२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अमेरिका-इरान शत्रुता किन ?

पर्ख र हेर नीति लिएको विश्व समुदाय भने तेल राजनीतिमा अल्झिएको अर्थतन्त्रको चिन्ताले दुई मुलुकबीचको समस्या चाँडै समाधान होस् भन्ने चाहान्छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — केही महिनायता मध्यपूर्वी एसियामा अमेरिका र इरानबीचको विषयलाई लिएर तनावपूर्ण अवस्था सिर्जना भएको छ । बम वर्षक विमान बोक्ने युद्धपोत र त्यसपछि एक हजार अमेरिकी सेना मध्यपूर्वी क्षेत्रमा पठाउने अमेरिकी निर्णयले यतिबेला दुई मुलुकबीचको सम्बन्धमा दरार आएको छ । गत साता एक अमेरिकी ड्रोनलाई इरानले खसालेपछि विवाद झन् चर्कँदै गएको छ ।

अमेरिका-इरान शत्रुता किन ?

ओमनको खाडीमा तेल बोक्ने दुई जाहाजमाथि इरानले आक्रमण गरेको भनेर अमेरिकाले दाबी गरेको दुईदिनपछि एक जासुसी अमेरिकी ड्रोन इरानले खसालेपछि यी दुई मुलुकबीचको द्वन्द्व झन् चर्किएको हो।


संयुक्त राष्ट्रयसंघका भिटो पावर राष्ट्रहरु(अमेरिका, ब्रिटेन, फ्रान्स, रुस र चीन) सहित जर्मनीसँग इरानले सन् २०१५ मा ‘आणविक सम्झौता’ गरेको थियो । त्यसपछि स्थिर बन्दै गइरहेको इरानसँगको विश्व सम्बन्ध अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै चिसिन थालेको हो । उनले राष्ट्रपतिको सपथ लिए लगत्तै इरानसँगको सम्झौता खारेज गर्ने बताउँदै आएका थिए । ट्रम्पले मे २०१८ मा अन्तत: एकपक्षीय रुपमा आणविक सम्झौता खारेज गरेर नयाँ नाकाबन्दीको घोषणा गरिदिएपछि मध्यपूर्वमा अशान्तिको बादल पुन: मडारिन थालेको हो ।

३० वर्षको अमेरिका-इरानबीचको शत्रुतापूर्ण सम्बन्धलाई पूर्व राष्ट्रपति बराक ओबामाले केही सुधार गर्ने प्रयास गरेका थिए । तर, ती सबै प्रयासहरु ट्रम्पको कोपभाजनमा पर्‍यो । र, अहिले यी दुई मुलुकबीचको सम्बन्ध पुरानै अवस्थामा पुग्यो ।


कुनै समय मित्रवत् सम्बन्ध रहेको इरानमाथि अमेरिकाले आखिर किन नाकाबन्दी लगाउँदै आएको छ ? यसको चुरो कुरो बझ्न सर्वप्रथम १९ औँ शताब्दीतिरको राजनीतिक इतिहास हेर्नुपर्ने हुन्छ ।


इरानी इतिहास :

पुरानो नाम पर्सिया रहेको इरानको राजधानी तेहरान हो । प्राकृतिक ग्यास र तेलमा धनी इरानमा सिया मुसलमानको बाहुल्यता रहेको छ । मध्य पूर्वमा ग्यास र तेलको भण्डारण र उत्खनन् सुरु भएपछि इरान शक्ति राष्ट्रको नजरमा पर्न थालेको हो । विश्वका २० प्रतिशत उत्पादित तेल इरानको दक्षिणी क्षेत्रमा पर्ने 'स्ट्रेट अफ हरमुज' हुँदै जान्छ । जुन पर्सियन र ओमनी खाडी नजिक पर्छ । यो क्षेत्रलाई इरानले नियन्त्रणमा लिँदै आएको छ ।

सफावेद वंशपछि कजार वंशले शासन गरेको इरानमा कजारहरुले ‘ओलमा’हरुलाई राजनीतिक रुपमा शक्तिशाली बनाइदिएका थिए । ओलमा सिया मुलसमानका धार्मिक गुरु हुन् । इरानमा सन् १९२१ देखि १९७९ सम्म पालभीले शासन गरे ।


तेल राजनीतिः

पहिलो विश्व युद्धको दौरन इरानमा तेल खानी पत्ता लाग्यो । तेलमाथि कसको अधिकार रहने भन्ने विषयमा ब्रिटेन र तत्कालीन सोभियत संघबीच विवाद बढ्यो । अन्ततः ब्रिटेनले इरानको तेलमाथि कब्जा जमायो ।

