भेनेजुएलाबाट पेरू पस्नेको लाम

एजेन्सी

काराकस — भेनेजुएलामा आप्रवासी नियम कडा पार्ने निर्णयसँगै हजारौं मानिस पेरूतर्फ लागेका छन् । पेरू जानका लागि पासपोर्ट र भिसा आवश्यक पर्ने नियम कार्यान्वयन गर्ने निर्णयसँगै हजारौं भेनेजुएलीहरूले देश छाडेका हुन् । 

भेनेजुएलामा आप्रवासी नियम परिवर्तनपछि इक्वेडर हुँदै पेरू हिँडेका सर्वसाधारण । तस्बिर : रोयर्टस

भेनेजुएलामा जारी राजनीतिक संकट गहिरिएसँगै सन् २०१५ यता करिब ४० लाख मानिसले देश छाडिसेका छन् । बीबीसीका अनुसार तीमध्ये अधिकांश पेरू र कोलम्बिया पुगेका हुन् ।

कोलम्बियासँग ४ महिनादेखि बन्द सीमा गतसाता खुला गरिएसँगै दसौं हजार भेनेजुएलीले देश छाडेका थिए । भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडोले गत फेब्रुअरीमा अमेरिकी समर्थनको मानवीय सहायता देशमा भित्र्याउने तयारीपछि राष्ट्रपति निकोलस मडुरोले कोलम्बियाको सीमा बन्द गरेका थिए ।

अधिकारीका अनुसार बिहीबार पेरू हिँडेका करिब ६ हजार भेनेजुएलीले छिमेकी देश इक्वेडर पार गरिसकेका छन् । उक्त संख्या विगतको तुलनामा ३ गुना हो । भेनेजुएलामा जारी शक्ति संघर्षका कारण देशमा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएपछि मानिस अन्यत्र जाने क्रम बढेको हो । भेनेजुएलामा मुद्रास्फीति निकै बढेको छ भने औषधिको समेत अभाव छ ।

विपक्षी नेता तथा राष्ट्रियसभाका अध्यक्ष गुआइडोले मडुरो चुनावमा धाँधली गरी राष्ट्रपतिमा निर्वाचित भएको भन्दै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको हो । अमेरिकासहित करिब ५५ देशले गुआइडोलाई समर्थन जनाएका छन् । सेनाको समर्थन कायम राख्न सफल मडुरोलाई चीन तथा रूसलगायत राष्ट्रले सहयोग गरिरहेका छन् ।

प्रकाशित : असार १, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृति खोज्न खोकना

कान्तिपुर संवाददाता

ललितपुर — आँगनभरि बिस्कुन । घाम ताप्दै गरेका स्थानीय । झ्याल र कौशीभरि सुकेका खुर्सानीका माला । भूकम्पअघि खोकनाको दृश्यचित्र यस्तो बन्थ्यो । चित्रकार दीपेन्द्र बनेपाली पटकपटक ललितपुरको यो सांस्कृतिक थलो पुग्थे, क्यानभास रंग्याउँथे ।

हाइकिङ गर्दै ललितपुरस्थित खोकना पुगेका चित्रकार, कवि र रंगकर्मी शनिबार शिखाली चौरमा ।तस्बिर : फूलमान वल/कान्तिपुर

उनको मस्तिष्कमा अझै यो दृश्यको गहिरो प्रभाव छ । शनिबार बिहानै एक हुल चित्रकार र कविसँगै दीपेन्द्र फेरि खोकना पुगे । दृश्यचित्र कोरे । क्यानभास अर्कै बन्यो । कंक्रिटका अग्ला घर, साँघुरा गल्ली अनि आधुनिकपहिरनमा हिँड्नेको दृश्य । ‘भूकम्पले खोकना बदलिदियो,’ उनी चुकचुकाए ।

उनले यसो भन्नुअघि बदलिँदो खोकनाप्रति चिन्ता जनाउँदै थिए वडासदस्य श्याम महर्जन । अक्षर र क्यानभासमा स्थानीय संस्कृति उतार्न पुगेका स्रष्टाहरूलाई स्वागत गर्ने क्रममा महर्जनले भने, ‘खोकनालाई कहिले प्रकृतिले सतायो, कहिले सरकारले ।’ सरकारले विकास परियोजना बनाउँदा पुरानो सम्पदा झल्किने बस्तीलाई ख्यालै नगरी अगाडि बढेकोप्रति उनको आपत्ति थियो ।

