अस्ट्रेलियामा फ्लुका कारण २ सय २० भन्दा बढीको मृत्यु

नारायण खड्का

अस्ट्रेलिया — यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भएको छ । १ लाख बढी व्यक्तिहरु संक्रमित बनेका छन् ।
अस्ट्रेलियाका सबै राज्यहरुमा अहिलेसम्म २ सय २८ जनाले फ्लुका कारण ज्यान गुमाइसकेका छन् भने यो संख्या अझ बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।

अस्ट्रेलियामा फ्लुका कारण २ सय २० भन्दा बढीको मृत्यु

मृत्यु हुनेहरुको संख्या गत वर्षको भन्दा धेरै रहेको र हरेक साता यो संख्या बढिरहेको राज्य तथा टेरिटोरीका सरकारले सार्वजनिक तथ्यांकमा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्ट्रेलिया फ्लुका कारण हरेक वर्ष पीडित हुदैँ आएको छ ।


सिड्नी राजधानी रहेको न्यु साउथ वेल्स राज्यमा मात्र ५७ जनाले फ्लुकै कारण ज्यान गुमाइसकेका छन् । अस्ट्रेलियामा रहेका ६ राज्यहरु तथा दुइ वटा टेरिटोरीमा यस वर्ष अहिलेसम्मकै फ्लुको प्रकोप फैलिएको बताइएको छ । तथ्यांकअनुसार जनसंख्याको आधारमा पहिलो ठूलो राज्य न्यु साउथ वेल्समा अहिलेसम्म ५७ जनाले फ्लुकै कारण ज्यान गुमाइसकेका छन् भने करिब २७ हजार यसबाट पीडित छन् ।


यसैगरी फ्लुकै कारण भिक्टोरियामा ४८ जनाको मृत्यु भइसकेको छ भने २२ हजार बढी पीडित बनेका छन् । दक्षिण अस्ट्रेलियामा अहिलेसम्म ४४ जनाले फ्लुका कारण ज्यान गुमाएका छन् भने क्युन्सल्यान्डमा ३८ र पश्चिम अस्ट्रेलियामा ३६ जनाको मृत्यु भएको छ । फ्लुका कारण दक्षिण अस्ट्रेलिया र क्युन्सल्यान्डमा १८ हजार ५ सय बढी सर्वसाधारण पीडित छन् ।


‘मुख्य गरेर वृद्धवृद्धाहरु पीडित बनेका छन् भने यसबाट बच्नका लागि भ्याक्सिन अत्यन्तै उपयोगी हुने गरेको छ’ न्यु साउथ वेल्सकी स्वास्थ्य निर्देशक डा. भिक्की सेफर्डले भनेकी छिन् । उनले एक सातामा मात्र फ्लुको कारण विभिन्न १२ समस्या देखिएको बताइन् । अस्ट्रेलियामा फ्लुका कारण देखिने समस्याबाट गत वर्षहरुभन्दा धेरै संख्यामा बिरामी अस्पतालको आपतकालीन सेवामा भर्ना भएका छन् ।


भिक्टोरियाका कार्यकारी स्वास्थ्य अधिकृत एन्जी बोनले फ्लुबाट बच्नका लागि आवश्यक सामान्य सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेकी छिन् । यहाँका स्वास्थ्य अधिकारीहरुले इन्फ्लुएन्जा अन्य सामान्य चिसोबाट हुने रुघाखोकीभन्दा फरक रहेको र यो घातक हुने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।


अस्ट्रेलियन मेडिकल एसोसिएसन काउन्सिलका अध्यक्ष डा. रिर्चाड किडले फ्लुका विरुद्ध भ्याक्सिन लगाउने समय रहेको बताए । उनले आउँदो दुई महिना फ्लुको लागि उत्कर्ष समय रहेका भन्दै सर्वसाधारणलाई सचेत गराएकी छन् ।

प्रकाशित : असार १३, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?