चिसिँदै टर्की अमेरिका सम्बन्ध

अमेरिकी विरोधबीच टर्कीले भित्राएको ‘एस–४००’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जमिनबाट आकाशमा प्रहार गर्ने सबैभन्दा अत्याधुनिक प्रणाली हो 
एजेन्सी

अंकारा — अमेरिकी विरोधका बाबजुद टर्कीले रूससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी इस्तानबुल पुगेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी राजधानी अंकारास्थित एक विमानस्थलमा शुक्रबार आइपुगेको हो ।

टर्कीले यसअघि अमेरिकी लडाकु विमान ‘एफ–३५’ खरिद गरेको थियो । अमेरिकाले अमेरिकी एफ–३५ विमान र रूसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्न नपाउने बताउँदै आएको छ ।टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य हुन् तर टर्कीले रूससँग पनि नजिकको सम्बन्ध स्थापित गर्न प्रयास गरिरहेको देखिन्छ । टर्कीले एक सय एफ–३५ लडाकु विमान किन्न अमेरिकासँग सम्झौता गरिसकेको छ ।

बीबीसीका अनुसार एफ–३५ का लागि टर्कीले ठूलो रकम खर्च गरिसकेको छ । टर्कीले रूसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसको सञ्चालनका लागि २ खर्ब ५० अर्ब डलर बराबर रकम खर्च गरिसकेको छ ।अमेरिकी अधिकारीले नेटो हवाई प्रतिरक्षा प्रणालीमा उक्त क्षेत्रका लागि रूसी ‘एस–४००’ प्रणाली अमिल्दो भएको दाबी गर्छन् । रूसी प्राविधिकहरूले एफ–३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण अमेरिकी रक्षा अधिकारीले उक्त विमानलाई एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिक राख्न चाहँदैनन् ।

अमेरिकाले रूसी प्रतिरक्षा प्रणाली पूर्णरूपमा स्थापित गरे एफ–३५ कार्यक्रमबाट हटाउने जनाएको छ । त्यसका साथै अमेरिकी अधिकारीले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिएको छ ।
नेटो सदस्य राष्ट्रका लागि रूसबाट यस प्रकारका हतियार तथा प्रतिरक्षा प्रणाली खरिदको सम्झौता अभूतपूर्व हो । अमेरिकी चेतावनीसँगै दुई नेटो मुलुकबीच द्वन्द्व बढ्ने देखिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि ‘अमेरिकाले आफ्नो देशविरुद्ध आर्थिक प्रतिबन्ध नलगाउनेमा आफू विश्वस्त रहेको’ बताएका छन् । अमेरिकाले यसअघि नै टर्कीलाई हवाईजहाज पठाउन रोक्दै पाइलट तालिमसमेत स्थगित गरिसकेको छ ।

यद्यपी, २९ सदस्यीय नेटोमा दोस्रो ठूलो सेना रहेको टर्कीमाथि अमेरिकाले तत्कालै कुनै प्रतिबन्ध लगाइहाल्ने निर्णय भन्न गर्न कठिन छ । सिरिया, इराक र इरानसँग सीमा जोडिएको टर्की रणनीतिक स्थानमा समेत छ । त्यसका साथै अमेरिकाको मुख्य सहयोगी टर्कीले सिरिया द्वन्द्वमा संलग्न विद्रोहीलाई हातहतियार उपलब्धसमेत गराउँदै आएको छ ।

एस–४०० ले कसरी काम गर्छ ?
एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीअन्तर्गतको राडारले लामो दूरी रेखदेख गर्न सक्छ । उक्त राडारले कुनै पनि नौलो वस्तु पहुँचमा देखिनेबित्तिकै नियन्त्रण गाडीमा सूचना दिन्छ । त्यसलगत्तै अर्को गाडीमा रहेको राडारले सम्भावित लक्ष्य तय गर्छ । नियन्त्रण गाडीबाट क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा निकट र राम्रो अवस्थामा रहेको गाडीमा सूचना दिइन्छ जसले भूमिबाट आकाशमा क्षेप्यास्त्र प्रहार गर्छ । उक्त क्षेप्यास्त्रलाई लक्ष्यसम्म पुग्न राडारले सहयोग गर्छ ।

प्रकाशित : असार २७, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्

घूससहित चार प्रहरी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सामाखुसीबाट घूस लिँदालिँदै चार प्रहरी जवानलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक महाशाखाका जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नीरज भण्डारी तथा नेपाल प्रहरीको ३ नं. गणका जवान हिटलर साउद पक्राउ परेका हुन् । 

अख्तियारका अनुसार उनीहरूका साथबाट एक लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरूले सामाखुसीको एउटा मिठाई पसलमा बसेर गाडी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा पारी सेवाग्राहीसित घूस लिएका हुन् ।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्