२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ट्रम्पको विरोधमा उत्रे महिला सांसद 

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी मूलका सांसदलाई ‘आफ्नो देश’ फर्कन भनेपछि विवादमा तानिएका छन् । 

ट्रम्पको विरोधमा उत्रे महिला सांसद 

फरक जातीय पृष्ठभूमिबाट ४ महिला सांसदहरू एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज, इल्हान ओमार, आयान्ना प्रेस्ली र रासिदा तलाइबले मंगलबार एक पत्रकार सम्मेलनको गर्दै राष्ट्रपतिको भनाइ जातिवादी भएको बताएका छन् ।


उनीहरूका अनुसार ‘ट्रम्पले आफ्ना असफल नीतिहरूबाट जनताको ध्यान मोड्न विभेदकारी टिप्पणी गरेको’ दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो प्रतिरक्षा गर्दै थप आक्रामक टिप्पणी गरेका छन् । बीबीसीका अनुसार ट्रम्पले ‘ती सांसदहरूले अमेरिकालाई घृणा गर्ने गरेको’ आरोप लगाए ।


पत्रकार सम्मेलन उपस्थित चारैजना सांसदहरूले ‘ट्रम्पका भनाइमा नभई नीतिमा केन्द्रित हुनुपर्ने’ धारणा राखे । कोर्टेज, प्रेस्ली र तलाइब अमेरिकामै जन्मेका हुन् भने सोमालिया जन्मेकी ओमार बाल्यकालमै अमेरिका प्रवेश गरेकी हुन् । चारै जना सन् २०१८ को चुनावमा डेमोक्रयाटिक दलबाट सांसद निर्वाचित भएका हुन् ।


अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार एक ट्वीट गर्दै ती महिला सांसदहरूलाई लक्षित गर्दै ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै देश छाड्न भनेका थिए । ट्रम्पको ट्वीट ‘जातिवादी र विभेदकारी’ भन्दै निकै आलोचना भएको छ । चारमध्ये दुई सांसदले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउनुपर्ने मागसमेत दोहोर्‍याएका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रेस्लीले ‘आफूहरूलाई एक्ल्याउने र चुप लगाउने प्रयास सफल नहुने’ बताइन् । उनले भनिन्, ‘हामी चार जना मात्रै होइनौं, न्यायसंगत राष्ट्र निर्माणका लागि विश्व समुदाय हाम्रो समूहमा आवद्ध छन् ।’


चारै सांसदहरूले स्वास्थोपचार, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका विषयमा ध्यान केन्द्रित गरिनुपर्ने जनाएका छन् । ओमारले अमेरिका–मेक्सिको सीमाक्षेत्रमा गैरकानुनी रूपमा आप्रवासीलाई थुनामा राखिएको र मानवअधिकारको चरम उल्लंघन भएको बताउँदै भनेकी छन्, ‘इतिहासले हामीलाई हेरिरहेको छ ।’


राष्ट्रपति ट्रम्पले भने ह्वाइटहाउसबाहिर आयोजित पत्रकार सम्मेलनमा आफ्नो भनाइको बचाउ गर्दै भनेका छन्, ‘यदि तपाईंहरू असन्तुष्ट हुनुहुन्छ र सदैव गुनासो मात्र गर्नुहुन्छ भने तपाईंहरू जान सक्नुहुन्छ ।’ ट्रम्पले चार सांसदले अमेरिकाका शत्रु मन पराएको आरोपसमेत लगाएका छन् ।


ट्रम्पले ती सांसदलाई सभामुख नान्सी पेलोसीले नि:शुल्क यात्राको अवसर जुटाइदिने गरेकी भन्दै व्यंग्य गरेका थिए । ट्रम्पको उक्त भनाइप्रति विपक्षी दलका नेताहरूले समेत आलोचना गरेका छन् । रिपब्लिकन पार्टीकी सिनेटर सुसन कोलिन्सले ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको बताएकी छन् ।


राष्ट्रपतीय निर्वाचनमा ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले ‘अमेरिकी थुनुवा केन्द्रको अमानवीय अवस्था उठाएकाले ती सांसदमाथि आक्रमण गरिएको’ बताइन् । एक साता अघि ती चार महिला सांसद र अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीको मतभेद भएको थियो । उनीहरूबीच सीमा सुरक्षासम्बन्धी एक विधेयकका विषमा विवाद भएको हो ।


कपितय डेमोक्रयाट नेताले ‘आफ्ना विरोधीलाई जातिवादीको संज्ञा दिने दाबी गर्दै राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘यदि डेमोक्रयाटिक पार्टीले अमेरिकाविरोधी भाषा र गतिविधि समर्थन गरिराख्छ भने चुनावमा हेरौंला ।’

प्रकाशित : श्रावण १, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?