१९२१ मा तत्कालीन सेना प्रमुख रेजा खानले ब्रिटेनको समर्थनमा ‘कू’ गरी सत्ता हत्याए । १९२५ मा उनलाई इरानको ‘शाह’ (राजा) घोषणा गरियो । १९०६ को संविधान लागू भएपछि इरानमा धर्म निरपेक्षता घोषणा गरियो । रेजा खानले ओलमाहरुलाई दबाए ।


दोस्रो विश्वयुद्धको बेला रुससँग ढल्किएको आरोप लागेपछि रेजा खान हटाइए । उनकै २२ वर्षीय छोरा मोहम्मद रेजालाई ‘शाह’ घोषणा गरियो । मोहम्मद रेजा शाहले सन् १९५१ मा चुनाव गराए । मोहम्मद मोसादेक प्रधानमन्त्री भए । इरानको प्राकृतिक तेल तथा ग्यासहरुमाथि ब्रिटेनको नियन्त्रण हटाउन उनले सबै तेला खानीहरुलाई राष्ट्रियकरण गर्ने निर्णय लिँदै ब्रिटेनलाई चुनौती दिए ।


तेल खानीहरु राष्ट्रियकरण भएपछि ब्रिटेनले त्यसलाई गम्भीर रुपमा लिँदै मोसादेकलाई प्रधानमन्त्रीबाट हटाउने रणानीति लियो । ब्रिटेनले त्यही बेला इरान मामिलामा अमेरिकासँग सहयोग लियो । मोसादेकलाई हटाउनका लागि ब्रिटेन र अमेरिकाको खुफिया एजेन्सीहरु क्रमशः एमआई ६ र सीआईएबीच एक सम्झौता भएपछि सन् १९५२ मा उनीहरु मोसादेकलाई पदच्यूत गर्न सफल भए ।


तेल खानीमाथि नियन्त्रण गर्ने स्वार्थका कारण दुई मुलुकले इरानका राजा रेजा शाहलाई झन् शक्तिशाली बन्न मद्दत गरे । रेजालाई पुनः शक्तिशाली बनाएर निरंकुश बन्न उक्साउदै उनीहरुले इरानी तेल खानीमा नियन्त्रण कायम राखे ।


खामेनीको उदय :

सत्तामा रहँदा रेजाले मुलुकको आर्थिक अवस्था सुदृढ गर्दै लगे।विभिन्न विद्यालयहरु खोले । महिलाहरुलाई शिक्षा र विद्यालय पठाउन थाले । रेजाको सम्बन्ध अमेरिकासँग घनिष्ठ बन्दै गयो । अमेरिकाले पनि इरानको तेलखानीमाथि कब्जा जमाउदै लग्यो । इरानमा तेल उद्योगहरु बढ्दै गए ।

रेजाको गहिरिदो अमेरिकी सम्बन्ध र मुलुकमा पश्चिमेली संस्कृति बढेको भन्दै उनी विरुद्ध विदेशी एजेन्टको आरोप लाग्न थाल्यो । धर्म भन्दा बाहिर गएर महिलाहरुलाई भोट हाल्ने अधिकार दिइएको र महिलालाई शिक्षा दिने नीति विरुद्ध चित्त नबुझाउने संख्या ठूलो थियो । रेजामाथि निरंकुशता भएको आरोप लाग्न थाल्यो ।


कट्टरपन्थी नेता रोहुल्लाह खामेनी ।

रेजा विरुद्ध चर्को आवाज उठाउने मध्ये एक थिए, कट्टरपन्थी नेता रोहोल्ला खामेनी । उनी इरानका धार्मिक नेता एवं 'ओलमा' थिए । खामेनीले राजा विरुद्ध धावा बोलेपछि उनी पक्राउ परे । जेल सजायपछि उनलाई देश निकाला गरियो । इराकमा गएर निर्वासित जीवन बिताए । त्यहाँ रहँदा भाषणहरु गर्न थालेपनि इराकबाट पनि उनलाई निकाला गरिएपछि खामेनी फ्रान्समा बसे । खामेनीको भाषण कट्टरपन्थीहरुले खुब रुचाथे । विस्तारै उनी कट्टरपन्थीहरुको नेता बने ।


इरानी क्रान्ति :

१९७५ मा इरानका शाहले राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाइदिए । मुलुकमा एक मात्र रिर्सजेन्स पार्टी हुने भयो । उक्त पार्टी पनि शाहकै थियो । मिडियामाथिको नियन्त्रण र विचारका आधारमा धेरैलाई राजनीतिक बन्दीहरु बनाइए । दमनहरु धेरै भए ।


