१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्ट्रेलियामा न्यूनतम तलब बढ्यो

सामान्य कामदारलाई घण्टाको १९ दशमलव ४९ डलर 
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले कामदारहरुलाई दिने न्यूनतम तलबमा वृद्धि गरेको छ । वृद्धि भएको तलब अनुसार अबदेखि अस्ट्रेलियामा फूल टाईम (साताको ३८ घण्टा) काम गर्ने जोकोहीले ७ सय ४० दशमलव ८० डलर (करिब ६० हजार रुपैयाँ) पाउने भएका छन् । जुन गतवर्षको भन्दा ३ प्रतिशतले बढी हो । 

अस्ट्रेलियामा न्यूनतम तलब बढ्यो

कामदारको हकहितमा क्रियाशिल सरकारी निकाय ‘फेयर वर्क कमिसन’ ले जुलाईदेखि लागू हुने गरी न्यूनतम तलबमा वृद्धिको निर्णय गरेको हो । नयाँ तलबमानअनुसार अस्ट्रेलियामा काम गर्ने कामदारहरूले प्रतिघण्टा १९ दशमलव ४९ डलर अर्थात (करिब १ हजार ५ सय ५० रुपैयाँ) पाउनेछन् ।


स्थानीय सञ्चारमाध्यमले न्यूनतम तलबमा गरिएको वृद्धिसँगै सबैभन्दा बढी न्यूनतम तलब प्रदान गर्ने देश अस्ट्रेलिया बनेको छ । अस्ट्रेलियाको काउन्सिल अफ ट्रेड युनियनले ६ प्रतिशत तलब वृद्धि हुनुपर्ने आवाज उठाइरहेको भएपनि सरकारले ३ प्रतिशत वृद्धि गरेको हो ।


तलब वृद्धिले करिब २२ लाख कामदार प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ । अस्ट्रेलियाले गतवर्ष सातामा फूल टाईम अर्थात् ३८ घण्टा काममा खटिनेलाई प्रतिघण्टा १८ दशमलव ९३ डलर प्रतिघण्टा तलब दिदै आएको थियो । जुन साताको ७ सय १९ दशमलव २० डलर थियो । सामान्यतयाः हरेक वर्ष न्यूनतम तलबमा वृद्धि गर्दै आएको अस्ट्रेलिया सरकारले यसवर्ष समेत बिभिन्न निकायहरुसँगको छलफलमा न्यूनतम तलबमा वृद्धि गरेको हो । अस्ट्रेलियाले आफ्नो करको नियम अनुसार आफ्ना नागरिकहरुबाट निजी आम्दानीमा कर समेत लगाउँदै आएको छ ।


अर्कोतिर अस्ट्रेलियाले विभिन्न क्षेत्रहरुमा विकेण्ड (शनिबार र आइतबार) काम गर्ने कर्मचारीलाई दिँदै आएको अतिरिक्त तलबको सुविधामा भने केही कटौती गरेको छ । अस्ट्रेलियामा काम गर्ने कामदारले विकेण्डमा काम गरेबापत शनिबारको अतिरिक्त ५० र आइतबार ९० प्रतिशतसम्म प्रतिघण्टाको दरले तलब पाउने गरेका छन् । तर सोमबारदेखि लागू नियमानुसार रिटेल, फार्मेसी, फास्टफूड र हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरुको विकेण्ड दरमा ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म प्रतिघण्टाको अतिरिक्त तलब कटौती गरेको हो ।


पछिल्लो समयमा आर्थिक रुपले सबल बन्दै गरेको अस्ट्रेलिया कामका लागि पनि विश्वको उत्कृष्ट मध्येको देश मानिन्छ । यहाँ विशेष गरेर दक्ष विदेशी नागरिकलाई पनि विभिन्न अवसर प्रदान गरिन्छ । खासगरी अस्ट्रेलियाका दुर्गम भेकमा कामदारहरूको अभाव रहेको गुनासो आएपछि सरकारले आप्रवासी नीति परिवर्तन गर्दै दुर्गममा बस्न चाहने विद्यार्थी तथा कामदारलाई प्राथमिकता दिदै आएको छ ।

प्रकाशित : असार १६, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?