जुलियन असाञ्ज : ह्याकर वा सत्यको अभियानकर्ता

नारायण खड्का

अष्ट्रेलिया — सात बर्षसम्म लण्डनको इक्वेडर दूतावासमा राजनीतिक शरण लिएपछि प्रहरीद्वारा तान्दै निकालिएका अष्ट्रेलियाली नागरिक जुलियन असाञ्जले करिब १ दशकअघिदेखि ‘वेब’ को दुनियाँमा तहल्का मच्चाएका थिए ।

जुलियन असाञ्ज : ह्याकर वा सत्यको अभियानकर्ता

अहिलेपनि उनलाई समर्थन गर्नेहरु सत्य सूचनालाई सर्वसाधारण समक्ष पुर्‍याउने अभियानकर्ताका रुपमा लिन्छन् भने उनको कार्यलाई गलत भन्नेहरु त्यसको विपरित ह्याकरको संज्ञा दिन्छन् ।


अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको टाउन्सभिलमा ४७ वर्षअघि जन्मिएका असाञ्ज करिब २५ वर्षअघि नै कम्प्युटर सम्बन्धी आफ्नो ज्ञानलाई प्रयोग गर्दै दर्जनौं ह्याकिङ्गका क्रियाकलापमा संलग्न भएपछि पक्राउ परेका थिए । उनलाई प्रहरीले जरिवाना तिराएर मुक्त गरेको थियो । त्यसपछि उनी त्यस प्रकारका ह्याकिङ्गमा तत्काल सहभागी भएका थिएनन् ।


उनी गणितिय विज्ञानमा पारंगत मानिन्छन् । त्यसैले पनि उनले सुलेट ड्रिफ्स नामकी महिला विज्ञसँग ३ वर्षसम्म अनुसन्धान गर्ने अवसर पाएका थिए । उनी मेलबर्नमा सरेपछि त्यहाँको विज्ञ समाजमा गणितको विषयमा पारंगत व्यक्तिका रुपमा चिनिन्थे ।


असाञ्जलाई चिन्ने र उनीसँग काम गरेकाहरु उनलाई अत्यन्तै मेहेनती, चलाख र कम्प्युटर कोडहरुलाई सहजैसँग छुट्टयाउन सक्ने व्यक्तिका रुपमा चित्रित गर्छन् । उनीसँगै पढेका उनका अष्ट्रेलियाका साथीहरुले समेत उनलाई नराम्रो व्यक्तिका रुपमा चित्रित गर्दैनन् । तर सन २००६ मा उनले स्थापना गरेको ‘विकिलिक्स’ मार्फत भने संसारमा नै तहल्का ल्याउन सफल भए ।


उनले सन २००८ देखि आफूले स्थापना गरेको ‘विकिलिक्स’ मार्फत लाखौं अति गोप्य सूचनाहरुलाई सार्वजनिक गर्दै आएका थिए । उनले पटक पटक गरेर विश्वका ठूला तथा साना शक्ति राष्ट्रहरुको अत्यन्तै गोप्य सूचनाहरुलाई सर्वसाधारणसामु ल्याइदिएर तरंग सृजना गरिदिए ।


असाञ्ज पत्रकार हुन् वा होइनन् भन्ने विवाद समेत चल्दै आएको छ । केहीले उनलाई सर्वसाधारणको चासोको सूचना तथा जानकारीहरु सार्वजनिक रुपमा अघि ल्याएको भन्दै पत्रकारको रुपमा चित्रित गर्छन् भने कोही असाञ्जले ‘विकिलिक्स’ मार्फत दिने गरेको कार्यहरु पत्रकारिताको क्षेत्र भित्र नपर्ने समेत व्याख्या गर्छन् ।


असाञ्जले आफू जन्मिएको देशमात्र नभएर सन २००९ मा युकेको प्रतिष्ठित एमनेष्टी इन्टरनेसनल मिडिया अर्वाड समेत जितेका छन् । उनलाई सिड्नी पिस फाउण्डेसनले ‘गोल्ड मेडल फर पिस’ दिएर सम्मान गरेको छ । यस्तै उनी अष्ट्रेलियन जर्नलिष्ट युनियनको मानार्थ सदस्य हुन् । त्यति मात्र नभएर उनले सन २००८ देखि नै विश्वभरिबाट विभिन्न अवार्ड तथा सम्मानहरु पाइसकेका छन् ।


असाञ्ज अहिले बेलायतमा ५० हप्ताको जेल सजाय भोगिरहेका छन् । जहाँ उनलाई जमानतको प्रावधान तोडेको आरोप लगाइएको छ । असाञ्जलाई करिब १ दशकअघि स्विडेनमा दुई महिलालाई बलात्कार गरेको आरोप समेत छ भने अमेरिकाले उनीमाथि जासुसी सम्बन्धी कानुन तोडेको आरोपमा विभिन्न १७ वटा मुद्दा दायर गरिएको बताइएको छ ।


लण्डनमा रहेका उनलाई अमेरिका सुपुरदर्गी गर्नका लागि प्रक्रिया समेत शुरु भइसकेको जनाइएको छ । जसमा बेलायतका गृहसचिवले हस्ताक्षर समेत गरिसकेको समाचारहरुमा जनाइएको छ । यता उनका वकिलहरु भने उनलाई अमेरिका सुपुरदर्गी गर्न नहुने तर्क गरिरहेका छन् । यसको अन्तिम निर्णय भने अदालतले दिनेछ ।


असाञ्जले जब कसैले कल्पनासम्म नगरेको अत्यन्तै गोप्य सूचनाहरुलाई कम्प्युटरको माध्यमबाट सार्वजनिक गरे त्यसलाई त्यतिबेलै विभिन्न देशका सरकारी तवरबाट आलोचना गरिएको थियो । अन्य देशको गोपनियता सम्बन्धी कानुनलाई तोडेको आरोप समेत उनमाथि लगाइएको छ । यसै कारण समेत शुक्रबारदेखि लण्डनको अदालतमा उनलाई अमेरिका सुपुरदर्गी गर्ने वा नगर्ने भन्ने विषयमा बहस शुरु हुनेछ ।


असाञ्ज आफ्नो देशको नागरिक भएका कारण उनलाई अन्य नागरिक सरह सरकारी तवरबाट उपलब्ध हुने सबै सुविधाहरु दिइने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । एक नागरिकको हैसियतमा उनलाई कन्सुलर सहयोग पुर्‍याइरहेको भएपनि कुनै विशेष सहयोग भने नहुने उनको भनाई छ ।


असाञ्ज आफैंले पनि अमेरिकामा सुपुरदर्गी नगर्न यस पहिल्यैदेखि आग्रह गर्दै आएका थिए भने उनका वकिलहरुले समेत अमेरिका सुपुरदर्गी गर्न नहुने बताइरहेका छन् । कम्प्युटरको क्षेत्रमा भएको आफ्नो ज्ञानलाई सही वा गलत जुन किसिमले भएपनि प्रयोग गरेर सूचनाहरु सर्वसाधारणसमक्ष ल्याएका असाञ्जको भविश्य अब बेलायतको वेष्टमिनिष्टर अदालतको निर्णयमा भर पर्नेछ । किनकी उनलाई अमेरिका सुपुरदर्गी गरिए र उनी दोषी सावित भए उनलाई १ सय ७५ वर्षसम्मको जेल सजाय हुनसक्ने सञ्चारमाध्यमहरुले बताएका छन् ।


–एजेन्सीहरुको सहयोगमा


प्रकाशित : जेष्ठ ३१, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?