राजाको मद्दतमा इरान अमेरिकाको उपनिवेश बनेको भन्दै विरोधका स्वरहरु निस्कन थाले । १९७७ मा तत्कालीन सरकार विरुद्ध आन्दोलन भयो । आन्दोलनमा विद्यार्थीहरुको उपस्थिती धेरै थियो । प्रदर्शनहरु साना भएपनि त्यसले विस्तारै आकार लिदै गयो । १९७८ को जनवरीमा कट्टरपन्थी नेता खामेनीका विरुद्ध एउटा लेख छापियो । खामेनीका समर्थकहरु लेखको विरोध गरे । आन्दोलन झन् चर्कियो ।


आन्दोलन चर्कंदै गर्दा तत्कालीन अमेरिका राष्ट्रपति जिमी कार्टरले राजालाई अमेरिकी आर्मी सहयोग गर्ने घोषणा गरे । त्यसले इरानीहरु झन् भड्किए । राजाले मार्सल कानून लागू गरिदिए । जनताको आधिकार खोसियो । अमेरिकी विरोधी नाराहरु चर्किन थाले । शाहको राजीनामा माग भयो ।


१९७९ मा इरानी क्रान्ति भयो । जनवरीको तेस्रो साता तत्कालीन राजा उपचारको लागि भन्दै अमेरिका गए । राजाले देश छाडेपछि १५ वर्षको निर्वासनपछि खामेनी पुनः स्वदेश फर्किए । खामेनीले तत्कालीन राजाले बनाएका प्रधानमन्त्रीलाई हटाइदिए । इरानलाई इस्लामिक राष्ट्र घोषणा गरियो । त्यही वर्ष चुनाव भयो । संविधान जारी भयो । जसमा ९८ प्रतिशतले सहमति जनाए ।


इरानको संविधानले ‘थियोक्रेसी’को कुरा उल्लेख छ । जहाँ एक जना सर्वोच्च नेता हुन्छ । सर्वोच्च नेतालाई संविधानभन्दा माथि राखिएको छ । जसमा असिमित अधिकार छ । सर्वोच्च नेतालाई भगवानको दूत र धर्मको रक्षकको रुपमा लिइएको छ । संविधान रक्षाका लागि रिभुलसनरी गार्डको व्यवस्था छ । जुन आर्मीको एउटा अंगको रुपमा काम गरिरहेको छ ।


अमेरिकी दूतावासमा भएको त्यो घटना :

क्रान्तिपछि सुनौलो भविष्य कोर्ने तरखरमा थियो इरान । त्यही बेला एउटा घटना घट्यो जुन घट्नाको परिणाम अहिले पनि इरानले भोगिरहेको छ । १९७९ को नोभेम्बारमा तेहरानमा रहेको अमेरिकी दूतावासमा कट्टरपन्थी विद्यार्थी समूहले घेरा हाले । तत्कालीन राजालाई अमेरिकाबाट फिर्ता पठाउन माग राख्दै दूतावासमा घेरा हालिएको थियो । कट्टरपन्थीहरुले ५२ जना अमेरिकी नागरिकलाई बन्दी बनाए । ४४४ दिनसम्म अमेरिकी दूतावासका मानिसहरुलाई बन्दी बनाइयो ।


अल्जेरियाको मध्यस्थतामा अमेरिका र इरानबीच राजधानी अल्जियर्समा सम्झौता भएपछि सबै बन्दी रिहा भएका थिए । उक्त घटनापछि बिग्रिएको इरान र अमेरिकीबीचको सम्बन्ध अहिलेसम्म सुध्रिन सकिरहेको छैन । १९७९ देखि इरानमाथि नाकाबन्दी लगाउँदै अमेरिकाले अहिलेसम्म विभिन्न विषयमा नाकाबन्दी गर्दै आएको छ ।

त्यस घटनापछि अमेरिकाले इरानप्रति सम्बन्ध तोड्यो । त्यस यता यी दुवै मुलुकबीच कूटनीतिक सम्बन्धमा सुधार हुन सकेको छैन ।


पछिल्ला घटनाक्रम :

सन् २०००को इरानको परमाणु कार्यक्रमबारे विश्व समुदायले थाहा पाएपछि इरानमाथि थप प्रतिबन्धहरु लगाइए । २०१५ मा स्वीटजरल्यान्डमा इरानको परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा शक्तिराष्ट्रहरुसँग ‘इरान सम्झौता’ भयो । इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गरियो ।

ट्रम्पले अमेरिकाको सत्ता सम्हालेपछि २०१८ मा इरान सम्झौता खारेज गरिदिए । एक लाख टन तौल भएको अब्राहम लिंकन एयरक्राफ्ट क्यारियर युद्धपोत अमेरिकाले मध्यपूर्वीमा पठाएपछि स्थिति झन् बिग्रियो । एक हजार अमेरिकी सैनिक त्यसतर्फ पठाउने निर्णय अमेरिकाले गरेपछि इरानमाथि थप दबाब बढ्यो । ट्रम्पले नयाँ सम्झौताको माग गर्दै आएका छन् ।


