पाकिस्तानी हवाई आकाश खुला 

एएफपी

कराची — पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानका लागि आफ्नो देशको हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच केही महिनायता उत्पन्न तनावपछि पाकिस्तानले भारतसमेत सबै मुलुकका विमानका लागि पाकिस्तानी आकाशमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी निर्णयका कारण भारतीय वायुसेवा कम्पनीहरूलाई आर्थिक भार थपिएको थियो । 

पाकिस्तानी हवाई आकाश खुला 

पाकिस्तानी नागरिक उड्ययन प्राधिकरण (सीएए) ले सबै प्रकारका गैरसैनिक उडानका लागि मंगलबारदेखि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको हो । सीएए प्रवक्ताले भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरिएको जनाए ।


गत फेब्रुअरीमा दुई देशका हवाई सेनाबीच आक्रमण तथा जवाफी कारबाहीपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा विदेशी विमान उड्न प्रतिबन्ध लगाएको थियो । तीमध्ये केही प्रतिबन्धहरू पाकिस्तानले गत मार्चमा नै फिर्ता लिएको भए पनि भारतसँगको तनाव मत्थर नभएका कारण पूर्वी क्षेत्रमा प्रतिबन्ध फुकुवा गरेको थिएन ।


पाकिस्तानी कदमका कारण सबैभन्दा बढी आर्थिक भार भारतीय वायुसेवा कम्पनी एअर इन्डियाले बेहोरेको जनाइएको छ । प्रतिबन्धका कारण भारतका एअर इन्डिया, इन्डिगो, स्पाइस जेट र गो एअरको करिब ८ करोड अमेरिकी डलर गुमेको जनाइएको छ ।


प्रकाशित : असार ३१, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?