सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शन 

पछि हट्यो हङकङ सरकार
एजेन्सी

हङकङ — सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा प्रदर्शन चर्केपछि हङकङ सरकार पछि हटेको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शनिबार उक्त विधेयक स्थगित गरेको घोषणा गरेकी हुन् । शनिबारको पत्रकार सम्मेलनमा उनले ‘विधेयकका कारण समाजमा विभाजन आएको भन्दै तत्कालका लागि यसलाई रोकेर पुर्नविचार गर्नु उचित’ भएको बताइन् । 

हङकङकी प्रमुख कार्यकारी क्यारी लाम शनिबार आयोजित पत्रकार सम्मेलनमा सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयक स्थगनको घोषणा गर्दै ।तस्बिर : एपी

‘विधेयकका लागि संवाद र व्याख्यामा केही कमजोरी भएको मैले स्वीकार गर्नुपर्छ,’ पत्रकार सम्मेलनका क्रममा उनले भनिन्, ‘हङकङको मुख्य रूपमा शान्ति र सुव्यवस्था कायम गर्न क्रियाशिल छ ।’ उनले चालू संसद् अधिवेशन अन्त्य हुनुअगाडि
विधेयक पारितका लागि कुनै हतारनभएको बताइन् ।

यसअघि लामले संवाददाताहरूसँग कुराकानी गर्दै ‘देशको आवश्यकताअनुसार नै कानुन ल्याइएको’ दाबी गर्दै कुनै पनि हालतमा ‘विधेयक फिर्ता नगरिने’ बताएकी थिइन् । उनले हङकङमा मानवाधिकारमाथि हस्तक्षेप हुने आशंकका कसैले पनि गर्न नपर्ने बताइन् ।

ताइवानमा एक पुरुषले आफ्नाी प्रेमिकालाई हत्या गरी हङकङ फर्केपछि सुपुर्दगी विधेयक प्रस्ताव गरिएको थियो । हङकङ अपराधीका लागि सुरक्षित स्थल हुन थालेको भन्दै सरकारले उक्त विधेयक ल्याइएको जनाएको छ ।

आलोचकहरूले चीनको स्वतन्त्रताविरोधी कानुन र न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी गर्दै आएका छन् । प्रस्तावित कानुनमा हङकङमा अपराध तथा बलात्कारका आरोपीलाई चीन, ताइवान र मकाउका अधिकारीले सुपुर्दगीका लागि आग्रह गर्न सक्ने व्यवस्था गरिएको थियो । तर सुपुर्दगी गर्ने/नगर्ने घटनाको प्रकृतिका आधारमा निर्णय लिइने सरकारले दाबी गरेको थियो ।

गत बुधबार करिब १० लाख मानिस विधेयकको विरोधमा उत्रेपछि लामले एक सम्बोधन गर्दै हङकङमा ‘संगठित दंगा’ गरिएको बताएकी थिइन् । सम्बोधनका क्रममा उलने ‘हङकङ बिकेको’ भन्ने आरोप अस्वीकार गरेकी थिइन् । त्यसयता हजारौं मानिसले विधेयकविरुद्ध प्रदर्शन गर्दैआएका छन् । आइतबारका लागि थप प्रदर्शन गर्ने योजनापछि सरकार पछि हट्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विरोध प्रदर्शनमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधरको सहभागिता थियो । प्रहरीले प्रदर्शनकारीमाथि अनावश्यक दबाब प्रयोग गरेको अधिकार समूह ‘ह्यूमन राइट्स वाच’ ले जनाएको थियो ।विरोध चर्कंदै गएपछि यसअघि चीनले ‘विदेशी शक्तिको हात रहेको’ दाबी गरेका थियो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले विदेशी शक्तिले चीनमाथि प्रहार गर्न हङकङमा विध्वंश निम्त्याउन खोजेको जनाउँदै आएको छ । बेलायतबाट स्वतन्त्र भएयता हङकङ ‘दुई देश एक नीति’ अन्तर्गत चिनियाँ नियन्त्रणमा छ ।

प्रकाशित : असार १, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री चयनमा अल्झियो बेलायती राजनीति

नवीन पोखरेल

लन्डन — केही महिनायता ब्रेक्जिट केन्द्रित बेलायतको राजनीति अब नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रियामा छ । प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि सत्तारूढ कन्जरभेटिभ नेताबाट राजीनामा दिएसँगै संयुक्तअधिराज्य मेको उत्तराधिकारी छान्न व्यस्त भएको हो । 

