कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मोइत्राले तताइन् संसद

भारतीय लोकसभामा पहिलोपटक निर्वाचित ४४ वर्षीया बंगाली सांसदले दिइन् मोदीलाई चुनौती 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा हालै सम्पन्न लोकसभा चुनावमा पश्चिम बंगालबाट निर्वाचित सांसद महुआ मोइत्रा बुधबार एकाएक चर्चित बनिन् । लोकसभामा नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध चर्को आलोचना गरेपछि राष्ट्रिय तृणमूल कंग्रेस (एआईटीएमसी) की सांसद मोइत्रा भारतीय सञ्चार– माध्यममा छाइन् ।

मोइत्राले तताइन् संसद

एक साताअघि राष्ट्रपति रामनाथ कोविन्दले लोकसभामा पेस गरेको सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा मोइत्राले मोदी सरकारमाथि फाँसीवाद लाद्न खोजेको आरोप लगाइकी थिइन् । मोइत्राले त्यसको प्रारम्भिक संकेतसमेत देखिएका दाबी गरिन् ।


संसद्मा विशेष समय लिएर बोल्दै पश्चिम बंगालको कृष्णनगरबाट निर्वाचित सांसद मोइत्राले लोकसभामा अन्धो राष्ट्रवाद, बढ्दो भिडबाट हुने हत्या (मब लिन्चिङ) का घटना, निर्वाचन आयोगमाथिको सरकारको प्रभाव, अल्पसंख्यकमाथि बढ्दो पूर्वाग्रह, बौद्धिक वर्गप्रतिको उपेक्षा लगायतका घटनालाई फाँसीवादका पूर्वसंकेतका रूपमा उल्लेख गरेकी हुन् ।


हाललै सम्पन्न १७ औं लोकसभा चुनावमा व्यहोरेको लज्जास्पद हारले विपक्षी निम्छरो देखिएका बेला मोइत्राको बुधबारको प्रस्तुति शब्द चयन र शैली दुवैका हिसाबले आकर्षक थियो । चुनावमा भारी बहुमत हासिल गरेर दोस्रो कार्यकाल सुरु गरेको मोदी सरकारका लागि पहिलोपटक लोकसभामा पाइला टेकेकी मोइत्राको भाषण अनपेक्षित थियो ।


केहीले त उनलाई भारतीय राजनीतिको ‘नयाँ स्टार’ को उपमासमेत दिएका छन् । पत्रकार राजदीप सरदेसाईले ट्वीट गर्दै भनेका छन्, ‘लोकसभामा एउटा स्टारको जन्म भएको छ । पहिलो पटक विपक्षी सासंदले आफ्नो पहिलो भाषणमै पूरै सभाको केन्द्र हरेकी छन्,’ सरदेसाईले मोइत्राको भाषणमाथि टिप्पणी गर्दै लेखेका छन् ।


मोइत्राले नेसनल रजिस्ट्रेसन अफ सिटिजनसिप (एनआरसी) प्रति लक्षित गर्दै उनले विगत ५ वर्षमा भाजपा सरकारले देशलाई अँध्यारोमा धकेलेको आरोप लगाइन् । मन्त्रीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र देखाउन नसक्ने देशमा दशकौंदेखि भारतमा बस्दै आएका गरिब नागरिकलाई गाउँघरबाट बेदेखल गरेर आफूलाई भारतीय प्रमाणित गर्न एउटा कागजको टुक्रा देखाउनुपर्ने परिस्थिति निर्माण गरिएको आरोपसमेत उनले लगाइन् ।


त्यसैगरी उनले विगत पाँच वर्षमा द्वेषपूर्ण अपराधमा दस गुणाले वृद्धि भएको पनि आरोप लगाइन् । उनले यस्तो आरोप लगाइरहँदा सत्तापक्षीय सांसदहरूले विरोधसमेत जनाएका थिए । तर, उनी यत्तिमै रोकिइनन् । उल्टो सभामुखलाई सदनको मर्यादा कायम गराउन आग्रहसमेत गरिन् ।


उनको प्रहार सञ्चारमाध्यममा बढ्दो सरकारी निगरानीप्रति पनि लक्षित थियो । उनले न्युज च्यानलहरू सत्ताधारी दलको प्रोपागान्डा प्रसारमाध्यममा सीमित भएको दाबी गरिन् । सत्ताधारी दललले प्रत्येक टीभी च्यानलमा गरेको खर्चको खुलासा गर्न उनले सरकारलाई विज्ञापनमा भएको खर्चको विवरण सार्वजनिक गर्न चुनौती दिइन् ।


