भारतमा विश्वास गुमाउँदै नेपाली कामदार

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — नयाँदिल्लीको विकासपुरीमा घरेलु सहयोगीका रूपमा काम गर्ने एक नेपाली युवक बेपत्ता भए । जुन ६ मा काम पाएका ती युवकले घरमूलीलाई बाँधेर मुखमा कपास कोचे अनि पत्नीलाई धम्काएर नगद र गहना लुटे । घटनापछि उनी फरार छन् । अनुसन्धानमा जुटेको प्रहरीका अनुसार युवकका एक नेपाली साथी पनि घटनापछि सर्म्पकविहीन छन् । 

जुन ९ मा नयाँदिल्लीको अशोक बिहारमा पनि यस्तै प्रकृतिको घटना दोहोरियो । विवेक अग्रवाल घरमा वृद्ध सासूससुरालाई छाडेर श्रीमती र छोराछोरीसहित गर्मी बिदा मनाउन स्पेन हिँडेका थिए । त्यही मौकामा घरेलु सहयोगी एक नेपाली महिला र युवकले वृद्धलाई बाँधे र एक करोड भारु बराबरको गहना र नगद लुटेर बेपत्ता भए । फरार महिलाले काम सुरु गरेको १० दिन मात्रै भएको थियो ।


दिल्लीबाहिरका सहरहरूमा पनि नेपाली कामदारले विश्वास गुमाउँदै गएका छन् । त्यसको एउटै कारण हो, कामदारका रूपमा बसेकाहरू नै चोरी र डकैतीमा संग्लन भएका घटनाहरू बाहिर आउनु । जुन २ मा उत्तरखण्डको पिथौरागढका गणेशचन्द पुनेराको पसलमा चोरी भयो । त्यही दिनदेखि पसलमा काम गर्ने नेपाली युवक सम्पर्कविहीन छन् । पसलमा ८ लाख नगद चोरी भएको र त्यसमा नेपाली युवकको संलग्नता रहेको भन्दै पुनेराले किटानी जाहेरी दिएका छन् ।


मे ५ मा बैंगलोरको हेन्नुरका नागराज रेड्डी र उनको परिवार २ दिनको तीर्थाटनबाट फर्किँदा घरको पछाडिपट्टिको ढोका फोडिएको थियो । भित्र हेर्दा घरमा भएका करिब एक करोडभन्दा बढी मूल्य पर्ने गरगहनालगायत नगद चोरी भएको थियो । रेड्डीकहाँ घरेलु कामदारका कार्यरत मनदेवी सिंह र उनका पति हेमन्त सिंह सम्पर्कबिहीन भएकाले प्रहरीले उनीहरूले नै चोरी गरेको आशंका गरेको छ । पन्जाबको लुधियानामा अप्रिल ५ मा एक घरमा पनि नेपाली कामदारले चोरी गरेको प्रहरी आशंका छ ।


भारतको राजधानी तथा अन्य सहरमा पछिल्लो समय नेपालीको संलग्नतमा भएका चोरी र लुटपाटका घटनाका शृंखला बढेको भन्दै प्रहरीले सतर्कता अपनाउन अपिल गरेको छ । नयाँदिल्ली प्रहरीले सार्वजनिक सूचना निकाल्दै घरेलु कामदार राख्दा विशेष सर्तकता अपनाउन अपिल गरेको हो ।


चोरी र लुटपाटमा नेपालीहरूको संलग्नताका घटनाले भारतीय सहरहरूमा वर्षौंदेखि नेपालीले कायम राखेको ‘इमानदार र भरोसायोग्य’ छविमाथि दाग लाग्ने हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ । पूर्वअखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खडकाले एक/दुई बेइमानले गर्दा बाँकी नेपालीप्रतिको विश्वास गुम्ने खतरा रहेको बताउँछन् ।


लुधियानाको घटनामा भने पहिलेदेखि बस्दै आएका नेपाली कामदारलाई विश्वासमा लिन नसकेपछि जबरजस्ती बेहोस हुने औषधि खुवाएर लुटपाट गरिएको थियो । अत्यधिक औषधि खुवाएका कारण आफू पाँच दिनपछि मात्र होसमा आएको प्रहरीसमक्ष दिएको बयानमा आरोपित कामदारले उल्लेख गरेका छन् । तिनकै बयान आधारमा कैलाली प्रहरीले गतसाता घटनामा संलग्न आरोपमा पाँच जनालाई पक्राउ गर्न सफल भएको हो ।


दिल्ली, लुधियाना र अन्य प्रमुख सहरहरूमा सुदूरपश्चिम र मध्यपश्चिम युवाहरूका लागि रोजगारीका प्रमुख गन्तव्यका रूपमा चिनिँदै आएका छन् । उनीहरूमध्ये अधिकांश रेस्टुराँ, सुरक्षा गार्ड, घरेलु कामदारलगायत पेसामा संलग्न रहेको पाइन्छ । पछिल्ला लुटपाटका घटनामा पनि यही भेगका युवाहरूको संलग्नता रहेको खुलेको छ । भौगोलिक रूपमा नजिक भएकाले लुटपाटपछि अभियुक्तहरू सिधै नेपाल जाने गरेको देखिन्छ । लुटपाट गरेर नेपाल छिर्नेहरूले पक्राउ परिने डरले चल्तीको नाका छल्ने गरेको देखिन्छ ।


चोरीका घटनाको अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरूका अनुसार चोरी गर्नेहरूले विभिन्न तह बनाएर चोरीको योजना फत्ते पारेको देखिन्छ । चोर्ने, सामान ओर्साने, रेकी गर्ने र त्यसलाई नेपाल कटाउने काममा विभिन्न समूहको सहभागिता भएको देखिन्छ । विकासपुरीको घटनामा त अभियुक्तहरूले चोरी गर्नु दुई दिनअघि मात्र डोटीको बुडरमा रहेका एउटा गहना पसलमा फोन गरेको खुलेको छ । एउटै चोरीको घटनामा अभियुक्त सीमा कटुन्जेलमा विभिन्न तहमा गरेर करिब ५० जनाको सहभागिता हुने देखिन्छ । सीमा कटेपछि भने लुटिएको गहना र नगद जेजति छन्, तिनीहरूबिच भागबण्डा गरिन्छ । गिरोहमा चोरीदेखि भागबण्डासम्मको सम्पूर्ण प्रक्रियालाई सांकेतिक शब्द ‘घोल काढ्ने’ भन्छन् । कैलाली प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले भने, ‘प्रारम्भिक अनुसन्धानमा स्थानीय गुण्डाहरूदेखि धेरैको चोरीमा संलग्नता हुने गरेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा यस्ता घटनामा एउटा गिरोह नै संलग्न रहेको देखिएको छ ।


केही पीडितहरूले नेपालमै पुगेर उजुरी गरे पनि धेरैजसोले भारतमै उजुरी दिने गरेका छन् । उजुरी गरिहाले पनि कानुन अभावमा दोषीलाई कारबाहीको दायरामा ल्याउन कठिन भएको प्रहरी अधिकारीको भनाइ छ । विदेशमा अपराध गरेर नेपाल जाँदा कानुन नलाग्ने भएकाले पनि यस्ता घटना बढीरहेका गिरीको अनुमान छ ।


प्रकाशित : असार २२, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?