२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चिकित्सकसँग झुक्यो बंगाल सरकार

हडतालमा उत्रेका जुनियर डाक्टरका माग पूरा गर्न तयार

(नयाँदिल्ली) — मुख्यमन्त्री ममता बनर्जीले सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विगत एक सातादेखि आन्दोलनरत कोलकाताका जुनियर डाक्टर वार्तामा बस्न तयार भएका छन् तर त्यसका लागि उनीहरूले विभिन्न सर्त अघि सारेका छन् ।

उनीहरूले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसामु वार्ता खुला स्थानमा हुनुपर्ने र चिकित्सा क्षेत्रसँग सम्बन्धित एसोसिएसन तथा सञ्चार माध्यमलाई पनि प्रवेश खुला गर्नुपर्नेलगायत सर्त राखेका छन् । आन्दोलनरत चिकित्सक वार्तामा बस्न तयार भएसँगै अघिल्लो सोमबारदेखि जारी जुनियर डाक्टरहरूको हडताल पनि अन्त्य हुने सम्भावना भएको छ तर चिकित्सकहरूले हडताल कहिलेदेखि अन्त्य हुन्छ भन्ने स्प्रष्ट पारेका छैनन् ।


अघिल्लो सोमबार कोलकाताको निलरतन सिरकार मेडिकल कलेज (एनआरएस) मा उपचाररत एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले त्यहाँ कार्यरत दुई जुनियर चिकित्सकमाथि आक्रमण गरेका थिए । घटनापछि पश्चिम बंगालभरका जुनियर डाक्टर काम ठप्प पार्दै आन्दोलनमा उत्रिए ।


यसअघि मुख्यमन्त्री बनर्जीले शनिबारको पत्रकार सम्मेलनमा आन्दोलनकारीका सबै माग सम्बोधन गर्न आफू तयार रहेको भन्दै वार्तामा आउन आग्रह गरेकी थिइन् साथै उनले चिकित्समाथि आक्रमणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको खुलासा गरिन् । शुक्रबार दिनभर नै आफूले आन्दोलनरत डाक्टरसँग वार्ताका लागि पर्खेको समेत उनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका थिए तर उनको आग्रहलाई आन्दोलनरत चिकित्सकले मुख्यमन्त्रीले बोलाएको ठाउँ र बन्द कोठाभित्र वार्ता नगर्ने भन्दै अस्वीकार गरेका थिए । उनीहरूले बनर्जीलाई एनआरएस कलेजमै आउन भनेका थिए ।


वार्ता प्रक्रिया अगाडि बढाउन आइतबार फेरि सरकारका र आन्दोलरनत पक्षका प्रतिनिधिबीच दुई घण्टा बढी छलफल भएको थियो । छलफलपछि आन्दोलनरत चिकित्सक मुख्यमन्त्रीसँग वार्तामा बस्न तयार भएका हुन् ।


चिकित्सकको पेसागत सुरक्षामाथि प्रश्न उठेको भन्दै इन्डियन मेडिल एसोसिएसन (आईएमए) ले समेत समर्थन जनाएको छ साथै आन्दोलनको समर्थन जनाउँदै आईएमले चिकित्सक र स्वास्थ्यकर्मीहरूको सुरक्षा ग्यारेन्टी गर्न केन्द्र सरकारले त्यससम्बन्धी बृहत् कानुन ल्याउनुपर्ने मागसमेत गरेको छ र उक्त माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । त्यसै क्रममा सोमबार बिहानदेखि मंगलबार बिहानसम्म अत्याश्यक सेवाबाहेक सबै किसिमका स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा पनि एसोसिएसनले गरेको छ ।


पश्चिम बंगालमा जारी जुनियर डाक्टरहरूको आन्दोलनमा समर्थन जनाउँदै राजधानी दिल्लीका आधा दर्जन अस्पतालका चिकित्सकहरूले पनि शनिबार इमरजेन्सी र आईसीयूबाहेकका सेवा ठप्प पारेका थिए । दिल्लीका एम्स र सफदरगन्ज अस्पतालका रेजिडेन्ट डाक्टरहरूले त मुख्यमन्त्री बनर्जीलाई जुनियर चिकित्सकहरूको माग सम्बोधन गर्न ४८ घन्टे अल्टिमेटम दिँदै अन्यथा अनिश्चितकालीन हडताल गर्ने चेतावनीसमेत दिएका थिए । उनीहरूले जुनियर चिकित्सहरूमाथि आक्रमणको विरोधस्वरूप शुक्रबार पट्टी र हेलमेट लगाएर बिरामी जाँचेका थिए ।


चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षालाई लिएर बारम्बार प्रश्न उठेपछि केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष बर्धनले त्यस्तो क्रियाकलापमा संलग्नमाथि तत्काल कडा कारबाही गर्न भन्दै सबै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् साथै उनले चिकित्सक र स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्नका लागि भयरहित वातावरण निर्माणका लागि आवश्यक सुरक्षा प्रबन्ध गर्नसमेत भनेका छन् ।


प्रकाशित : असार १, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?