मोइत्राले केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले १ सय २० जनाभन्दा बढी कर्मचारी सञ्चारमाध्यममा आउने सरकारविरोधी समाचारको अनुगमन र नियन्त्रणका लागि खटाइएको समेत दाबी गरिन् । त्यसैगरी यसपटकको चुनाव किसान र रोजगारीको

मुद्दामा नभएर हृवाटसएप र फेक न्युजका माध्यमले लडिएको समेत उनले दाबी गरिन् ।


मोइत्राले भाजपाको राष्ट्रियता नक्कली भएको समेत आरोप लगाइन् । विगत केही वर्षदेखि राष्ट्रिय सुरक्षाको बहानामा आफूहरूलाई बच्चा हुँदामा डराउन दिने गरेजस्तै कालो भूतको जस्तो त्रास देखाएको समेत उनले जिकिर गरिन् । उनले प्रधानमन्त्री मोदीतर्फ संकेत गर्दै एउटा व्यक्तिले पूरै सेनाको उपलब्धिलाई हरण गरेको समेत आरोप लगाइन् ।


तर, त्यसका बाबजुद आतंकवादी हमला बढेको र कश्मीरमा सैनिक जवानहरूको मृत्युका घटना १०६ प्रतिशतले वृद्धि भएको समेत उनले दाबी गरिन् ।


त्यसैगरी, उनले भारतको इतिहासमै पहिलोपटक सरकार र धर्म अहिलेको जस्तो नगाँसिएको समेत दाबी गरिन् । ‘सांसदहरूलाई रामजन्मभूमिको पूरै देशको ८० करोड एकड भूभागको चिन्ता नभएर रामजन्मभूमिको २.७७ एकडको मात्र चिन्ता छ,’ उनले भनिन् ।

४४ वर्षीय मोइत्राले बौद्धिक वर्ग र कलालाई तिरस्कार गर्नु पनि फाँसीवादको प्रारम्भिक संकेतका रूपमा अर्थ्याइन् । असहमतिका स्वरहररूलाई दबाइएको छ । उदार शिक्षाका लागि दिइने अनुदानहरूमा कटौती गरिएको छ । भारतलाई युगौं पछाडि धकेल्ने प्रयास भइरहेको छ । आफूअनुकूल दीक्षित गर्न विद्यालयका पाठ्यक्रमलाई तोडमरोड र बंग्याइएका छन् ।


प्रश्नहरूसमेत सामना गर्ने आँट छैन । चुनावी प्रणालीको निष्पक्षतामा आएको ह्रास र निर्वाचन आयोगको भूमिकामाथि बढ्दो अविश्वासलाई पनि उनले मुलुकमा उदाउँदो फाँसीवादको पूर्वसंकेतका रूपमा लिनुपर्ने जिकिर गरिन् । आफूले प्रस्तुत गरेका फाँसीवादका संकेतहरूलाई सन् २०१७ मा अमेरिकाको होलकास्ट मेमोरोयल म्युजियमको मुख्य हलमा टाँसिएको एउटा पोस्टरमा फाँसीवादका प्रारम्भिक संकेतका रूपमा उल्लेख गरिएको समेत उनले दाबी गरिन् ।


लोकसभामा दमदार भाषण दिएर भारतीय राजनीतिको चर्चाको पात्र बन्न पुगेकी मोइत्राले आफ्नो राजनीतिक करिअरको सुरुआत भने सन् २००८ मा भारतीय राष्ट्रिय कांग्रेसबाट गरेकी थिइन् । हाल पार्टीकी प्रवक्तासमेत रहेकी मोइत्रा राजनीतिमा प्रवेश गर्नुअघि बहुराष्ट्रिय कम्पनीमा इन्भेस्टमेन्ट बैंकरका रूपमा कार्यरत थिइन् ।


तर, त्यसको दुई वर्षपछि उनले टीएमसीमा प्रवेश गरिन् । त्यसपछि भने उनको राजनीतिक जीवनले गति लियो । सन् २०१६ को पश्चिम बंगालको विधानसभा चुनावमा करिमपुर सिटबाट जित हात पारिन् । हालै सम्पन्न लोकसभा चुनावमा जित हात पर्दै उनले दिल्लीको यात्रा तय गरेकी हुन् । बुधबारको भाषणले मोइत्रालाई एकाएक ‘स्टार’ त बनाएको छ तर दिल्लीको दाउपेच र घम्साघम्सीपूर्ण राजनीतिमा उनले आफूलाई कसरी स्थापित गर्छिन् त्यो भविष्यले नै बताउला ।

प्रकाशित : असार १३, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?