१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जापानमा ६.४ रेक्टर

एएफपी

टोकियो — जापानको उत्तरी भेगमा बुधबार ६.४ रेक्टरको भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका छन् । केही पूर्वाधारमा क्षति पुगेको अधिकारीले बताएका छन् ।

जापानका मौसम विज्ञान विभागले सुरुमा सुनामीको चेतावनी दिए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरू एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाइ घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो ।


उत्तरी निगातामा भूकम्पको केन्द्र रहे पनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो । प्रधानमन्त्री सिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको पराकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकसमक्ष आहृवान गरेका छन् ।


टेलिभिजन र अनलाइनमा निगातासमेतका स्थानमा घरहरू बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्य राखिएका छन् । भूकम्प गएको केही समय विद्युत् आपूर्तिसमेत बन्द गरिएको थियो ।


गत जुनमा ओशाका क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट पाँच जनाको ज्यान जानुका साथै ३ सय ५० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०११ मार्च ११ मा ९ म्याग्निच्युडको भूकम्पबाट सृजित सुनामीले प्रशान्त महासागरीय मुलुकहरूमा हजारौंको ज्यान गएको थियो ।


जापानको निगाता पनि भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त क्षेत्रमा पर्दछ । सन् २००४ मा ६.८ रेक्टरको भूकम्पबाट ६८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : असार ५, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?