कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण

एएफपी

रियाद — साउदी अरबको दक्षिणी भेगको एक विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । यमनी हुथी विद्रोहीले गरेको आक्रमणमा ज्यान गुमाउने व्यक्ति सिरियाली नागरिक भएको बीबीसीले जनाएको छ ।

हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण

अभा विमानस्थलमा आइतबार राति गरिएको आक्रमणमा २१ घाइते भएका साउदी अधिकारीले जनाएका छन् ।


आक्रमणमा घाइते हुनेमा साउदी अरब, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।


पछिल्लो आक्रमणमा एक म्याक डोनाल्ड पसल तथा करिब दुई दर्जन सवारीसाधनमा क्षतिग्रस्त भएका जनाइएको छ । साउदी टेलिभिजन अल एखबरीयाले प्रसारण गरेका दृश्यहरूमा विमानस्थलस्थित म्याक डोनाल्ड रेस्टुरेन्ट तथा पार्किङमा राखिएका गाडीहरूमा क्षति पुगेको देखिन्छ ।

हुथी विद्रोहीले एक साताको अवधिमा अभा विमानस्थललाई लक्षित गरी दोस्रो आक्रमण गरेका हुन् । जुन १२ हुथी विद्रोहीको आक्रमणमा दुई बालबालिकासहित २६ सर्वसाधारण घाइते भएका थिए । मानवअधिकारवादी संगठनहरूले ‘हुथीको नागरिक लक्षित आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणमा ड्रोन प्रयोग गरिएको जनाए पनि साउदी अधिकारीले हतियारबारे केही उल्लेख गरेका छैनन् । हुथी टेलिभिजन अल मासिराहका अुनसार ‘आफ्ना लडाकुहरूले ड्रोनको प्रयोगले अभा र नजिकैको जिजान विमानस्थलमा आक्रमण गरेका’ हुन् । साउदी अरबले जिजान विमानस्थल आक्रमणबारे भने केही उल्लेख गरेको छैन ।


हुथी प्रवक्ताले विमानस्थलस्थित साउदी सैनिकलाई लक्षित गरी ‘क्वासेफ–२ के’ ड्रोनले आक्रमण गरेको जनाए । उक्त ड्रोन जमिनबाट करिब २० मिटर माथि रहेको लक्ष्यमा आक्रमण गर्न तयार पारिएको हो । हुथीविरुद्धको गठबन्धनले उक्त ड्रोन इरानले उपलब्ध गराएको दाबी गरेको छ । यद्यपि, इरानले विद्रोहीलाई कुनै पनि हतियार नदिएको दाबी गर्दै आएको छ ।


अभा विमानस्थल यमनको सीमा क्षेत्रबाट करिब ११० किलोमटिरको दूरीमा छ । हुथी टेलिभिजनमार्फत प्रवक्ताले भनेका छन्, ‘यमनमाथि साउदी नेतृत्वको हमला जारी रहे अझै दर्दनाक आक्रमण गरिने छ ।’

आक्रमणमा इरानसँगको तनाव बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तीव्र बनाएका छन् । पछिल्लो समय हुथीले साउदी अरबका बाक्लो जनसंख्या भएका स्थानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । तर अधिकांश क्षेप्यास्त्र भने साउदी अरबले निष्क्रिय पारेका कारण ठूलो क्षति हुन पाएको छैन । यमनका हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको साउदी अरबको दाबी छ ।


सन् २०१५ को मार्चमा हुथी विद्रोहीले देशका पश्चिी क्षेत्रसहित अधिकांश स्थान कब्जा गरेपछि राष्ट्रपति अब्दराबुह मन्सुर हादीले देश छोडेर भागेका थिए । तर हुथीलाई इरानी सिया मुस्लिम विद्रोहीहरूको सहयोग रहेको दाबी गर्दै सुन्नी बाहुल्य रहेका साउदी अरब र अन्य ८ देशले हादीको सरकार पुनःस्थापित गर्न हवाई आक्रमण गर्दै आएका छन् ।


संयुक्त राष्ट्रसंघका अनुसार त्यसयता यमनमा गरिएका आक्रमणमा परी कम्तीमा ७ हजार सर्वसाधारणको ज्यान गइसकेको छ । ११ हजार अंगभंग छन् । त्यसमध्ये करिब ६५ प्रतिशतको साउदी गठबन्धनको आक्रमणमा परी मृत्यु तथा अंगभंग भएको हो ।

प्रकाशित : असार ९, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?