अमेरिकाले गत साता इरानले दुईवटा तेल बोकेको जाहाजमाथि हमला गरेको आरोप लगायो । जुन २० तारिखमा कुमोबारक क्षेत्रमा इरानले एक अमेरिकी ड्रोन खसाल्यो । त्यसको प्रतिक्रियामा ट्रम्पले इरान आक्रमणको योजना बनाएको तर अन्तिम समयमा स्थगित गरेको दाबी गरे । उनले १५० इरानीको मृत्यु हुने देखिएपछि आक्रमण रोकेको बताएका छन् । यद्यपि ट्रम्पले अमेरिकाले युद्ध नचाहेको तर इरानले युद्ध छेडे ध्वस्त पारिदिने चेतावनी समेत दिएका छन् । ट्रम्पले आफू इरानसँग वार्ता बस्न तयार रहेको तर कुनैपनि हालतमा परमाणु हतियार निर्माण गर्न दिने बताएका छन् ।


अब के ?

अमेरिकाले इरानलाई आफूअनुकुलको नयाँ सम्झौता गर्न दबाब दिँदै आइरहेको पछिल्ला घटनाक्रमहरुले देखाएका छन् । इरानमाथि कुनै मुलुकले व्यापार गरे सो मुलुकमाथि पनि प्रतिबन्ध लगाउने अमेरिकी चेतावनीपछि इरान एक्लिएको छ । इरानले अमेरिकी धम्की नमान्ने बताउँदै 'स्ट्रेट अफ हर्मोज' हुँदै कुनैपनि मुलुकको तेल बाहिर जान नदिने बताएको छ ।


'स्ट्रेट अफ हर्मोज' पर्सियन र ओमनी खाडीबीचको भाग हो जहाँबाट विश्वको २० प्रतिशत कच्चा तेल दैनिक रुपमा बाहिरिन्छ । यो एउटा रणनीतिक क्षेत्र हो । इरानले आफ्नो अन्तिम अस्त्र यही मार्गलाई बनाएको देखिन्छ । यो स्ट्रेटको चौडाई ३९ किलोमिटर छ ।


हर्मोज हुँदै एसिया, युरोप र उत्तर अमेरिका लगायतका मुलुकहरुमा तेल निर्यात हुन्छ । तेल लैजाने मार्ग रोकेपछि विश्वमा तेलको माग बढ्ने र भाउ बढ्नेछ । जसबाट अमेरिकालाई दबाब हुने इरानको बुझाइ छ । यसबाट अमेरिका इरानसँग सहमति गर्न बाध्य हुने इरानी बुझाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।


नाकाबन्दीपछि अर्थव्यवस्था खस्किने र इरान सहमति गर्न बाध्य हुने अमेरिकी बुझाइ छ । तर इरानमाथि लगाइएको प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि भारी पर्ने संकेत देखिदैँछ । ट्रम्प २०२० का लागि चुनावी मैदानमा उत्रिएका छन् । ओबामा प्रशासनले सन् २०१५मा गरेको परमाणु सम्झौतापछि अमेरिका र इरानबीचको सम्बन्ध सुधारोन्मुख थियो । तर एकपक्षीय रुपमा सम्झौता तोड्ने ट्रम्पको कदमपछि दुईदेशबीचको तनाव उत्कर्षमा पुगेको छ ।

ट्रम्प नयाँ सम्झौताको माग गर्दै आफ्नो विदेश नीतिको बचाउमा छन् । चुनाव अघि नै इरानसँग सम्झौता गर्न नसके ट्रम्प नीतिमाथि प्रश्न चिन्ह खडा हुनेछ भने इरानसँग सम्झौता गरे भने उनलाई चुनावी फाइदा हुने पनि आकलन गरिएको छ ।


दुवै मुलुकबीच जारी तनाव कसरी अन्त्य होला भन्ने हेर्न बाँकी नै छ । तर ट्रम्पले दाबी गरे जस्तै इरानमाथिको हमला को योजना भविष्यमा नै प्रष्ट होला । पर्ख र हेर नीति लिएको विश्व समुदाय भने तेल राजनीतिमा अल्झिएको अर्थतन्त्रको चिन्ताले दुई मुलुकबीचको समस्या चाडै समाधान होस् भन्ने चाहन्छन् ।

-एजेन्सीको सहयोगमा

प्रकाशित : असार ८, २०७६ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?