३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बेलायतमा अपराधको स्तर भयावह 

नवीन पोखरेल

लन्डन — दक्षिण पश्चिम लन्डनको ब्याटरसीमा गतसाता दिउँसै एक ४० वर्षीय पुरुषमाथि चक्कु प्रहार गरियो । स्कटल्यान्ड यार्डका अनुसार आक्रमणपछि अस्पताल लागिएका उनलाई चिकित्सकले बचाउन सकेनन् । पाँच दिनको अवधिमा लन्डनमा छुरा प्रहारबाट मारिने उनी छैटौं व्यक्ति हुन् ।

बेलायतमा अपराधको स्तर भयावह 

गत शनिबार लन्डनवासीले अर्को एउटा हृदयविदारक घट्ना देखे । दक्षिण लन्डनमा ८ महिनाकी एक सुत्केरी महिलालाई चक्कु हानेर मारियो । प्यारा मेडिक्सले दिवंगत २६ वर्षीया केली म्यारी फेभरेलको पेटबाट निकालेको शिशुको पनि बुधबार मृत्यु भयो ।


रेगी म्युजिसियन ५४ वर्षीय इयान टेलर पनि शनिबार नै चक्कु आक्रमणको सिकार भए । ब्रिक्सटन कोल्ड हार्वर लेनमा उनी मारिएका हुन् । त्यसैगरी, वाटफोर्ड फुटबल क्लब नजिक छुरा प्रहारबाटै गम्भीर घाइते ३ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये एक महिला छिन् ।


लन्डनमा हत्याको एकपछि अर्को शृंखला बढिरहँदा सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठेको छ । कतिपय राजनीतिज्ञ र सुरक्षा प्रमुखले सरकारको आलोचना गरेका छन् । लन्डन मेट्रोपोलिटन प्रहरी प्रमुख क्रेसिडा डिकले बेलायतमा अपराधको स्तर निकै भयावह रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।


डेलीमेल समाचारपत्रका अनुसार बेलायतभरिकै प्रहरी बलले आपराधिक घटनामध्ये आधाको अनुसन्धान गर्न पनि संघर्ष गरिरहेको बताइन् । उनले देशको फौजदारी न्याय प्रणालीबारे पनि चिन्ता व्यक्त गरिन् । प्रहरी बलले कुन आपराधिक घटनालाई महत्त्व दिने भनेर निर्णय गर्ने गरेको उनले जनाइन् ।


बेलायत सरकारले सार्वजनिक गरेको तथ्यांकले इंग्ल्यान्ड र वेल्समा गम्भीर अपराधहरूको छानबिन गर्ने प्रहरीको संख्या ८/९ वर्षको अवधिमा २८ प्रतिशतले घटेको देखाउँदै गर्दा लन्डन प्रहरी प्रमुखको उक्त प्रतिक्रिया सार्वजनिक भएको हो ।


सरकारी आँकडाअनुसार सन् २०१९ मा ६७ जनाको हत्या भइसकेको छ । गत वर्ष इंग्ल्यान्ड र वेल्समा मरिनेको संख्या ७० वर्षको इतिहासमा बढी थियो । गतवर्ष इंग्ल्यान्ड र वेल्समा २ सय ८५ जनाको हत्या गरिएको थियो ।

लन्डन मेयर सादिक खानका प्रवक्ताले मेयरको उच्च प्राथमिकता हिंसात्मक अपराधसँग जुध्ने रहेको दाबी गर्छन् । मेट पुलिस र ‘भाइलेन्ट क्राइम टास्क फोर्स’ का ३ सय अधिकारी अपराध नियन्त्रणका लागि खटाइएको उनले सञ्चारकर्मीसँग भनेका छन् । यद्यपि, आवश्यकताअनुसार प्रहरीको संख्यामा कमी रहेकाले अपराध बढेको जनाइएको छ ।


कन्जरभेटिभ दल सरकारमा आएपछि सन् २०१० यता कम्तीमा २२ हजार प्रहरीको दरबन्दी कटौती गरिसकिएको छ । गृहमन्त्री साजिद जाविदले पनि प्रहरीको संख्या अपुग रहेको स्विकारेका छन् ।


बेलायतको नेपाली समुदाय भने चक्कु प्रहारमा संलग्न वा पीडित भएका खबर हालसम्म नआएका लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । अन्य अपराधमा संलग्न ७ नेपाली भने हाल बेलायती जेलमा छन् ।

प्रकाशित : असार २१, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?