'अमेरिकी हस्तक्षेपले परमाणु संकट बढ्यो'

एएफपी

बेइजिङ — चीनले अमेरिकाको हस्तक्षेपका कारण इरानी परमाणु सम्झौता संकटमा परेको जनाएको छ । अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै आर्थिक नाकाबन्दी लगाएपछि इरानले आइतबार युरेनियम प्रशोधनको उच्च सीमालाई तोडेको घोषणा गरेको थियो ।

त्यसको प्रतिक्रियामा चीनले ‘अमेरिकाको एकतर्फी दादागिरी’ कारण परमाणु संकट झन बढेको जनाएको हो । युरेनियम प्रशोधन तथा भण्डारन बढाउने निर्णय गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानलाई होसियार रहनु राम्रो’ हुने भन्दै चेतावनी दिएका छन् ।

‘एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिएको विभिन्न तथ्यले प्रस्ट भइसकेको छ ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दबाब नै इरानी परमाणु संकटको मुख्य कारण हो ।’

अमेरिकाले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट एकतर्फी रूपमा अलग भएको घोषणा गरेको थियो । त्यसलगत्तै ट्रम्प प्रशासनले इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध कडा पारेपछि इरान थप रूष्ट भएको हो ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका, बेलायत, रूस, चीन, फ्रान्स, जर्मनी र इरानले सन् २०१५ मा परमाणु सम्झौता गरेका थिए । तर अमेरिकामा राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले इरानसँगको परमाणु सम्झौता न्यायसंगत नभएको भन्दै अमेरिका पछि हट्नुपर्ने बताएका थिए ।

गत मेमा सम्झौताबाट अलग भएको अमेरिकाले इरानमाथि अगस्टदेखि आर्थिक नाकाबन्दी कडा पार्दै इरानबाट निर्यात हुने तेललगायतका सामाग्री तथा बैंकिङ प्रणाली लक्षित प्रतिबन्ध लगाएकोहो । त्यसलगत्तै इरानले यसअघि अमेरिकी प्रतिबन्धबाट बचाउन चीन, फ्रान्स, जर्मनी, रूस तथा बेलायतलाई आग्रह गरेको थियो ।

तर त्यसका लागि दिइएको समयसीमा सकिएलगत्तै आइतबार इरानी सहायक विदेशमन्त्रीले पत्रकारसम्मेलन गर्दै सम्झौताका प्रावधान पालना नगर्ने घोषणा गरेका हुन् ।इरानले सम्झौतामा उल्लेख भएअनुसार आफूसँग राख्ने अनुमति पाएको इनरिच्ड युरेनियमको भण्डारण बढाएको बताएको एक साता नहुँदै यस्तो घोषणा गरेको हो । त्यस्तो युरेनियम आणविक भट्टीमा इन्धन तथा परमाणु हतियार निर्माणका लागि प्रयोग हुन्छ । यद्यपि, इरानी सहायक विदेशमन्त्रीले ‘इरान सम्झौताबाट पछि हट्न नचाहे पनि सम्झौताका सीमाहरूमा अडिग रहने अवस्था नरहेको’ बताएका थिए ।

जर्मनीले तेहरानद्वारा युरेनियम भण्डारणलाई बढाउने निर्णयको विरोध गर्दै परमाणु सम्झौताविपरीतका कार्य नगर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले पनि तेहरानको युरेनियम भण्डारमा कटौती गर्ने आणविक सम्झौतासम्बन्धी निर्णयबाट फिर्ता हुने कार्य दुःखद रहेको बताएका छन् ।

त्यसैगरी, रूसले पनि इरानी निर्णयप्रति चासो व्यक्त गर्दै सम्झौता जोगाउन कूटनीतिक प्रयास गर्ने जनाएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले सोमबार मस्कोमा सञ्चारकर्मीसँग भने, ‘अवस्था पक्कै पनि चिन्ताजनक छ । रूसले वार्तालाई निरन्तरता दिँदै कूटनीतिक क्षेत्रमार्फत सम्झौता जोगाउने छ । हामी अहिले पनि इरानसँगको परमाणु सम्झौताको समर्थक हौं ।’

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको बहुपक्षीय सम्झौताअनुसार इरानलाई सीमित मात्रामा युरेनियम उत्पादन गर्न अनुमति दिइएको थियो ।

प्रकाशित : असार २४, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय अवार्डको तयारीमा बोर्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्यको उपेक्षामा पर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानलाई यसपालि भव्य बनाउन चलचित्र विकास बोर्डले कसरत थालेको छ । 

बोर्डको १९औं वार्षिकोत्सव अवसर पारेर २७ असारमा राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वितरण गरिने अवार्ड तथा सम्मानका लागि बोर्डले विशेष तयारी थालेको उल्लेख गरेको छ । बोर्डले यसअघिका दुई वर्षको अवार्ड आयोजना गर्न सकेको थिएन ।

यसपटक तीन वर्षकै अवार्ड वितरण गरिनुका साथै २५ हजार रुपैयाँ पुरस्कार पनि दिइने बोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले बताएका छन् । यसै वर्षदेखि पुरस्कारसँगै नगद पनि राखिनुमा पुरस्कृत स्रष्टाहरूप्रतिको सम्मानका खातिर भएको बोर्ड अध्यक्ष केशव भट्टराईले बताए । उनले आगामी वर्ष पुरस्कार राशिलाई बढाएर दोब्बर पारिने निर्णय पनि बोर्डले गरेको जानकारी दिए । त्यसैगरी, बोर्डले स्थापना दिवसको अवसर पारेर सम्मानित गरेका फिल्मकर्मी र सर्जकलाई पनि २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

यसअघि अवार्ड वितरणमा मात्रै सीमित रहँदै आएको राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई यसपटकदेखि अग्रजदेखि अहिलेका क्रियाशील अभिनेता तथा अभिनेत्रीसहितको करिब १२ मिनेटको नृत्य प्रस्तुत पनि राखिने बोर्डले उल्लेख गरेको छ । उक्त प्रस्तुतिमा पहिलो नेपाली फिल्म ‘आमा’ देखि हालसम्मका फिल्मका छानिएका प्रतिनिधि गीतमा नृत्य प्रस्तुति हुने जनाइएको छ ।

यसका लागि यतिबेला नृत्य निर्देशकहरू वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अभिनेता, अभिनेत्रीहरू अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङलगायत कलाकारलाई नृत्य प्रशिक्षण दिइरहेका छन् ।

प्रकाशित : असार २४, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्