३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'अमेरिकी व्यवहार शत्रुतापूर्ण'

एजेन्सी

सोल — उत्तर कोरियाले अमेरिकालाई ‘शत्रुतापूर्ण व्यवहारमा दृढ’ रहेको आरोप लगाएको छ । दुई देशबीचको परमाणु वार्ता सुचारु गर्ने सहमति भएको केही दिनमै प्योङयाङको यस्तो भनाइ आएको हो ।

'अमेरिकी व्यवहार शत्रुतापूर्ण'

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले आफ्नो देशविरुद्ध लगाइएका ‘प्रतिबन्धप्रति अमेरिकाको आशक्ति उस्तै रहेको’ बताएको थियो । गत आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग दुई कोरियाली सीमामा भेटेका थिए ।

गैरसैनिक क्षेत्रमा भएको दुई नेताको भेट करिब एक घण्टा चलेको थियो । उक्त अवसरमा दुवै नेताहरूले कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने कार्यका लागि अवरुद्ध वार्ता सुचारु गर्ने सहमति गरेका थिए । तर उत्तर कोरियाको पछिल्लो वक्तव्यले उत्तर कोरिया आफ्नाविरुद्ध लगाइएका नाकाबन्दी नहटेसम्म परमाणु वार्ता सुचारु नहुने पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ । बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रशोधित पेट्रोलियम पदार्थ निर्यात गर्ने पाउने सन् २०१७ को सम्झौता तोडेको अमेरिकी आरोपको जवाफ दिइएको हो ।’

उत्तर कोरियाका अनुसार उसले आफ्नो देशविरुद्ध थप प्रतिबन्ध लगाउन आग्रह गर्दै अमेरिका, फ्रान्स, जर्मनी र बेलायतले संयुक्त रूपमा राष्ट्रसंघ सदस्य राष्ट्रलाई लेखेको पत्रको समेत जवाफ हो । ती देशले उक्त पत्रमार्फत उत्तर कोरियाली श्रमिकलाई स्वदेश फिर्ता पठाउन आग्रहसमेत गरेका थिए ।

ट्रम्प र किमबीच तीन पटकसम्म भेटवार्ता भइसकेको छ । गत आइतबारको भेटबाहेक दुई नेताबीच सन् २०१८ को जुनमा सिंगापुर तथा गत फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा बैठक भएको थियो । सिंगापुर बैठकमा दुई नेताबीच ‘उत्तर कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने’ सहमति भए पनि हनोई वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । त्यसलगत्तै ट्रम्प र किमबीचको सम्बन्ध केही चिसिएको थियो ।

हनोई सम्मेलनका क्रममा उत्तर कोरियाले आफूविरुद्धका प्रतिबन्ध हटाउन माग गरे पनि अमेरिकाले परमाणु हतियार नष्ट नगरेसम्म प्रतिबन्ध नहट्ने जनाएपछि दुई देशको वार्ता अवरुद्ध छ । हनोई वार्ता विफल भएसँगै उत्तरले छोटो दूरीका केही क्षेप्यास्त्रसमेत परीक्षण गरिसकेको छ । तर गतसाता ट्रम्पले आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा किमसँग दुई मिनेट भेट्न चाहेको टीट गरेपछि दुई नेताबीच आइतबार भेट भएको हो ।

प्रकाशित : असार २०, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?