१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मलेसियाका गैरकानुनी आप्रवासी कामदारलाई आममाफी 

(मलेसिया) — मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई आममाफी दिई स्वदेश फर्कन दिने घोषणा गरेको छ । 

मलेसियाका गैरकानुनी आप्रवासी कामदारलाई आममाफी 

गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयास्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगस्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे ।


यासिनले ‘प्रोग्राम ब्याक फर गुड’ नाम दिइएको आममाफीको उपयोग गर्दै गैरकानुनी आप्रवासी कामदार स्वदेश फर्कन पाउने बताए । त्यसका लागि उनीहरूले अध्यागमन विभागका कार्यालयमा ७ सय रिंगिट शुल्क तिर्नुपर्ने छ ।


घर फर्कन चाहने गैरकानुनी कामदार सम्बन्धित देशका दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्ने छ । त्यसरी विभाग पुग्ने कामदारलाई अध्यागमन अधिकारीले बायोमेट्रिकलगायत विवरण संकलन गरी अध्यागमन सिस्टममा सूचीकृत गरी मलेसियाबाट बाहिरिने पास पाउने छन् । पास पाउने कामदारले एक साताभित्र हवाई टिकटको व्यवस्था मिलाई स्वदेश फर्कनुपर्ने यासिनले बताए ।


कार्यक्रमलाई प्रभावकारी बनाउन पश्चिमी मलेसियाका ८० अध्यागमन काउन्टर र २ सय कर्मचारी खटाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रममार्फत स्वदेश फर्कने कामदारलाई अध्यागमन विभागले कालोसूचीमा राख्ने कारण उनीहरू पुनः मलेसिया प्रवेश गर्न पाउने छैनन् ।


तत्कालका लागि यो कार्यक्रम पश्चिमी मलेसियामा कार्यान्वयनमा ल्याइएको हो । मलेसियामा रहेका करिब ४ लाख नेपालीमध्ये हजारौं गैरकानुनी अवस्थामा बसिरहेका अनुमान छ । त्यस्ता नेपाली यस्ता कार्यक्रमबाट देश फर्केको खण्डमा सजायबाट जोगिने छन् । करिब २० लाख विदेशी कामदार रहेको मलेसियामा ठूलो संख्यामा गैरकानुनी छन् । गृहमन्त्री यासिनले प्रोग्राम ब्याक फर गुड कार्यक्रमको म्याद सकिएपछि गैरकानुनी कामदारविरुद्ध देशव्यापी कारबाही अभियान सञ्चालन गरिने जनाए ।


यसअघि सरकारले सञ्चालन गरेको (थ्री प्लस वान भोलुन्टर्ली प्रोग्राम) नामक आममाफी कार्यक्रममा भने न्यूनतम ४ सय रिंगिट जरिवाना तोकिएको थियो । तर गैरकानुनी रूपमा मलेसियामा रहेको अवधिका आधारमा जरिवाना रकम तोकिएका कारण कतिपयले ३ हजार १ सय रिंगिटसम्म तिरेका थिए । उक्त कार्यक्रमको फाइदा उठाउँदै धेरै नेपाली स्वदेश फर्किसकेका छन् ।


मलेसियाको सरकारी तथ्यांकअनुसार सन् २०१४ देखि गतवर्षको अगस्टसम्म सञ्चालन गरिएको उक्त आममाफी कार्यक्रममार्फत ८ लाख ४० हजार गैरकानुनी आप्रवासी कामदार स्वदेश फर्केका थिए । त्यसरी स्वेदश फर्कने कामदारबाट मलेसियाले जरिवाना स्वरूप ४ सय मिलियन रिंगिट संकलन गरेको जनाइएको छ ।





प्रकाशित : श्रावण २, २०७६ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?