आक्रमणमा पत्रकारसहित कम्तीमा २६ मारिए

(एएफपी)

मोगादिसु — सोमालियाको दक्षिणी क्षेत्रको एक होटलमा गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । बन्दरगाह सहर किस्मायुको असासे होटलमा गरिएको आक्रमणमा मृत्यु हुनेमध्ये अधिकांश विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन् ।

मृतकमध्ये एक क्यानडेली टेलिभिजन पत्रकार होडन नलेया र उनका श्रीमान् फरिदसमेत छन् ।
अन्य मृतकहरूमा केन्या र तान्जानियाका ३/३ जना, २ जना अमेरिकी र एक बेलायती छन् । एक स्थानीय राजनीतिज्ञको पनि घटना पनि ज्यान गएको छ । अधिकारीका अनुसार घटनामा ५६ घाइते छन् । एक सुरक्षा अधिकारी अब्दी धुहुलका अनुसार एक पूर्व स्थानीय प्रशासन मन्त्री र सांसद मारिनेमध्ये छन् ।

हमलामा बचेकाहरूका अनुसार एक आत्मघाती आक्रमणकारीले विस्फोटक सामग्रीले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए । त्यसलगत्तै बन्दुकधारीहरूले होटलमा अन्धाधुन्ध
गोली प्रहार गरेका अधिकारीहरूले जनाएका छन् ।

आक्रमणको इस्लामिक समूह अल–शबाबले जिम्मा लिएको छ । आक्रमणका बेला क्षेत्रीय नेताहरू र जातीय समुदायका अगुवाहरूले होटलमा आसन्न क्षेत्रीय निर्वाचनबारे छलफल गरिरहेका थिए ।

४३ वर्षीया नलेयाले सोमालियाभित्रको जीवन र देशबाहिर बस्ने सोमाली समुदायबारे कार्यक्रम उत्पादन गर्दै आएकी थिइन् । बीबीसीका अनुसार उनको पछिल्लो शृंखला सोमालियाका प्रेरणादायी महिला उद्यमी र सहरमा महिलाले गर्न सक्ने क्रियाकलापमा केन्द्रित थियो ।

६ वर्षको उमेरमा परिवारसँग क्यानाडा बसाइँ सरेकी नलेया सोमाली समुदायकी उल्लेख्य व्यक्ति थिइन् । बीबीसीका पत्रकार फरहान जिमालेले उनलाई ‘एक सुन्दर आत्मा’ को संज्ञा दिएका छन् । क्यानाडाका अध्यागमन मन्त्री अहमद हुसेनले ‘धैरेको आवाज अस्ताएको’ बताएका छन् ।
क्यानडाका राजनीतिज्ञ एन्ड्रेय होर्वाथले उनको मृत्युको खबरपछि टीटरमा लेखेका छन्, ‘उनमा भएको असीमित सकारात्मक सोच र मानवीय व्यवहार प्रशंसनीय रहेको’ बताएकी छन् ।

सोमाली जर्नालिस्ट सिन्डिकेटका अनुसार घटनामा नलेयासँगै अर्की एक पत्रकार मोहमद ओमार सहलको समेत ज्यान गएको छ । लडाकु समूह अल–शबाब सन् २०११ मा हटेपछि किस्मायु अन्य स्थानको तुलनामा शान्त मानिन्थ्यो । राजधानी मोगादिसुमा अफ्रिकी संघका शान्तिसेना र अमेरिकी तालिमप्राप्त सोमाली फौज तैनाथ रहे पनि लडाकुले बारम्बार आक्रमण गर्ने गरेको छ ।

प्रकाशित : असार २९, २०७६ १०:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कोदो–फापर सस्तो, चाउचाउ र पाउरोटी महँगो

रैथाने बाली अपहेलित
रमेशकुमार पौडेल

(चितवन) — रैथाने बालीको प्रवर्द्धन कसरी गर्ने ? रैथाने परिकारलाई बजारमा पुर्‍याउन के गर्नुपर्ला ? यिनै प्रश्नको उत्तर खोज्न कृषि ज्ञान केन्द्रले शनिबार भरतपुरमा छलफल कार्यक्रम आयोजना गर्‍यो ।

फापर खेती गर्ने भण्डाराका किसान हरिप्रसाद बर्तौलाले भने, ‘फापर खेती गर्न सजिलो छ । खनजोत पनि राम्रोसँग गर्नु पर्दैन । राम्रो फले पनि घरमा प्रयोग हुँदैन । किन्न आउनेले ३५–४० रुपैयाँ किलोमा लैजान्छन् ।’

