इथियोपियाका सेना प्रमुख मारिए 

 सैनिक ‘कू’ असफल पारेको प्रधानमन्त्रीको दाबी 
एएफपी

आदिस अबाबा — इथियोपियाका प्रधान सेनापति जनरल सेयारे मेकोन्नेनको आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् ।  गोली प्रहारमा सेनाप्रमुखसहित अर्का एक अधिकारीको ज्यान गएको प्रधानमन्त्री अबिय अहमदले जनाएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री अहमदले ‘अम्हारा क्षेत्रमा गरिएको सैनिक कू प्रयास सरकारले असफल पारिदिएको’ दाबी गरे ।

इथियोपियाका सेना प्रमुख मारिए 

प्रधानमन्त्री अहमदका अनुसार अम्हाराका क्षेत्रिय गर्भनर अम्बाचेव मेकोन्नेनसहित उनका सल्लाहकारको हत्या भएको जनाए । सरकारले विद्रोह मच्चाउन खोज्ने केहीलाई पक्राउ गरिएको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको जनाएको छ ।


अमेरिकी दूतावासले राजधानी अदिस अबाबाका विभिन्न स्थानमा गोली चलेको जनाएको छ । घटनापछि अमेरिकाले अदिस अबाबास्थित आफ्ना कर्मचारी तथा नागरिकलाई घरभित्र बस्न आग्रह गरेको छ ।

सैनिक पोसाकमा टेलिभिजन सम्बोधन गरेका अहमदले ‘दुष्ट फौजले देशलाई विभाजनको दिशातर्फ उन्मुख गराउने प्रयास’ गरेको बताए । हालैका वर्षहरूमा अम्हारालगायत इथियोपियाका अन्य कतिपय क्षेत्रमा जातिय हिंसा बढेको छ ।


गत वर्षको चुनावमार्फत प्रधानमन्त्री बनेयता अहमदले केही सुधारका कार्य गर्दै आएका छन् । उनले हालैका महिनामा केही राजनीतिक बन्दीलाई रिहा गर्नुका साथै राजनीतिक दलमाथिको प्रतिबन्ध हटाएका थिए । त्यसैगरी मानव अधिकार उल्लंघनमा संलग्न कतिपय अधिकारीविरुद्ध मुद्दा चलाइसकेको जनाइएको छ ।


अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । असफल विद्रोहपछि देशभर इन्टरनेट सेवा बन्द गरिएको जनाइएको छ ।


प्रधानमन्त्रीको कार्यालयले दोस्रो ठूलो सहर अम्हारामा सैनिक विद्रोह भएको पुष्टि गरिसकेको छ । यद्यपि, विद्रोह कसको नेतृत्वमा भएको भन्नेबारे केही उल्लेख गरेको छैन । कार्यालयले देशलाई स्थायित्व दिने र सुधारतर्फ अग्रसर गराउने प्रधानमन्त्री अहमदको योजना विफल पार्ने प्रयास भएको दाबी गरेको छ ।


प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रोह लामो प्रयासपछि हासिल शान्तिविरुद्ध रहेको उल्लेख छ । इथियोपियाका ९ स्वायत्त क्षेत्र छन् । तीमध्ये दोस्रो ठूलो अम्हारा सुडानी सीमाक्षेत्रमा पर्छ ।

प्रकाशित : असार ८, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?