कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तेल ट्यांकर आक्रमणमा इरानको हात : अमेरिका

एजेन्सी

वासिङटन — अमेरिकी सेनाले एक भिडियो सार्वजनिक गर्दै ओमानको खाडीमा तेल ट्यांकरमाथिको आक्रमणमा इरानी विशेष फौजको हात रहेको दाबी गरेको छ । सेनाद्वारा सार्वजनिक भिडियोमा इरानी फौजले तेल ट्यांकरको छेउबाट विस्फोटन नभएको धराप निकालेको दाबी गरिएको छ । 

यसअघि ओमानको खाडीमा तेल ट्यांकरहरूमाथि भएका आक्रमणमा इरान संलग्न भएको अमेरिकी आरोप इरानले अस्वीकार गरिसकेको छ । अमेरिकी विदेशमन्त्रीले गोप्य सूचना तथा आक्रमणको प्रकृतिका आधारमा विस्फोटमा इरानको हात रहेको दाबी गरेका थिए ।


अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी आंकलन ‘गोप्य सूचना, आक्रमणमा प्रयोग गरिएका हतियार र अन्य कारणमा आधारित’ भएको दाबी गरे । यद्यपि उनले त्यसको प्रमाण आफूसँग भए/नभएको केही उल्लेख गरेनन् ।


ओमानको खाडी तेल ट्यांकरहरूको आवतजावत हुने प्रमुख रणनीतिक जलमार्ग हो । उक्त क्षेत्रमा दुईटा तेल ट्यांकरमाथि गरिएको आक्रमणमा अमेरिकाले इरान जिम्मेवार भएको बताउँदै आएको छ ।


इरानी अधिकारीले भने आक्रमणसँग ‘इरानको कुनै सम्बन्ध नभएको’ बताएका छन् । जापानी स्वामित्वको कोकुका करेजस र नर्वेली स्वामित्वको फ्रन्ट अल्टेअरमा विहिबार ट्यांकरमाथि आक्रमण भएलगत्तै चालकदलका सदस्यहरूको उद्धार गरिएको थियो ।


अमेरिका र इरान दुवैले चालकदलका सदस्यलाई आफूहरूले उद्धार गरेको दाबी गरेका छन् । अमेरिकाले खाडी क्षेत्रको युद्धमा आफू नफस्ने बताउने गरेको छ ।


इरानले आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै अमेरिकाले उक्त मुद्दालाई उछालिरहेको बताउँछ । राष्ट्रसंघस्थित इरानी नियोगले शुक्रबार एक वक्तव्य जारी गर्दै यस्तो बताएको हो । ‘इरान विहीबार तेल ट्यांकरमा गरिएको घटनाबारेका आधारहीन अमेरिकी दाबी अस्वीकार गर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।


मुख्य मार्गमा तेल ट्यांकरमाथि गरिएको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ४ प्रतिशतले वृद्धि भइसकेको छ । उक्त क्षेत्रमा गतमहिना पनि ४ वटा तेल ट्यांकरमाथि आक्रमण गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?