युरोपेली आयोगमा पहिलोपल्ट महिला

एएफपी

स्ट्रासबर्ग, फ्रान्स — युरोपेली आयोगको अध्यक्षमा जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन निर्वाचित भएका छन् । मंगलबारको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएका हुन् । 

ब्रसेल्समा प्रधान कार्यालय रहेको आयोगको सर्वोच्च पदमा पुग्ने उनी पहिलो महिला बनेकी छन् । युरोपेली संघ आबद्ध २८ मुलुकका सरकारले ६० वर्षीया उर्सुमालाई समर्थन जनाएका थिए ।

कुल ७ सय ५१ सदस्यीय युरोपेलीसंसद्मा उनले २ सय ८३ मत प्राप्त गरिन् । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्ने छिन् । उनको कार्यकाल पाँच वर्षको हुने छ ।

बहुभाषी एवं सात सन्तानकी आमा उर्सुलाले मतदानपछि सांसदलाई सम्बोधन गर्दै भनिन्, ‘बेलायतको बहिर्गमनपश्चात् युरोपेली संघका अघिल्तिर ठूला चुनौतीहरू रहेका र मेरो काँधमा महत्त्वपूर्ण जिम्मेवारी आइपुगेको छ । तैपनि मलाई निर्वाचित गराउने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उर्सुलालाई विजयी गराउन जर्मनीले समर्थन गरेको थियो ।

ब्रेक्जिटको मुद्दा चर्को रूपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानुनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्ने छ ।

नवनिर्वाचित उर्सुलाले भनिन्, ‘दुई साताअघि मलाई कसैले चिन्दैनथ्यो, मसँग बहुमत पनि थिएन । तर छोटो अवधिमै मैले बहुमत जुटाउन समर्थ भएँ, अब म सबैलाई साथमा लिएर कार्य गर्ने छु ।’

जर्मन चान्सलर एन्जेला मर्केलले आफूसँग लामो समयदेखि कार्य गरेकी उर्सुला विजयी भएकोमा खुसी लागेको प्रतिक्रिया दिइन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले पनि उर्सुलालाईट्वीटमार्फत बधाई दिँदै फ्रान्सले युरोपेली आयोगलाई हरदम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : श्रावण २, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

६० लाख जनसंख्या बाढीको जोखिममा

रासस/सिन्ह्वा

ढाका — दक्षिणी एसियाका करिब ६० लाख नागरिक बाढीको खतरामा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले लाखौं व्यक्ति प्रभावित भइरहेको तथा अरू पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको छ । 

केही दिनयता दक्षिण एसियाका प्रायः देशमा भीषण बाढी आएको छ । भारतको कुनै एउटा राज्यमा मात्र १० लाख नागरिक विस्थापित भएका छन् । त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै, अरू पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ ।

यसैगरी, बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौं नागरिकको ज्यान गएको छ भने लाखौं प्रभावित भएका छन् ।

ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । आपत्कालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग उक्त समितिले ती देशमा उपलब्ध गराइरहेको छ । रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो छ । यसबाट अझै पनि कैयौं नागरिक विस्थापित हुने र क्षति बेहोर्नुपर्ने अवस्था रहेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने, ‘बाढीको प्रकोप दिन प्रतिदिन बढदो छ, विस्थापित हुनेहरूको संख्या पनि बढिरहेकै छ ।’

उनले बाढीका कारण मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रूपमा रहेको बताए ।यही हिसाबले अरू केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तीमा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको पनि उनले बताए ।

अहिले आफूहरू आपत्कालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उनले दिए । भने, ‘बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै सुरु भएकाले यसले अझै पनि ठूलो क्षति पुर्‍याउन सक्ने खतरा छ ।’ भारतीय राज्य असममा मात्र १० लाख नागरिक विस्थापित भएका छन् ।

यहाँ ब्रहृमपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७ सय ५० गाउँ नै बगाएको छ । त्यसैगरी, नेपालको पनि दक्षिणपूर्वी भू–भागमा बाढीले क्षति पुर्‍याएको छ । यहाँ बाढीका कारण धेरैजनाको मृत्यु भइसकेको छ । उता बंगलादेशमा पनि बाढीले ठूलो असर पुर्‍याएको छ ।

जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । त्यहाँ बाढीले ११ हजारभन्दा बढी घर बगाएको छ । भारी वर्षा र बाढी आउने क्रम जारी छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT