२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इरान–अमेरिका द्वन्द्व – 'अमेरिकी प्रतिबन्ध मूर्खतापूर्ण’

एजेन्सी

तेहरान/वासिङ्टन — इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, धार्मिक नेता तथा अधिकारीलक्षित प्रतिबन्ध लगाउने अमेरिकी कदम ‘मूर्खतापूर्ण’ रहेको बताएको छ । उसले अमेरिकाको पछिल्लो निर्णयपछि ‘तेहरान र वासिङ्टनबीचको कूटनीतिक मार्ग स्थायी रूपमा बन्द भएको’ चेतावनी दिएको छ । 

इरान–अमेरिका द्वन्द्व – 'अमेरिकी प्रतिबन्ध मूर्खतापूर्ण’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायतमाथि थप प्रतिबन्धको घोषणा गरेपछि इरानले उक्त प्रतिक्रिया दिएको हो ।


राष्ट्रपति ट्रम्पले खामेनीप्रति लक्षित नयाँ प्रतिबन्धहरू अमेरिकी ड्रोन खसाल्ने कदमको प्रत्युत्तर भएको दाबी गरेका छन् । ट्रम्पले इरानी शासनको ‘उत्तेजक व्यवहारका कारण खामेनी जिम्मेवार’ रहेको दाबी गरे । अमेरिकी नयाँ प्रतिबन्ध खामेनी, केही धार्मिक नेता तथा सैनिक अधिकारीलक्षित छ ।


इरानी राष्ट्रपति हसन रौहानीले ‘अमेरिकी निर्णय निराशाजनक’ भएको जनाउँदै अमेरिकी राष्ट्रपति कार्यालय ‘मानसिक रूपमा कमजोर’ रहेको दाबी गरे । उनले सर्वोच्च नेता लक्षित नाकाबन्दीको कुनै अर्थ नरहेको भए पनि ‘विदेश मन्त्रालय लक्षित प्रतिबन्धले कूटनीतिक सम्बन्ध सधैंका लागि अन्य गरिदिएको’ चेतावनी दिए । इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकीहरू ‘कूटनीतिलाई घृणा गर्छन्’ भन्ने कुरा पछिल्लो कदमले पुष्टि भएको बताए । नयाँ प्रतिबन्धपछि ट्वीट गर्दै उनले अमेरिकाले ‘युद्धको तृष्णा’ नछोडेको जनाए ।


अमेरिकी अर्थ मन्त्रालयले ‘नयाँ प्रतिबन्धहरू इरानी सत्तामा रहेका र इस्लामिक रेभ्युलुसनरी गार्डका अनुपयुक्त गतिविधिको नेतृत्व गर्ने आठ जनाप्रति लक्षित छन् । असीमित आर्थिक अधिकार भएका इरानी सर्वोच्च नेतामाथिका प्रतिबन्ध अर्थपूर्ण हुने अनुमान छ ।


नयाँ प्रतिबन्धले आर्थिक स्रोतमाथि इरानी नेतृत्वको पहुँच रोक्ने तथा सर्वोच्च नेता वा उनले नियुक्त गरेका अधिकारीविरुद्ध कारबाही गर्न सघाउने अमेरिकाको दाबी छ । अमेरिकी अर्थमन्त्री स्टिभन मनुचिनले इरानी विदेशमन्त्रीविरुद्ध पनि अमेरिकाले केही दिनमा प्रतिबन्ध लगाउने जनाएका छन् ।


अमेरिका र इरानबीचको तनाव केही सातायता उत्कर्षमा पुगेको छ । इरानले इरानले अमेरिकी सेनाको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन गोली हानी खसालेपछि दुई देशबीच तनाव बढेको हो । तेहरानले ‘आफ्नो आकाशमा अनधिकृत रूपमा प्रवेश गरेकाले ड्रोनलाई गोली हानी खसालेको’ जनाएको थियो ।


इरानले आफ्नो सीमाक्षेत्रमा प्रवेश गरेकाले अमेरिकी ड्रोन खसालिएको दाबी गरेको थियो । उसले आफ्नो सीमाको रक्षा गरिने ‘स्पष्ट सन्देश’ अमेरिकालाई दिइएको जनाए पनि अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि रहेको बताउने गर्छ । ड्रोन गोली हानी खसाल्ने इरानी कदमको प्रत्युत्तरमा अमेरिकाले इरानी हतियार प्रणालीमा साइबार आक्रमण गरेको जनाएको थियो । साइबर आक्रमणपछि ‘इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणाली’ काम नगर्ने बनेको अमेरिकी अखबारले जनाए पनि इरानले त्यसको खण्डन गरिसकेको छ ।


ओमानको खाडीमा गतसाता गरिएको तेल ट्यांकरलक्षित आक्रमण इरानले गराएको अमेरिकाको दाबी छ । ओमानको खाडी तेल ट्यांकरहरूको आवतजावत हुने प्रमुख रणनीतिक जलमार्ग हो । इरानी अधिकारीले भने आक्रमणसँग ‘इरानको कुनै सम्बन्ध नभएको’ बताएका छन् ।


संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले दुवै पक्षलाई कूटनीतिक ढंगले तनाव अन्त्य गर्न आग्रह गरिसकेको छ । तर सुरक्षा परिषदको आपत्कालीन बैठकमा बोल्दै अमेरिकी प्रतिनिधिले ‘खाडीमा तेल ओसार्ने पानीजहाजमाथि इरानले आक्रमण गरेको’ दोष लगाए राष्ट्रसंघका लागि अमेरिकी कार्यवाहक स्थायी प्रतिनिधि जनाथन कोहेनले उक्त दाबी गरेका हुन् ।


इरान र पश्चिमा शक्ति राष्ट्रहरूबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका एकपक्षीय रूपमा बाहिरिएपछि दुई देशबीच तनाव चुलिएको हो । २०१८ को मेमा ह्वाइटहाउसले उक्त सम्झौताबाट हटेको निर्णय गरेसँगै उसले इरानविरुद्ध थप प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धका कारण कारण इरानेल आर्थिक कठिनाइ खेप्दै आएको छ ।

प्रकाशित : असार ११, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?