३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भेनेजुएला–कोलम्बिया सीमा खुल्यो

एजेन्सी

काराकस — भेनेजुएलामा पछिल्लो समय जारी संकटका कारण बन्द गरिएको कोलम्बियासँगको सीमा ४ महिनापछि आइतबार खुला गरिएको छ । सीमा खुला गरिएसँगै दसौं हजार भेनेजुएलीले आवतजावत गरेका छन् । 

भेनेजुएला–कोलम्बिया सीमा खुल्यो

भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडोले गत फब्रुअरीमा अमेरिकी समर्थनको मानवीय सहायता देशमा भित्र्याउने तयारीपछि राष्ट्रपति निकोलस मडुरोले सीमा बन्द गरेका थिए ।


भेनेजुयलामा जारी शक्ति संघर्षका कारण देशमा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुद्रास्फीति निकै बढेको छ भने औषधिको समेत अभाव छ ।


राष्ट्रसंघीय निकायका अनुसार सन् २०१५ यता करिब ४० लाख मानिसले भेनेजुएला छोडिसकेका छन् । कोलम्बियाको विदेश मन्त्रालयका अनुसार आइतबार ३० हजार भेनेजुएली सीमावर्ती सहरमा आइपुगेका छन् । सीमा बन्द भएसँगै आधारभूत आवश्यकताका लागि कोलम्बियामाथि भर पर्ने सीमा क्षेत्र सहरका स्थानीय निकै समस्यामा परेका थिए । सीमा बन्द गरिनुअघि सीमाक्षेत्रको सिमोन बोलिभर अन्तर्राष्ट्रिय पुल प्रत्येक दिन करिब ३० हजारले पार गर्ने गर्थे ।


विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष गुआइडोले मडुरो चुनावमा धाँधली गरी राष्ट्रपतिमा निर्वाचित भएको भन्दै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको हो ।


अमेरिकासहित करिब ५५ देशले गुआइडोलाई समर्थन जनाएका छन् । जसका कारण मडुरो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसअघि सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा समेत उत्रेका थिए । सेनाको समर्थन कायम राख्न सफल मडुरोलाई चीन तथा रूसलगायत राष्ट्रले सहयोग गरिरहेका छन् ।



प्रकाशित : जेष्ठ २७, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?