अस्ट्रेलियाद्वारा युद्धग्रस्त क्षेत्रबाट ८ बालबालिकाको उद्धार

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — अस्ट्रेलियाले युद्धग्रस्त क्षेत्र सिरियाको शरणार्थी शिविरमा रहेका ८ बालबालिकाहरुलाई उद्धार गरेको छ । उद्धार हुने बालबालिकाहरु आतंकवादी संगठन इस्लामिक स्टेटका लडाकुका छोराछोरीहरु हुन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनलेबाबुआमा इस्लामिक स्टेटमा आबद्ध भएपछि सिरिया पुगेका अस्ट्रेलियाली बालबालिकाहरुलाई उद्धार गरिएको पुष्टि गरेका छन्। उनले आफ्ना अभिभावकहरुको अपराधको सजाय बालबालिकाहरुले भोग्न नहुने बताएका छन्।

उनले उद्धारमा संलग्न सबैलाई धन्यवादसमेत दिएका छन्। उनले उद्धार गरिएका बालबालिकाहरुको सहयोग र सामाजिक सहायताका लागि अस्ट्रेलिया सरकारका सम्बन्धित निकायहरुले विचार गर्ने समेत बताएका छन्। उद्धार गरिएका बालबालिकाहरु २ वर्षदेखि १८ वर्षसम्मका रहेका सञ्चारमाध्यमहरुले जनाएका छन्।

इस्लामिक स्टेटको कथित जेहादी युद्धमा सहभागी हुन केही अस्ट्रेलियालीले समेत देश छोडेका थिए। जसका कारण उनीहरुको परिवारहरु समेत प्रभावित थिए।

तर, पछिल्लो समयमा इस्लामिक स्टेटले हार ब्योहोरेपछि शरणार्थी शिविरमा रहेका आफ्ना नागरिकहरुलाई फिर्ता लैजानुपर्ने मानव अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुले आग्रह गर्दै आएका छन्। अस्ट्रेलिया सरकारले सामाजिक क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहकार्यमा उनीहरुलाई उद्धार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

सञ्चारमाध्यमहरुले मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनलाई उद्धृत गर्दै अहिले पनि सिरियाको उत्तरपूर्वी शरणार्थी शिविर क्षेत्रमा ३ हजार ५ सय बढी विदेशी बालबालिकाहरु रहेको जनाएका छन्।

त्यसमा पनि करिब १ सयको कुपोषणका कारण मृत्यु भएको छ। अहिले पनि कम्तीमा ५० जना इस्लामिक स्टेटसँग आबद्ध भएका बालबालिका तथा महिलाहरु सिरियाका शरणार्थी शिविरमा छन्।

सिरियामा दशकसम्म चलेको कथित जेहादी युद्धमा हजारौंले ज्यान गुमाइसकेका छन्। हजारौंको संख्यामा सिरियाका विभिन्न शरणार्थी शिविरमा रहेका छन्। उक्त क्षेत्रमा रहेका आफ्ना नागरिकहरुलाई सम्बन्धित देशले फिर्ता लैजानुपर्ने आवाज मानवअधिकारवादी संस्थाहरुले उठाइरहे पनि सुरक्षाको कारण देखाउँदै फिर्ता लैजाने क्रममा ढिलाई भइरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रकाशित : असार १०, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रीलाई कालोझन्डा देखाउँदा झडप

भवानी भट्ट

कञ्चनपुर — खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई कालो झन्डा देखाउने क्रममा झडप हुँदा २ जना घाइते भएका छन् । मंगलबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा कालोझन्डा देखाउने क्रममा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । 

झडपमा कांग्रेसका विक्रम चन्द र गोपी उपाध्याय घाइते भएका प्रहरीले जनाएको छ। उपाध्यायको हातमा सामान्य चोट लागेको छ भने चन्दको टाउकोमा चोट लागेर धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पुनर्वासका इन्चार्ज प्रहरी निरीक्षक कर्ण बमले बताए।

मन्त्री मगर मंगलबार बिहानै बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि आउने क्रममा कांग्रेसका कार्यकर्ताले डोकेबजारमा कालोझन्डा देखाउने खोजेका थिए।

नेकपाका कार्यकर्ताले उक्त प्रदर्शन रोक्न खोज्दा झडप भएको हो। कांग्रेसका कार्यकर्ताले हुलाकी सडक निर्माणमा ढिलाइ भएको, एसएसबीले हुलाकी सडकमा अवरोध पुर्‍याउँदा पनि नबोलेको लगायतका विषय राख्दै विरोध जनाएका हुन्।डोकेबजारमा अवरोधपछि मन्त्री मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनमा पुगेकी हुन्।

प्रकाशित : असार १०, २०७६ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्