अस्ट्रेलियामा विदेशी विद्यार्थीमाथि शोषण

नारायण खडका

(अस्ट्रेलिया) — अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई घरधनीहरुले शोषण गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । यहाँ रहेको ‘युनिभर्सिटी अफ न्यु साउथ वेल्स (यूएनएसडब्लू)’ ले हालै सार्वजनिक गरेको रिपोर्ट ‘नो प्लेस लाइक होम’ मा सिड्नीमा रहेका कैयौं अन्तर्राष्ट्रिय विद्यार्थी शोषणको मारमा परेको उल्लेख छ । 

अस्ट्रेलियामा विदेशी विद्यार्थीमाथि शोषण

उक्त विश्वविद्यालयको मानवअधिकार क्लिनिकले गरेको अनुसन्धानमा ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सस्तो, कानुनी र सुरक्षित बसोबास नभएको उल्लेख गरिएको छ । रिपोर्टमा विद्यार्थीमाथि उत्पीडन हुने गरेको, भीडभाडयुक्त घरमा राखिएको र अचानक घरबाट निकालिएको लगायतका विभिन्न समस्याहरु देखाइएको छ । मुख्य गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरु एक्लै हुने गरेको र उनीहरु कानुनी अधिकारबारे जानकार नभएकाले समेत पीडित हुने गरेको पाइएको छ ।


विश्वविद्यालयले अक्टोबर २०१७ देखि अप्रिल २०१८ सम्मको अवधिमा यहाँ रहेका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुका बीच अध्ययन गरिएको थियो ।

अध्ययनमा सिड्नीमा अध्ययनरत विद्यार्थीहरुको मुख्य गरेर बसोबाससम्बन्धी समस्यामाथि अध्ययन केन्द्रित थियो । रिपोर्टमा विद्यार्थीहरुले बसोबास गर्ने क्रममा भोग्नुपरेको गम्भीर समस्याहरुको अध्ययन गरिएको थियो ।


यूएनएसडब्लूकी प्राध्यापक तथा क्लिनिकल सुपरभाइजर मारिया नवाजले विद्यार्थीहरु कानुनी रूपमा सुरक्षित नभएको बताएकी छन् । रिपोर्टका अनुसार कैयौं विद्यार्थीले थाहै नभएका घरधनीहरुलाई अग्रिम भुक्तानी दिनुपरेको, केही घरधनीहरुलाई आवश्यकताभन्दा धेरै बोन्ड तिर्नुपर्ने (घर लिनुअघि धरौटीका रूपमा दिनुपर्ने रकम), अचानक घरभाडा बढाउनेलगायतका समस्या देखिएका छन् ।


अस्ट्रेलियामा सुरुमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुलाई मुख्य समस्या बसोबास र रोजगारको हुने गरेको छ । रिपोर्ट सार्वजनिक गरेको संस्थाकी निर्देशक बासिना फारबेनबल्मले सिड्नीको घरको उच्च भाडा र सीमित विद्यार्थीहरुका लागि उपलब्ध बसोबासको सुविधाका कारण उनीहरु समस्यामा परेको बताएकी छन् ।


‘जीवनका लागि बास आधारभूत भए पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नो महत्त्वपूर्ण समय बस्नका लागि घर खोज्नमै समय बिताएको पाइन्छ ,’ रिर्पोटमा उल्लेख छ । अस्ट्रेलियाको सरकारी तथ्यांक अनुसार अहिले करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरुले यहाँका विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् ।



प्रकाशित : असार २४, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?