सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत निर्वाचित

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत संयुक्त राष्ट्र संघ (यूएन) को सुरक्षा परिषद्अन्तर्गत एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित ५५ मुलुकको समर्थन प्राप्त गर्दै अस्थायी सदस्यमा निर्विरोध निर्वाचित भएको छ । यसलाई भारतले महत्त्वपूर्ण कूटनीतिक जितका रूपमा अर्थ्याएको छ ।

‘भारतको सुरक्षा परिषद्को अस्थायी सदस्यताको दावेदारीलाई एसिया प्रशान्त क्षेत्रीय समूहले सर्वसम्मत रूपमा समर्थन गरेको छ , समूहका ५५ सदस्य राष्ट्रलाई धन्यवाद दिन चाहन्छु,’ संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि सैयद अकबरुद्धिनले

ट्वीटमार्फत दिएको सन्देशमा भनेका छन् । समूहमा नेपालका अतिरिक्त चीन, बंग्लादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, जापान, कतार, साउदी अरेबिया, मालदिभ्सलगायतका मुलुक छन् ।


रोचक त के भने, भारतको उम्मेदवारीलाई नेपालले मात्र नभएर उसको परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानले पनि समर्थन गरेको छ । भारत र पाकिस्तानबीच हाल विद्यमान तिक्ततापूर्ण सम्बन्धका बीच पाकिस्तानले गरेको समर्थनलाई अर्थपूर्ण ठानिएको छ । गत फागुनमा ४० जना अर्धसैनिक बलको ज्यान जाने गरी कश्मीरको पुलवामा भएको आत्मघाती बम विस्फोटपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसिन पुगेको थियो ।


त्यसयता पाकिस्तानी पक्षबाट हुँदै आएको शान्तिपूर्ण वार्ताको प्रस्तावलाई भारतले सीमापार आतंकवाद जारी रहेसम्म त्यसको कुनै अर्थ नरहेको भन्दै नकार्दै आएको छ । यी दुई छिमेकीबीच कायम तिक्ततापूर्ण सम्बन्धले दक्षिण एसियाली सहयोग संगठन (सार्क) ले पनि गति लिन सकेको छैन । केही विश्लेषकहरूले भारतलाई अस्थायी सदस्यमा निर्वाचित गराउन पाकिस्तानले गरेको समर्थनले यी दुई मुलुकबीच सम्बन्ध सुधारको बाटो खुल्ने संकेतका रूपमा समेत अर्थ्याएका छन् ।


त्यसो त भारतले विगत लामो समयदेखि सुरक्षा परिषद्को स्थायी सदस्यका लागि समेत पैरबी गर्दै आएको छ । सुरक्षा परिषद्का विभिन्न १५ सदस्यमध्ये पाँच स्थायी र दस अस्थायी सदस्य रहने व्यवस्था छ । अमेरिका, बेलायत, चीन, फ्रान्स, रुस स्थायी सदस्य हुन् । संयुक्त राष्ट्रको संघको १९३ सदस्यीय महासभाले बाँकी दस अस्थायी सदस्य निर्वाचनबाट चुन्ने गर्छ । जसमध्ये आधाको हरेक वर्ष चुनाव हुने गर्छ ।

प्रकाशित : असार १२, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?