बेलायतमा प्रधानमन्त्री बन्ने होड उत्कर्षमा

नविन पाेखरेल

लन्डन — ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ दलको नेता छान्न भएको चुनावी दौड रोचक बन्दै गएको छ । ३१३ कन्जरभेटिभ सांसदहरुबीचको चुनावी मैदानमा अब ५ जना उम्मेदवार मात्रै बाँकी छन् । दलको नेता नै भावी प्रधानमन्त्री बन्ने भएकाले पनि बेलायती राजनीतिमा यसलाई थप महत्त्वका साथ हेरिएको छ ।

बेलायतमा प्रधानमन्त्री बन्ने होड उत्कर्षमा

दोस्रो चरणमा भूतपूर्व ब्रेक्जिट मन्त्री डोमिनिक राब मंगलबार प्रतिस्पर्धाबाट बाहिरिएपछि अब ५ जना उम्मेदवार मात्रै बाँकी रहेका हुन् । प्रतिस्पर्धामा रहन कम्तीमा ३३ मत प्राप्त गर्नुपर्नेमा जम्मा ३० मत मात्रै पाएपछि राब बाहिरिए । राबले यसअघि आवश्यक परे बेलायत ३१ अक्टोबरमा ईयूबाट बिना सम्झौता बाहिरिनुपर्छ भन्दै आएका थिए ।


पूर्व विदेशमन्त्री बोरिस जोन्सन १२६ मत ल्याएर फेरी पनि पहिलो स्थानमा आएका छन् । बोरिसले पहिलो चरणमा ११४ मत ल्याएका थिए । यसको मतलब उनले थप सांसदहरूको मन जितेका छन् ।


बोरिसका प्रतिद्वन्द्वीहरूमा अब जेरेमी हन्ट, माइकल गोभ, रोरी स्टेवार्ट र गृहमन्त्री साजिद जाविद छन् । हन्ट ४६ मतका साथ फेरि दोस्रो स्थानमा आएका छन् भने गोभ र जाविदले क्रमशः ४१ र ३३ मत ल्याए ।


अन्तर्राष्ट्रिय विकास मन्त्री स्टेवार्टले अघिल्लो भन्दा झन्डै दोब्बर ३७ मत ल्याएका छन् । अब बुधबार र बिहीबारको मतदानपछि छानिने अन्तिम दुई प्रतिस्पर्धीमध्येबाट कन्जरभेटिभ (टोरी) पार्टीका एकलाख ६० हजार सदस्यहरूले पोस्टल भोटमार्फत दलको नेता चुन्नेछन् । २२ जुनमा अन्तिम मतदान हुने र त्यसको महिना दिनभित्र बेलायतले नयाँ प्रधानमन्त्री पाइसक्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री टेरेजा मेले दलको नेताबाट राजीनामा दिएपछि उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रूपमा छिन् ।


टोरी नेता बन्ने दौडमा रहेका पाँच प्रतिस्पर्धीहरू

मंगलबार राति बीबीसी वान लाइभ बहसमा सहभागी भए । टिभी बहसमा उनीहरुबीच ३१ अक्टोबरको समयसीमाभित्र बेलायतले ईयू छाड्ने कि नछाड्ने भन्नेमा घम्साघम्सी पर्‍यो । एउटा प्रश्नको जवाफमा बोरिस जोन्सनले ३१ अक्टोबरमा ईयू छाड्न एकदमै सम्भव भएको बताए ।


गृहमन्त्री साजिद जाविदले उक्त मिति माथि अरू बढी ध्यान दिनुपर्ने बताए भने माइकल गोभ र जेरेमी हन्टले थप समय चाहिन सक्ने बताए । तर, रोरी स्टेवार्टले भने आफ्ना प्रतिस्पर्धीहरूलाई बिना कुनै ठोस योजना ब्रिटेनमाथि विश्वास गरौँ भनेर अगाडी बढिरहेको आरोप लगाएका थिए।


करिब एक घण्टा लामो बहसमा उनीहरू सबैले ब्रेक्जिट टुंगो नलागेसम्म आमनिर्वाचन भने नगर्ने दृढता व्यक्त गरेका थिए ।

प्रकाशित : असार ४, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?