मल्ल राजा नरेन्द्र देवका पालामा भारतको असम चेरापुन्जीबाट मत्स्येन्द्रनाथ ल्याउँदा वाग्मतीछेउको प्राचीन बस्ती कुदेशबाट माथि सारिएको यो ऐतिहासिक बस्ती अहिले सरकारले अघि सारेको फास्ट ट्र्याक, बाहिरी चक्रपथ र वाग्मती करिडोरले चाल्नो जस्तो छिद्रैछिद्रा बनाउन खोजेको उनले गुनासो गरे ।

तेल पेल्ने पुरानो कोल, मल्लकालीन गुम्बा हुँदै इन्द्रायणी मन्दिर पुग्दा चोकैमा भेटिए स्थानीय बेखनर डंगोल । इन्द्रायणी मन्दिरको ऐतिहासिकता बताउँदै गर्दा उनी भावुक भए । उनले तल फाँटतिर देखाए, जहाँ १६ सय वर्ष अघिको पुरानो बस्तीको भग्नावशेष छरिएका थिए । त्यहीबाट अघि बढ्दै छ फास्ट ट्र्याक ।

यसपछि स्थानीय बुद्धिरत्न डंगोलले चित्रकार र कविलाई भग्नावशेषतर्फ डोहोर्‍याए । यहाँ कुनै बेला कुदेश नामक नेवारी बस्ती थियो । समथर भूभागमा हालै उत्खनन् गरिएको पुराना इँटा टिपे कवि स्नेह सायमीले । अलिक पुराना इँटाको इनार भेटियो । स्थानीय कला, संस्कृति र सम्पदा प्रवर्द्धनको ध्येयले जेसुम यात्राको आठौं शृंखला लिएर पुगेका स्रष्टामाझ उनले लेखे–
एकातिर पन्ध्र सय पुरानो इतिहास
अर्कोतिर छ वर्ष पुरानो विकास
यही इतिहास र विकासको
कोलमा पेलिएको
एउटा भुगोल हो खोकना

मुलुकमै पहिलो पटक बत्ती बलेको खोकनामा विस्तारै अँध्यारोले छोप्दै लगेको विम्ब र प्रतीकमा कविता लेखे अनिता लामा, विश्वासदीप तिगेला, गुणेश बूढा, धर्मानन्द भट्ट, रमेश कँडेल, मोहन संग्राम, बिगेन्द्र वाइबालगायतले । प्रायः सबैले खोकनाको सांस्कृतिक सौन्दर्यप्रति चिन्ता गर्दै कविता लेखे ।

रुद्रायणी जात्रा हुने सिखालीचौरमा पुगेर कवि गोष्ठी गरे । चित्रकार बनेपालीसँगै चन्द्रा श्रेष्ठ, तथागत गौतम, राकेश चन्द्र श्रेष्ठ, दिवेश प्रधान, कला लिम्बू, राजेन्द्र याकामी, केदार माक, झलक केसी, विकास विसंखे, सर्जन ढकाल, कान्छाकाजी भासिमा, सौरभ कोइराला, अनिल खड्का, पुण्यराम माताङ र लक्ष्मीप्रसाद खोतेजाले चौरमा घुम्ती प्रदर्शनी गरे ।

केहीले खोकनाको रुद्रायणी मन्दिरको पछिल्लो अवस्था उतारे, केहीले खेतका फाँट, गरा र कुदेशको भग्नावशेष छोपिएको झाडी र पुराना घरलाई कम्पोजिसनभित्र पारे । कृष्णभक्त डंगोल, नरेन्द्रराज डंगोलदेखि वडासदस्य ज्ञानभक्त डंगोल र सञ्चारकर्मी स्वयम्भू डंगोलसम्मले खोकनाको स्थानीय संस्कृति प्रकाश पारे ।

वडाअध्यक्ष रवीन्द्र महर्जनका अनुसार भूकम्पबाट खोकनाका झन्डै ६ सय घर भत्किए । अहिले पुरानै सम्पदा झल्किने गरी घरका झ्यालढोका र संरचना बनाउन वडाले प्रोत्साहन गरिरहेको छ । सम्पदा खोज्दै गरिएका जेसुम यात्रा शृंखलाअन्तर्गतका चित्रको छिट्टै एकमुष्ट प्रदर्शनी गरिने जेसुम संयोजक अनिता लामाले बताइन् ।

प्रकाशित : असार १, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्