कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुम्बईमा भारी वर्षा, २४ को मृत्यु

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — दुई दिनदेखिको अविरल वर्षाले भारतको मुम्बई जलमग्न भएको छ । वर्षाका कारण २४ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । लगातारको वर्षाका कारण मुम्बईका करिब १ करोड ८० लाख मानिसकको दैनिकी कष्टकर बनेको छ ।

मुम्बईमा भारी वर्षा, २४ को मृत्यु

अविरल वर्षा तथा बाढीका कारण मुम्बईको मलाडमा मंगलबार बिहान एक पर्खाल भत्किँदा २१ को ज्यान गएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुईजनाको डुबेर तथा एक सुरक्षाकर्मीको पर्खालले पुरिएर मृत्यु भएको हो ।


त्यसैगरी, कल्याणस्थित एक विद्यालय भवन ढल्दा ३ जनाको मृत्यु भएको प्रहरीले मुम्बई जनाएको छ । त्यसैगरी महाराष्ट्रकै अर्को सहर पुणेमा मंगलबार बिहान करिब एक बजे एक पर्खाल भत्किँदा ६ जनाको मजदुरको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


मुम्बईबाट प्रकाशित हुने नेपालन्युज पत्रिकाका सम्पादक प्रकाश पौडेलले ‘अत्यधिक वर्षाका कारण जनजीवन निकै कष्टकर बनेको’ जनाए । ‘विगत दुई दिनदेखिको वर्षाले पूरै सहर अस्तव्यस्त भएको छ, व्यापार व्यवसायदेखि सार्वजनिक यातायातसम्म ठप्प छ,’ पौडेलले भने ।


पछिल्लो २४ घण्टामा मुम्बईमा ५५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । जुन पछिल्लो विगत ४५ वर्षकै बढी भएको बताइएको छ । सोमबार मात्र ३७५ मिलिमिटर वर्षा भएको थियो । जल तथा मौसम पूर्वानुमान विभागले बिहीबारसम्म अत्यधिक वर्षा हुने चेतावनी दिएको छ । वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न छन् भने सार्वजनिक यातायात अस्तव्यस्त भएको छ । रेल ट्र्याक, सडक र सब–वेहरू जलमग्न छन् । रेललगायत सार्वजनिक यातायात बन्द छन् । जसका कारण मानिसको दैनिकी थप कष्टकर बनेको छ । सार्वजनिक यातायात अवरुद्ध भएका कारण कर्मचारीलाई कार्यालय आउन अप्ठ्यारो भएको भन्दै कतिपय कम्पनीले बिदा दिएका छन् भने कतिपयले कार्यालय समय छोट्याएका छन् ।


रेललगायतका सार्वजनिक यातायात अवरुद्ध हुँदा सर्वसाधारणलाई आवातजावत गर्न निकै कठिनाइ भएको छ । माग बढी भएकाले ट्याक्सीको भाडादरमा अस्वाभाविक वृद्धि भएको छ । युबर र ओलालगायतका निजी ट्याक्सी प्रदायक कम्पनीको भाडा अत्यधिक वृद्धि भएको भन्दै सामाजिक सञ्जालमा विरोधसमेत सुरू भएको छ । जनजीवन कष्टकर बनेपछि महाराष्ट्र सरकारले मंगलबार सार्वजनिक बिदा दिएको थियो ।


अत्यधिक वर्षाका कारण हवाई सेवासमेत प्रभावित भएको छ । छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य धावन मार्ग जलमग्न हुँदा सोमबार राति करिब पाँच दर्जन उडानलाई बैंग्लोरलगायतका सहरतर्फ डाइभर्ट गरिएको थियो । साथै स्पाइस जेटको जहाज सोमबार राति करिब साढे ११ बजे मुख्य धावनमार्गमा अवतरण गर्ने क्रममा ओभर सुट भएका कारण पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन कम्तीमा दुई दिन लाग्ने बताइएको छ । वातावरणविद्हरूले मुम्बई बर्सेनि जलमग्न हुनुमा नदी र नालाहरूमा बढ्दो अतिक्रमणलाई प्रमुख कारण भनेका छन् । विशेषगरी मुम्बईको मध्यभाग भएर बग्ने मिठीलगायतका नदीहरू प्राकृतिक बहाव अवरुद्ध गरिएका कारणले यो परिस्थति सिर्जना भएको उनीरुको कथन छ । विभिन्न अध्ययनले मिठीलगायतका मुम्बई सहर भएर बग्ने पानीका प्राकृतिक स्रोतहरूको ५० प्रतिशत भाग अतिक्रमणमा परेको देखाएका छन् । त्यसमाथि जीर्ण ढल संरचना त छँदै छ ।


यिनै कारणले मुम्बईले प्रत्येक वर्ष मनसुन सुरु हुनासाथ डुबानको अवस्था अवस्था भोग्दै आएको छ । सन् २००५ मा अत्यधिक वर्षाका कारण साना नदी र नालाको पानीको तह बढेर आएको बाढीले ५०० जनाभन्दा बढीको ज्यान गएको थियो । सन् २०१७ पनि करिब त्यस्तै अवस्था दोहोरियो । उक्त वर्ष २५ जनाको मृत्यु भएको थियो ।


यसैबीच, वर्षाका कारण पूरै सहर जलमग्न भएर जनजीवन अस्तव्यस्त भएपछि विगत दुई दशकदेखि बृहतमुम्बई नगर निगममा नेतृत्व आएको शिव सेनाको सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । शिव सेनामाथि २००५ को घटनापछि गठित समितिको प्रतिवेदन कार्यान्वयनमा बेबास्ता गरेको आरोप लगाइएको छ । समितिले बाढीको जोखिम युक्त क्षेत्रको नक्सांकन गर्न र विपद् व्यवस्थापनसम्बन्धी निर्देशिकाहरू पालना गर्नुपर्नेलगायतका सुझाव दिएको थियो । तर, ती सुझावलाई बेबास्ता गरिएका भन्दै शिव सेना र महाराष्ट्र सरकारको आलोचना गरिएको छ ।


प्रकाशित : असार १७, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?