बर्तौलाको कुरा सुनेर डा. अरुणा उप्रेती छक्क परिन् । रैथाने बालीमा हुने पोषक तत्त्वबारे जानकारी गराउन आएकी उप्रेतीले काठमाडौंमा एक किलो फापरको पिठो १५० रुपैयाँमा किन्दै आएको सुनाइन् । किसानले राम्रो मूल्य नपाएको सुनेपछि उनले घरमा प्रयोग गर्न र पाहुना आउँदा रोटी पकाएर दिन सुझाइन् । बर्तोलाले फेरि अर्को तर्क दिए, ‘घरमा पनि खाँदैनन् । पाहुनालाई फापरको रोटी के दिनु, हेपेको भन्लान् भनेर चाउचाउ किनेर दिन्छौं ।’

किसानले बहुमूल्य वस्तु सस्तोमा बेचेर कमसल महँगोमा किन्ने गरेको यो एउटा उदाहरण हुन सक्छ । ‘कोदो, फापर, मकै पनि के खानु, चाउचाउ, पाउरोटी पो खाने हो भन्ने चिन्तन बढेका कारण यस्तो भएको हो,’ उप्रेतीले भनिन्, ‘रैथाने बालीलाई समाजले अपहेलना गर्‍यो । पोषणका हिसाबले यी बहुमूल्य छन् ।’

कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले कोदो, फापर, चिनु, कागुनो, उवा, लट्टे, जुनेलो, जौजस्ता रैथाने बालीको संरक्षण र बजार विस्तारमा कार्यालय जुटेको बताए । ‘हाम्रो कार्य क्षेत्र चितवन र मकवानपुर जिल्ला हो । यी दुई जिल्लामा रैथाने बालीको प्रचुर सम्भावना छ । खेती पनि हुँदै आएको छ । खपत राम्रो नहुँदा किसान भने निराश छन् । निराशा हटाउनु आवश्यक छ,’ पौडेलले भने ।

रैथाने बाली उच्च पोषण भएका ‘सुपर फुड’ भएको उप्रेतीले बताइन् । ‘हामीले यसको महत्त्व बुझेका छैनौं । विदेशमा यसको राम्रो खपत छ । यहाँ पनि धनीहरूले खान थाले ।

सुपरमार्केटहरूमा कोदो, फापरको पिठो महँगोमा बिक्छ । सबैले प्रयोग गर्ने बनाउन हामीले पनि केही उपाय लगाउनुपर्छ,’ डा. उप्रेतीको सुझाव थियो । उनले रैथाने बालीका परम्परागतभन्दा भिन्न परिकार बनाउन उत्तम हुने बताइन् । ‘त्यस्ता परिकारहरू आफैं खाने गरौं अनि घरमा आउने पाहुनालाई पनि खुवाउने गरौं । हामी आफू पनि खाँदैनौं ।

पाहुना आए बिस्कुट, पाउरोटी र चाउचाउ खुवाउँछौं । यसरी हुँदैन । सुरुवात हामी आफैंबाट गर्नुपर्छ,’ उप्रेतीले आग्रह गरिन् । यस्तै सरकारी अस्पतालका क्यान्टिनहरूमा रैथाने बालीका परिकारहरू बेच्ने परिपाटी मिलाए बजारीकरणमा महत्त्वपूर्ण फड्को मार्ने सम्भावना रहेको पनि उप्रेतीले बताइन् ।

‘तीव्र रूपमा व्यवसायीकरण गर्न सरकार नै अग्रसर हुनुपर्छ । सरकारी कार्यालयको खाजा रैथाने बालीको होस् । अस्पतालहरूमा रैथाने बालीको परिकारहरू बन्न र बिक्री हुन थालुन् । त्यसपछि यसको प्रवर्द्धन गज्जवले हुन्छ,’ उप्रेतीको भनाइ थियो । जौको सातु कसैले नखाने तर त्यसैबाट बनेको हर्लिक्स घरघरमा पुर्‍याउन मार्केटिङवालाले सहयोग गरेका हुँदा सरकारले पनि रैथाने बालीको उत्थानका लागि मार्केटिङ कौशल देखाउनुपर्ने उनले बताइन् ।

रैथाने बालीको उपयोग नबढे किसानहरू निराश भएर खेती गर्न छाड्ने अगुवा कृषक चन्द्रप्रसाद अधिकारीले बताए । विदेशमा यस्ता बालीबाट बनेका खाद्य पदार्थहरूको प्रयोग अत्यधिक छ । ‘नेपालमा भने रैथाने बाली लोप हुने, विदेशबाट आयात गर्नुपर्ने विडम्बनापूर्ण अवस्था आउन सक्छ ।

प्रकाशित : असार २९, २०७६ १०:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT