१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोम्पियो भारतमा, दुई देशबीच व्यापार र अन्तर्राष्ट्रिय मामिलाबारे कुराकानी हुने

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतसँगको बढ्दो व्यापार विवाद, इन्डो–प्यासेफिक रणनीति, इरानमाथिको प्रतिबन्धलगायत विषयमा छलफल गर्ने उद्देश्यसहित अमेरिकी विदेशमन्त्री माइक पोम्पियो दुईदिने भ्रमणका क्रममा मंगलबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् ।

पोम्पियो भारतमा, दुई देशबीच व्यापार र अन्तर्राष्ट्रिय मामिलाबारे कुराकानी हुने

आगामी साता जापानको ओसाकामा हुने जी–२० सम्मेलनमा भाग लिन जाने क्रममा पोम्पियो मंगलबार साँझ दिल्ली ओर्लेका हुन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएपछिको पहिलो विशिष्ट पाहुना हुन् ।


प्रधानमन्त्री मोदीसँग बुधबार भेटवार्ता गर्ने पोम्पियोले भारतीय समकक्षी एस जयशंकरसँग औपचारिक वार्ता गर्ने जनाइएको छ । पोम्पिेयो र जयशंकरबीचको भेट विशेषगरी द्विपक्षीय व्यापार, डाटा लोकलाइजेन, भू–राजनीति लगायतका विषयमा केन्द्रित हुने

बताइएको छ ।


अमेरिकाले भारतीय केही उत्पादनलाई दिँदै आएको भन्सार सहुलियतको विशेष सुविधा अन्त्य गरेपछि पछिल्लो समय अमेरिका र भारतबीच द्विपक्षीय व्यापारको स्थिति तनावपूर्ण छ । अमेरिकी कदमको जवाफमा भारतले दुई साताअघि बदाम, स्याउलगायतका अमेरिकी वस्तुमा भन्सार दर बढाइसकेको छ ।


अमेरिकाले भारतमाथि हार्ली डेभिड्सन मोटरसाइकललगायत आफ्ना उत्पादनहरूमा अत्यधिक भन्सार लगाएको आरोप लगाउँदै आएको छ । पोम्पियो र जयशंकरबीचको भेटमा व्यापारमा देखिएका असमझदारी हटाउने विषयमा छलफल हुने बताइएको छ ।

विदेशमामला जानकारले पोम्पियोले भ्रमण उदाउँदो महाशक्ति चीनलाई घेर्दै एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न भारतसँगको साझेदारी बढाउन केन्द्रित हुने दाबी गरेका छन् ।


अमेरिकाले चीनको बढ्दो विश्वव्यापी प्रभावलाई रोक्ने उद्देश्यसहित विगत एक वर्षयता इन्डोप्यासिफिक रणनीतिलाई आक्रमण ढंगले अघि बढाएको छ । अमेरिकाले आफ्नो उक्त रणनीति कार्यान्वयनका लागि भारतसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्दै आएको छ ।


अमेरिकाले दुई वर्षअघि आफ्नो सुरक्षा रणनीतिअन्तर्गत इन्डो–प्यासिफिक रणनीतिलाई महत्त्वपूर्ण अंगका रूपमा व्याख्या गरेयता त्यसको कार्यान्वयनका लागि आक्रमक रबैया अपनाउँदै आएको छ ।


भारतले चीनको महात्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियिटिभ (बीआरआई) प्रति असहमति प्रकट गर्दै आएको छ । चीनले आफ्नो भूराजनीतिक प्रभाव विस्तार गर्न बीआरआईलाई अघि सारेको दिल्लीको बुझाइ र अमेरिकाको एसिया प्रशान्त क्षेत्रमा आफ्नो दबदबा कायम गर्ने रणनीतिले गर्दा नै पछिल्लो समय अमेरिका र भारत नजिकिएको विश्लेषण गरिँदै आएको छ ।


अमेरिकाले हालै सार्वजनिक गरेको इन्डो–प्यासिफिक रणनीतिक प्रतिवेदनमा नेपाललाई समेत साझेदारको रूपमा समावेश गरिएपछि पोम्पियो र जयशंकरबीच बुधबार दिल्लीमा हुने छलफल नेपालका लागि पनि चासोको विषय बन्ने देखिन्छ । त्यसो त विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले विदेशमन्त्रीद्वयबीचको भेटमा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुने बताउनुले पनि पोम्पेओको भ्रमणको प्रमुख उद्देश्य उजागर हुन्छ ।


त्यसैगरी, लामो समयदेखि चर्चामा रहँदै आएको डाटा लोकलाइजेसनका विषयमा पनि छलफल हुने बताइएको छ । भारतमा विदेशी सामाजिक सञ्जालदेखि ई–कमर्स कम्पनीहरूले भारतीय प्रयोगकर्तासम्बन्धी सबै सूचना र तथ्याकंहरू भारतमै सर्भर राखेर भण्डारण गर्नुपर्ने माग हुँदै आएको छ । भारतको केन्द्रीय रिजर्भ बैंकले त इन्टरनेटबाट भुक्तानी सेवा सञ्चालन गर्ने कम्पनीहरूका लागि यो अनिवार्य नै गराएको छ । अमेरिकी कम्पनीहरूले यो व्यावहारिक नहुँदा त्यसको विरोध गर्दै आएका छन् ।


अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण कच्चा तेलको आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावका विषयमा पनि जयशंकर र पोम्पियोबीचको भेटमा छलफल हुने अनुमान छ । भारतले कच्चा तेलको कुल आयातको करिब ११ प्रतिशत इरानबाट आपूर्ति गर्दै आएको थियो ।


भारतले अमेरिकी प्रतिबन्धका कारण २ मेदेखि इरानबाट कच्चा तेल खरिद बन्द गरेको छ । जसका कारण आन्तरिक मागको ८० प्रतिशतभन्दा बढी कच्चा तेल आयातले मूल्य र आपूर्ति व्यवस्थामा समस्या कठिनाइ व्यहोर्दै आएको छ ।

प्रकाशित : असार ११, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?