कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दस नेता प्रतिस्पर्धामा

बेलायती प्रधानमन्त्री चयन प्रक्रिया
एजेन्सी

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले गतसाता राजीनामा दिएसँगै सुरु सत्तारूढ दलको नेतृत्वका लागि १० नेता प्रतिस्पर्धामा उत्रिएका छन्  । प्रतिस्पर्धाको अन्तिम सूचीमा रहेकामा जेरेमी हन्ट, डोमिनिक राब, म्याट हानकक र माइकल गोभ छन्  ।

दस नेता प्रतिस्पर्धामा

अन्य प्रतिस्पर्धीमा मार्क हार्पर, साजिद जाभिद, बोरिस जोन्सन, एन्ड्रिया लिडसम, इस्थर म्याकभी, रोरी स्टेवार्ट छन् । प्रतिस्पर्धीमध्ये अगाडी देखिएका जोन्सनले आगामी अक्टोबर ३१ भित्र बेलायतलाई युरोपेली संघबाट कुनैपनि हालतमा अलग गर्ने प्रतिवद्धता व्यक्र गरेका छन् ।

हालैको बेलायत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनी टोरी नेताका लागि उत्तम विकल्प भएको भन्दै प्रशंसा गरेका थिए । जोन्सन बेलायती पूर्व विदेशमन्त्री हुन् । त्यसैगरी आप्रवसी तथा अन्तर्राष्ट्रिय विद्यार्थीको पक्षमा केही लचिलो देखिएका गृहमन्त्री जाभिद पनि बलियो उम्मेदवार ठानिएका छन् ।

प्रधानमन्त्री टेरेजा मेले जुन ७ मा राजीनामा दिएपछि कन्जरभेटिभ दल (टोरी) नेताका लागि दौड सुरु भएको हो । संसद्मा बहुमत भएकाले उक्त दलको नेता नै आगमी प्रधानमन्त्री हुने निश्चित छ । कन्जरभेटिभ दलले जुलाई महिनाको अन्त्यसम्म दलको नेता चयन भइसक्ने जनाइसकेको छ । पार्टीको १९२२ कमिटीले दलको नेतृत्वका लागि इच्छुक नेताले मंगलबारसम्म नाम दर्ताका लागि समय दिएको थियो ।

प्रतिस्पर्धामा रहेका नेतामध्ये पार्टीका ३ सय १३ मध्ये बहुमत सांसदको समर्थन जुटाउने नेता अन्तिम प्रतिस्पर्धामा चुनिन्छन् । तीमध्ये एकलाई कन्जरभेटिभका सदस्यले मतदानमार्फत दलको नेता चयन गर्ने प्रावधान छ । कन्जरभेटिभ दलका देशभर १ लाख २४ हजार सदस्य छन् ।

दलद्वारा सार्वजनिक कार्यक्रमअनुसार जुन १३ गते प्रथम चरणको मतदान हुने छ । त्यसैगरी, १८ देखि २० जुनभित्र अन्तिम दुई प्रतिस्पर्धीको नाम सार्वजनिक गरिने छ । त्यसैगरी जुन २२ देखि पार्टीमा मतदान सुरु हुने र जुलाई २२ मा टोरी नेताको घोषणा गरिने जनाइएको छ ।

प्रधानमन्त्री मेले आफ्नै मन्त्रिपरिषदका सदस्य तथा दलका सांसदको विरोधपछि जुन ७ मा राजीनामा दिएकी हुन् । त्यसयता उनी बेलायतको कामचलाउन प्रधानमन्त्री छन् । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे मेले गतवर्ष पेस गरेको सम्झौता बेलायती संसदले ३ पटक अस्वीकार गरेपछि उनी पद छाड्न बाध्य भएकी हुन् । बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा बहुमत आएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?