कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिकाका लागि बेलायती राजदूत भन्छन् - ट्रम्प प्रशासन अक्षम र असुरक्षित

एजेन्सी

वासिङटन — अमेरिकाका लागि बेलायती राजदूतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ‘अक्षम, असुरक्षित र अयोग्य’ भएको बताएका इमेलहरू सार्वजनिक भएका छन् । सर किम डारोकले विदेश मन्त्रालयलाई लेखेका इमेलमा ट्रम्प नेतृत्वको ह्वाइटहाउस ‘अद्वितीय रूपमा बेकामे र विभाजित’ भएको दाबी गरेका छन् तर उनले अमेरिकी राष्ट्रपतिलाई बेवास्ता गर्न नहुने पनि चेतावनी दिएका छन् ।

अमेरिकाका लागि बेलायती राजदूत भन्छन् - ट्रम्प प्रशासन अक्षम र असुरक्षित

राजदूत डारोकले लेखेका इमेलहरू बेलायती अखबार मेलले सार्वजनिक गरेको हो । बेलायती विदेश मन्त्रालयले आइतबार ‘त्यसरी इमेल चुहाएर अखबारले बदमासीपूर्ण कार्य गरेको’ जनाएको छ । यद्यपि विदेश मन्त्रालयले राजदूतको भनाइ असत्य रहको दाबी गरेको छैन ।


अमेरिकी राष्ट्रपति कार्यालय तथा विदेश मन्त्रालयले भने हालसम्म बेलायती राजदूतका इमेलबारे केही प्रतिक्रिया जनाइसकेको छैन तर पछिल्लो घटनाले दुई देशबीचको विशेष सम्बन्धमा केही कटुता पैदा गर्न सक्ने ठानिएको छ ।


मेल अखबारले सार्वजनिक गरेका इमेलमा डारोकले ट्रम्प प्रशासन सक्षम हुने सम्भावनामा शंका व्यक्त गरेका छन् । डारोकले इमेलमा लेखेका छन्, ‘ट्रम्प प्रशासन बिस्तारै सामान्य, कम बेकामे, कम अप्रत्याशित, कम विभाजित र कम

अक्षम हुने हामीलाई कुनै विश्वास छैन ।’


डारोकले ‘गत जुनमा बेलायतको राजकीय भ्रमण गरेपछि ट्रम्प निकै खुसी भए पनि उनी अझै अमेरिका फस्ट नीतिको स्वार्थपूर्तिमा रहेको’ दाबी गरे । मेल अखबारद्वारा सार्वजनिक इमेलहरूमा अमेरिका र बेलायतबीच जलवायु परिवर्तन, प्रेस स्वतन्त्रता र मृत्युदण्डका विषयमा विवाद उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ ।


डारोकले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कुनै पनि विषयबारे प्रस्ट कुरा बुझाउन आफ्ना कुरा साधारण र सिधा तरिकाले राख्नुपर्ने सुझावसमेत दिएका छन् । डारोकले गत महिना लेखेको एक इमेलमा अमेरिकाको इरान नीति ‘अराजक’ भएको दाबीसमेत गरेका छन् । ‘१ सय ५० जनाको ज्यान जाने भएकाले १० मिनेटअगाडि इरानमाथि आक्रमण रोकेको’ ट्रम्पको भनाइ हावादारी भएको डारोकको भनाइ छ ।


बेलायतस्थित ब्रेक्जिट पार्टी प्रमुख निगेल फराजले ‘राजदूत डारोक पदका लागि पूर्ण रूपमा अयोग्य भएको’ भन्दै आलोचना गरेका छन् । न्यायमन्त्री डेभिड गुआकले ‘देशलाई इमानदार र पारदर्शी सल्लाह दिनु राजदूतका लागि निकै महत्त्वपूर्ण’ भएको बताएका छन् ।


डारोकले ह्वाइटहाउसमा विद्यमान विभाजन बारेका समाचारलाई स्पष्ट रूपमा सम्प्रेषण गरेको देखिन्छ । विदेश मन्त्रालयका एक प्रवक्ताले ‘कूटनीतिज्ञलाई आफूले हेरेको देशको राजनीतिबारे स्पष्ट र इमानदार विचार मन्त्रीलाई दिन प्रोत्साहन गरिने’ भन्दै डारोकको बचाउ गरेका छन् । उनले भनेका छन्,‘राजदूतहरूको विचार मन्त्री वा सरकारको विचार होइन । हामी उनीहरूलाई स्पष्ट सूचना दिन तलब दिन्छौं ।’

प्रकाशित : असार २२, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?