१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अन्तरिक्ष यात्री सकुशल फिर्ता

एएफपी

कजाखस्तान/वासिङटन — अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीनजना अन्तरिक्ष यात्री मंगलबार सकुशल पृथ्वीमा फर्केका छन् । अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेका समयमा रूसी वैज्ञानिकलाई सफलता प्राप्त भएको हो ।

अन्तरिक्ष यात्री सकुशल फिर्ता

अन्तरिक्ष यात्रीहरु कजाखस्तानको झेखाजगान सहरनजिकै सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष यात्रीमा नासाका आन क्याकक्लेन, वरिष्ट रूसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक केन्द्रका डेभिड सेन्ट–ज्याक्स छन् ।


नासा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरुसँग मुस्काइरहेका देखिन्छन् । क्यानाडाली र अमेरिकी अन्तरिक्ष यात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने जनाइएको छ ।


अन्तरिक्ष यात्रीहरू सन् २०१८ को डिसेम्बर ३ मा रूसी यान सोयुजबाट अन्तरिक्षमा गएका थिए । तर रूसी अन्तरिक्ष यात्री अलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरिक्ष यात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो । उड्नासाथ दुर्घटना भएपछि उनीहरूले आपत्कालीन अवतरण गरेका थिए ।


चालीस वर्षीया अन्तरिक्ष यात्री म्याकक्लेनले गरेको ट्वीटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताए । अन्तरिक्ष केन्द्रमा रहँदा उनी दुई पटक अन्तरिक्षमा हिँडेका थिए ।


सन् २०११ देखि रुसले मात्र अन्तरिक्ष केन्द्रमा मानिस पठाएको छ । अमेरिका समेतका मुलुकले अन्तरिक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन् । हालसम्म ७ पर्यटकलाई अन्तरिक्ष केन्द्रमा पठाइसकेको रूसले सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ ।


२४ भूउपग्रह एकै दिन प्रक्षेपण

अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।


विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेस एक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । यसअघि निकै कठिन मानिएको अभियान सफल भएको कम्पनीले जनाएको छ ।


अमेरिकाको फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी रकेट प्रक्षेपण गरिएको हो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । ‘स्पेस एक्स कम्पनीको इतिहासमा यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो र यस अभियानका लागि करिब ६ घण्टा लागेको थियो,’ कम्पनीले भनेको छ ।


स्पेस एक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि यसपटक पुनः प्रयोग गरिएको हो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित स्पेस एक्सले अन्तरिक्षमा पर्यटनमा लैजाने योजना अघि सारिसकेको छ ।

प्रकाशित : असार १०, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?