अस्ट्रेलियाका हजारौं स्वास्थ्यकर्मी आन्दोलनमा

एजेन्सी

सिड्नी — अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी असुरक्षाको कारण देखाउँदै आन्दोलनमा उत्रेका छन् । अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा कार्यरत स्वास्थकर्मीले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति नरहेको भन्दै आन्दोलनमा उत्रेका अस्ट्रेलियाली सञ्चारमाध्यहरूले जनाएका छन् । 

अस्ट्रेलियाका हजारौं स्वास्थ्यकर्मी आन्दोलनमा

राज्यका अस्पताल तथा स्वास्थ्य सेवा युनियनका ५ सयभन्दा बढी प्रतिनिधिले अगस्ट १ देखि काम रोक्ने पक्षमा मंगलबार मतदान गरेका जनाइएको छ । उनीहरूले अगस्ट १ देखि दैनिक ४ घण्टा काम रोक्ने माग गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।


स्वास्थकर्मीले अस्पताल तथा स्वास्थ्य केन्द्रमा सुरक्षाको माग गरेका छन् । थप सुरक्षा व्यवस्था नहुँदासम्म आफूहरूले काम नगर्ने उनीहरूको भनाइ छ । न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भने, ‘अस्पतालमा नै कैयौंको हत्या भएको छ, कैयौंमाथि छुरा प्रहार गरिएको छ र कैयौंलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म अस्पताल पुगेर काम गर्न गाह्रो छ ।’


काम गर्नै नसक्ने वातावरणपछि मजदुर प्रतिनिधिहरू आन्दोलनमा उत्रनु परेको उनले बताए । उनले न्यु साउथ वेल्सको सुरक्षा निकायलाई थप २ सय ५० सुरक्षा गार्ड उपलब्ध गराउन

आफूहरूले माग गरेको पनि उनले जनाएका छन् ।


एक तथ्यांकअनुसार गत वर्ष न्यु साउथ वेल्स राज्यका अस्पताल तथा स्वास्थ केन्द्रमा ४ सय ६५ आक्रमणका घटना भएका थिए । गत जनवरीमा मानसिक सन्तुलन गुमाएका एक बिरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेका थिए । हाइजले उक्त घटना सुनाउँदै बिरामी र कहिलेकाहीं बिरामीका आफन्तले पनि स्वाथ्यकर्मीमाथि आक्रमण गर्ने गरेको बताए ।


उक्त राज्यका चिकित्सकहरूले ‘आफूहरू बिरामीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको तर सरकारले बेवास्था गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूले आन्दोलनको घोषणा गरे पनि अस्पतालमा उपचारका लागि आउने बिरामीलाई कुनै अप्ठेरो नपार्ने नीति लिएको बताएका छन् ।


प्रकाशित : श्रावण १, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?