१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुपुर्दगी विधेयकको विरोध : हङकङमा रोकिएन प्रदर्शन 

प्रमुख कार्यकारीको राजीनामा माग 
एजेन्सी

हङकङ — हङकङ सरकारले सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयक स्थगनको घोषणा गरे पनि सर्वसाधारणले विरोध प्रदर्शन जारी राखेका छन् । मुख्य भूमि चीनमा सुपुदर्गी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि गत आइतबारदेखि हङकङमा विरोध प्रदर्शन चर्केको हो । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शनिबार विधेयक स्थगनको घोषणा गरेकी थिइन् । 

सुपुर्दगी विधेयकको विरोध : हङकङमा रोकिएन प्रदर्शन 

एक पत्रकार सम्मेलनमा बोल्दै उनले ‘समाजमा विभाजन आएकाले तत्कालका लागि विधेयकलाई रोकेर पुनर्विचार गर्नु उचित’ भएको बताइन् । विधेयक ल्याउनुपूर्व संवाद र व्याख्यामा कमजोरी भएको स्वीकार गर्दै उनले हङकङ शान्ति र सुव्यवस्था कायम गर्न क्रियाशील रहेको बताएकी थिइन् ।


तर आइतबारको प्रदर्शनमा विधेयक खारेजीको माग गरिएको छ । प्रदर्शनमा सहभागी कतिपयले प्रमुख कार्यकारी लामको राजीनामा माग गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


आइतबार कालो पोसाक लगाएर हातमा सेतो फूल लिएका ठूलो संख्याका प्रदर्शनकारी हङकङको प्रमुख स्थान भिक्टोरिया स्क्वायरमा भेला भएका थिए । प्रदर्शनकारीले आइतबारको विरोधमा कम्तीमा १० लाख मानिसको उपस्थिति रहेको दाबी गरेका छन् । ‘क्यारी लामले हङकङवासीको भावना सम्बोधन गर्न सकिनन्,’ विरोधमा सहभागी ६७ वर्षीय मा ले भने, ‘दस लाख मानिस सडकमा ओर्लंदा पनि लामले केही नभएको जस्तो स्वाङ पारेकी छन् ।’


यसअघि लामले संवाददाताहरूसँग कुराकानी गर्दै ‘देशको आवश्यकतअनुसारै कानुन ल्याइएको’ दाबी गर्दै कुनै पनि हालतमा ‘विधेयक फिर्ता नगरिने’ बताएकी थिइन् । उनले हङकङमा मानव अधिकारमाथि हस्तक्षेप हुने आशंकका कसैले पनि गर्न नपर्ने बताइन् ।


प्रस्तावित कानुनअनुसार हङकङमा अपराध तथा बलात्कारका आरोपीलाई चीन, ताइवान र मकाउले सुपुर्दगीको आग्रह गर्न सक्नेछन् तर सुपुर्दगी गर्ने/नगर्ने विषय घटनाको प्रकृतिमा भर पर्ने सरकारको दाबी छ । आलोचकहरूले चीनको स्वतन्त्रताविरोधी कानुन र न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी गर्दे सुपुर्दगी कानुन खारेजीको माग गरेका हुन् ।


ताइवानमा एक पुरुषले आफ्नी प्रेमिकालाई हत्या गरी हङकङ फर्केपछि सुपुर्दगी विधेयक प्रस्ताव गरिएको थियो । हङकङ अपराधीका लागि सुरक्षित स्थल हुन थालेको भन्दै सरकारले उक्त विधेयक ल्याइएको जनाएको छ ।


गत बुधबार लाखौं मानिस विधेयकको विरोधमा उत्रेपछि लामले हङकङमा ‘संगठित दंगा’ भएको बताएकी थिइन् तर उनको अभिव्यक्तिले मानिसहरू थप रुष्ट भएका जनाइएको छ । बीबीसीका अनुसार बुधबार बृहत् प्रदर्शनको तयारी गरिएको छ ।

व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधरको सहभागिता रहेको प्रदर्शन क्रममा हालसम्म दर्जनौं घाइते भइसकेका छन् । प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै मानव अधिकार समूहहरूले प्रहरीको आलोचना गरेका छन् ।


सन् १८४१ देखि बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ १९९७ मा स्वतन्त्र भएको हो । त्यसयता चीनको ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत सञ्चालित हङकङमा छुट्टै न्यायिक स्वतन्त्रता, संसद् र अर्थव्यवस्था छ । चीनले हङकङलाई विशेष प्रशासकीय क्षेत्र बताउने गर्छ ।

प्रकाशित : असार २, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?