पार्टीका केही ‘हेभीवेट’ अहिले कन्जरभेटिभ नेताको दौडमा कस्सिएका छन् । संसद्मा बहुमत प्राप्त कन्जरभेटिभ पार्टीको नेता नै अब बेलायतको प्रधानमन्त्री हुने छन् ।

पूर्व विदेशमन्त्री बोरिस जोन्सन नेताको दौडमा ११४ मत ल्याएर अग्रपंक्तिमा छन् । यतिखेर बोरिस टोरी सांसदहरूलाई विश्वस्त पार्न सक्रिय छन् । बोरिसले पछिल्लो एउटा अन्तरवार्तामा नयाँ ब्रेक्जिट डिलका लागि आफूले ईयूलाई दबाब दिन सक्ने दाबी गरे । यसलाई कतिपयले उनको मत आकर्षित गर्ने नाराका रूपमा पनि लिएका छन् ।

बीबीसीसँग कुरा गर्दै ब्रिटेनको सत्तारूढ कन्जरभेटिभ पार्टीको नेता पदका एक प्रमुख दाबेदार बोरिस जोन्सनले भने, ‘ब्रिटेन ईयूबाट बाहिरिनुपर्छ भन्ने ब्रेक्जिट पार्टीका २९ जना सदस्यहरू युरोपेली संसद्मा चुनिएका छन् यो कुरा ईयू नेतृत्वले बुझ्नुपर्छ ।’ उनले यही मंगलबार आफ्नो दलको नेतृत्वका दावेदारहरूबीच हुने टेलिभिजन बहसमा भाग लिन आफू तयार रहेको पनि बताएका छन् । यस अघि उनले त्यस्तो बहसमा भाग नलिने संकेत गरेका थिए ।

बोरिसले गत १२ जुनमा कन्जरभेटिभको आफ्नै बेवसाइटमा १५१२ सदस्यहरूबीच भएको सर्वेक्षणमा ५३ दशमलब ६ प्रतिशत मत ल्याएका थिए । सबैभन्दा बढी सांसदहरूको मत प्राप्त गर्ने दुई जना उम्मेदवारमध्येबाट एक जना छान्न देशभरिका कन्जरभेटिभ सदस्यहरूले मतदान गर्ने छन् । जुलाई महिनाको अन्त्य वा अगस्टसम्ममा ब्रिटेनमानयाँ प्रधानमन्त्री चयन भइसक्ने अपेक्षा गरिएको छ ।

बोरिस आवप्रावासीप्रति अलिक बढी उदार भएकाले प्रायः नेपाली उनी प्रधानमन्त्री भएको हेर्न उत्सुक छन् ।विदेश मन्त्री जेरेमी हन्ट ४३ मतसहित बोरिसको निकट प्रतिस्पर्धी छन् भने माइकल गोभले ३७ मत ल्याए । दौडमा उत्रिएका स्वास्थ्यमन्त्री म्याट हेनकक, मार्क हार्पर एवं दुई महिला उम्मेदवार एन्ड्री लिड्सम र इस्थर म्याकभे कन्जरभेटिभ नेता बन्ने प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् ।

दलका सांसदहरूबीचको पहिलो ब्यालेटमा २० मत ल्याई छैटौं स्थानमा रहेका सबैभन्दा कान्छा ४० वर्षीय उम्मेदवार हेनककले आफू भावी करिअरका लागि केन्द्रित हुने बताउँदै प्रतिस्पर्धा त्यागेका हुन् । लिड्सम, हार्पर र म्याकभे क्रमशः ११, १० र ९ मत मात्र ल्याएर पहिलो चरणबाटै बाहिरिएका हुन् ।

अर्को चरणको मतदानमा जान योग्य डोमिनिक राब (२७ मत) र साजिद जाभिद (२३ मत) लाई प्रतिस्पर्धा छाड्न दबाब बढेको बताइएको छ । सत्तारूढ टोरी सांसदबीच आगामी सातासम्म हुने चार चरणको मतदानमा अत्यधिक मत ल्याउने दुई नेताको अन्तिममा पार्टी सदस्यहरूबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष मार्चसम्मको तथ्यांकअनुसार, कन्जरभेटिभका १ लाख २४ हजार सदस्य छन् ।

प्रकाशित : असार १, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्