१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाबुछोरीको तस्बिरले पार्‍यो स्तब्ध

तस्बिरले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवलम्बन गरेको आप्रवासी नीतिमाथि गम्भीर प्रश्न उठाएको छ
एजेन्सीहरू

मेक्सिको सिटी — आफ्नो परिवारका साथ गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा मेक्सिको र अमेरिकाबीचमा पर्ने रियो ग्रान्डे नदीमा गत आइतबार बाबु र छोरीको डुबेर ज्यान गयो । दुवैको शव सोमबार मेक्सिकोको टमौलिपास राज्यस्थित मातामोरोसमा तैरिरहेको अवस्थामा फेला पर्‍यो ।

बाबुछोरीको तस्बिरले पार्‍यो स्तब्ध

यो घटनाको तस्बिर सार्वजनिक भएलगत्तै सोसल मिडियामा भाइरल भएको छ । अमेरिका र मेक्सिको सीमानजिकैको यो घटनाले विश्वकै ध्यानसमेत तानेको छ । दुई मुलुकबीचको सीमामा आप्रवासन समस्या कति जटिल छ भन्ने विषयलाई चित्रण गर्न यो तस्बिर काफी छ । तस्बिरमा बुबाको कालो टिसर्टमा छोरीको अनुहार लुटपुटिएको र उनको दायाँ हात चाहिँ बुबाको घाँटीमाथि राखिएको देखिन्छ । यसले अन्तिम क्षणमा ‘बाबुछोरी एक अर्कामा टाँसिरहन भनेको’ संकेत गर्छ ।


एल सल्भाडोरका २५ वर्षीय ओस्कार अल्बर्टो मार्टिनेज र्‍यामिरेज आफनी २३ महिनाकी छोरी भ्यालेरियासँगै रियो ग्रान्डे नदी पार गर्ने प्रयासमा आइतबार डुबेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ का अनुसार र्‍यामिरेज पत्नी र छोरीसँगै केही महिनाअघि एल स्लभाडोरबाट भागेका थिए । आइतबार दिउँसो परिवारसँगै मेक्सिको हुँदै अमेरिका जाने क्रममा जोखिमपूर्ण सीमा पार गर्ने निर्णय गर्न पुगेका थिए । त्यस क्रममा र्‍यामिरेजले छोरीलाई पिठ्युँमा बोकेका थिए ।


आफ्नो टि–सर्टभित्र छोरीलाई सुरक्षित हुन अनुहार छोप्न भनेका हुन सक्छन्, तर नदीको तीव्र वेगमा दुवै बगे । सँगै र्‍यामिरेजकी पत्नी २१ वर्षीया टानिया भ्यानेस्सा एभालोज पनि नदी पार गर्ने प्रयास गरेकी थिइन् । तर पानीको बेगले नदी छेउमा पुर्‍याएपछि उनी बाँचेकी हुन् । आफ्नै आँखा अगाडि पति र छोरीको ज्यान गएको पीडादायक दृश्य हेर्नुबाहेक उनीसँग कुनै विकल्प थिएन । चिच्चाइन्, कराइन् तर आफ्नो जीवनसाथी र मुटुको टुक्रा (छोरी) लाई उनी बचाउन सकिनन् ।


र्‍यामिरेजको परिवार मेक्सिकोमा अमेरिकातर्फ बसाइँसराइका लागि हुने अन्तर्वाताको प्रतीक्षारत थियो । एल सल्भाडोरबाट भागेर मेक्सिको आउनुको उनीहरूको एउटै उद्देश्य थियो, अमेरिका प्रवेश । मेक्सिकोको बसाइ लम्बिँदै गएपछि यो परिवारले गैरकानुनी बाटो भएरै अमेरिका छिर्ने प्रयास गर्दा यो दुःखद घटना हुन पुगेको हो । खोजी र उद्धार गर्न गएका अमेरिकी अधिकारीसँग एभालोजले आफूहरू दुई महिनादेखि मेक्सिकोमा बसेको र अमेरिकामा शरणार्थी बन्न खोजेको बताएकी छन् ।


मेक्सिकोमा हुँदा परिवारले ह्युम्यानिटेरियन भिसाका लागि निवेदन दिएका थिए । तर बीचमै मन बलियो, बस चढेर अमेरिकी सीमा नजिक पुगेका थिए । बसबाट ओर्लिनासाथ आइतबार र्‍यामिरेजले रियो ग्रान्डेमाथि बनेको पुल चढेर शरणार्थीका लागि निवदेन दिन गएका थिए । बिदा परेकाले अमेरिकी अध्यागमन कार्यालय बन्द रहेकाले आफूहरू निराश हुँदै मेक्सिकोतिर फर्केको एभालोजले बताइन् ।


मेक्सिकोको सीमामा उनीहरूजस्तै शरणार्थी बन्न चाहने कैयौं मानिस थिए । केही महिनाअघिसम्म १८ सय मानिस शरणार्थीको अन्तरवार्ता दिन कुरिरहेका थिए । ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान सुरू गरेकाले यो परिवारलाई कुरेर शरणार्थी भिसा पाइने आशा कमै थियो । अमेरिकी अध्यागमन अधिकारीले सातामा तीन दिनमात्र शरणार्थी बन्न चाहनेको अन्तरवार्ता लिने गरेको छ । अन्तरवार्ता दिने पालो पाउन महिनौं कुर्नुपर्छ ।


मेक्सिकोको ‘ला जर्नाडा’ अखबारका पत्रकार जुलिया लि डुसले मृतक बुबाछोरीको यो तस्बिर खिचेर सार्वजनिक गरेकी हुन् । यो तस्बिरले ३ वर्षीया बालक एल्यान कुर्डीको स्मरण गराएको छ । कुर्डीको शव टर्कीको सामुद्रिक तट नजिकै भेट्टिएको थियो । तस्बिरले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवलम्बन गरेको आप्रवासी नीतिमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।


तस्बिरले आप्रवासीसम्बन्धी नीतिलाई पुनः बहसमा ल्याएको छ । केही महिनादेखि अधिकारीकर्मीले मेक्सिकोको सीमा पार गरेर अमेरिका जाने आप्रवासीको जीवन जोखिममा रहेको बताउँदै आएका छन् । कडा अमेरिका नीतिका कारण जोखिमपूर्ण स्थानबाट मानिसहरू प्रवेश गर्न खोज्दा ज्यान जाने गरेको उनीहरूको भनाइ छ ।


युवा बुबा र छोरीको पानीमा घोप्टो परेको तस्बिरले भने सल्भाडोर र मेक्सिकोमा आक्रोश भड्काएको छ । मार्टिनेज र भ्यालेरियाको ज्यान गएको समाचार सार्वजनिक भएलगत्तै एल साल्भाडोरका विदेशमन्त्री अलेक्सान्द्रा हिलले आफ्ना नागरिकलाई देशमा बस्न र रोजगार सिर्जना गर्ने कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले स्वदेशमै रोजगारी सिर्जना गर्न सके जोखिमपूर्ण यात्रा गरेर अमेरिका छिर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएको समाचारमा उल्लेख छ ।

प्रकाशित : असार १२, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?