२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अस्ट्रेलियामा इच्छामृत्यु अधिकार

नारायण खड्का

अस्ट्रेलिया — निको नहुने रोग लागेर कष्टकर जीवन निर्वाह गरिरहेकाहरूका लागि अस्ट्रेलियाले पहिलो पटक इच्छामृत्युको अधिकार दिएको छ । भिक्टोरिया राज्यले इच्छामृत्युको कानुन पारित गरेसँगै यो बुधबारदेखि कार्यान्वयन आउने छ । 

भिक्टोरिया राज्यले गतवर्ष विधेयक पारित गरेपछि इच्छामृत्युको अधिकार दिइएको हो । नयाँ कानुनअनुसार ‘निको नहुने रोग लागेकाले इच्छामृत्युको अधिकार पाउन सरकारले तोकेको ६८ वटा विभिन्न प्रावधान पूरा’ गर्नुपर्छ ।


कानुनतः प्रावधान पूरा भएका नागरिकले चिकित्सकसमक्ष आफ्नो योग्यताको जाँच गरिदिन आग्रह गर्न सक्छन् । सरकारले ल्याएको इच्छामृत्युको अधिकार प्रयोग गर्न ‘निको नहुने रोग लागेको र जसले सहन नसक्ने पीडा दिएको हुनुपर्ने’ उल्लेख छ । यसैगरी उक्त रोगबाट ६ महिनाभन्दा कम मात्र बाँच्ने सम्भावना हुनुपर्ने बताइएको छ ।


त्यसैगरी, इच्छामृत्यु वरण गर्न दुई चिकित्सकले बिरामीलाई जाँच अनुसन्धान गरेर प्रक्रियामा सहमति जनाउनुपर्नेछ । डाक्टरले सहमति जनाएर औषधि सिफारिस गरेपछि मात्र फार्मेसीबाट इच्छामृत्युवरण गर्न औषधि खरिद गर्न पाइनेछ । कानुनअनुसार इच्छामृत्यु चाहने व्यक्ति भिक्टोरिया राज्यमा एक वर्षदेखि बसोबास गर्दै आएको तथा १८ वर्षमाथिको हुनुपर्ने छ । यसैगरी आफ्नोबारे निर्णय लिने क्षमता भएको समेत हुनुपर्ने जनाइएको छ ।


यसको कार्यान्वयन पक्ष हेर्न तथा निरीक्षण गर्न विज्ञहरूको समूह गठन गरिनुका साथै प्रत्येक मृत्युलाई स्वतन्त्र समूहले समीक्षा गर्ने उल्लेख छ ।


इच्छामृत्युबारेका कानुनी व्यवस्थाबारे जानकारी दिन सरकारले आयोजना गरेको सेमिनारमा हालसम्म २ हजारभन्दा बढी सहभागी भइसकेका छन् । तर पनि चिकित्सकले बुधबारअघि कसैको पनि आवेदन स्वीकार गर्ने छैनन् । समाचारमाध्यमका अनुसार यहाँका ८९ जना चिकित्सकले यससम्बन्धी तालिम लिइसकेका छन् भने सार्वजनिक स्वास्थ्य संस्थामा एकजना तालिमप्राप्त स्वास्थ्यकर्मी इच्छामृत्यु प्रक्रियाको मूल्यांकनका लागि व्यवस्था गरिएको छ ।


स्थानीय सञ्चारमाध्यका अनुसार इच्छामृत्युको कानुनी प्रक्रियाबाट मृत्यु रोज्न सबै प्रावधान पूरा भइसकेपछि स्वास्थ्यसम्बन्धी सामग्री बिरामीको घरमा पुर्‍याइनेछ र परिवारको उपस्थितिमा यसको प्रक्रियाबारेमा जानकारी दिइनेछ । इच्छामृत्यु चाहने बिरामीलाई औषधि रहेको बन्द बाकसको चाबी दिइनेछ र आफूखुसी औषधि खान सक्ने जनाइएको छ । ‘यो वास्तवमा भिक्टोरियामा मात्र नभई समग्र अस्ट्रेलियाको लागि ऐतिहासिक परिवर्तन हो,’ स्वास्थ्यमन्त्री जेनी मिकाकोसले भनिन् ।

उनले सम्मानजनक मृत्यु पनि सम्मानजनक जीवनको पाटो भएकाले समेत यसलाई वैध बनाइएको बताइन् । अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यमा २ दशकअघि इच्छामृत्युको अधिकार दिइएको भए पनि यसलाई केही समयपछि नै हटाइएको थियो । यहाँका अन्य राज्यहरू न्यु साउथ वेल्स, पश्चिम अस्ट्रेलिया, क्विन्सल्यान्डलगायत राज्यमा समेत इच्छामृत्युको अधिकारलाई वैध बनाउने विषयमा विवाद चल्दै आएको छ ।

प्रकाशित : असार ३, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?