसी इन्स्िटच्युटको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती अर्थतन्त्रमा वाषिर्क २० बिलियन पाउन्डको योगदान पुर्‍याउने गरेका छन् । बेलायतले सन् २००९ मार्चमा 'पोइन्ट बेस्ड सिस्टम' ल्याएपछि नेपालसहित अन्य मुलुकका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी बेलायत ओेइरिएका थिए । नियमको व्यापक दुरुपयोग, नक्कली भाषा सर्टिफिकेट काण्ड र आप्रवासी संख्या अप्रत्याशित रूपमा बढेपछि बेलायत कडा नियम ल्याउन बाध्य भएको अध्यागमन कानुनविद् सोलिसिटर राजु थापा बताउँछन् ।


यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा बेलायती राजदरबारमा सोमबार आयोजित रात्रिभोज -स्टेट ब्यांक्युट) का बेला गृहमन्त्री जाविदलाई निम्ता नगरिएकामा विरोध भएको छ ।

मुस्लिम काउन्सिल अफ बि्रटेनले प्रधानमन्त्री मेलाई एक पत्र लेख्दै जाविदलाई किन निम्ता गरिएन भन्दै मेसँग जवाफ मागेको छ । बि्रटेनको एउटा ठूलो इस्लामिक संगठनले 'मुस्लिम भएकै कारण जाविदलाई नबोलाइएको हो कि' भन्दै बेलायत न्याय र समानताको सिद्धान्तबाट चुक्दै गएको चिन्ता व्यक्त गरेको छ । ट्रम्पलाई दिइएको रात्रिभोजमा नबोलाइने जाविद वरिष्ठ मन्त्री हुन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?