१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जरिवाना तिरे स्वदेश फिर्ता

मलेसिया — मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयास्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगस्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे । 

जरिवाना तिरे स्वदेश फिर्ता

‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी कार्यक्रम अन्तर्गत गैरकानुनी कामदारले स्वदेश फर्कन ७ सय रिंगिट जरिवाना शुल्क तिर्नुपर्नेछ । यासिनले उक्त कार्यक्रमको उपयोग गर्दै गैरकानुनी आप्रवासी अध्यागमन विभागका कार्यालयमा जरिवाना शुल्क तिरेर स्वदेश फर्कन सक्ने बताए ।


घर फर्कन चाहने गैरकानुनी कामदार सम्बन्धित देशका दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्ने छ । त्यसरी विभाग पुग्ने कामदारलाई अधिकारीले बायोमेट्रिकलगायत विवरण संकलन गर्ने तथा अध्यागमन सिस्टममा सूचीकृत गरी मलेसियाबाट बाहिरिने पास दिने छन् । पास पाउने कामदारले एक साताभित्र हवाई टिकट काटी स्वदेश उड्न सक्ने यासिनले बताए ।


कार्यक्रमलाई प्रभावकारी बनाउन पश्चिमी मलेसियाका ८० अध्यागमन काउन्टर र २ सय कर्मचारी खटाइएको छ । कार्यक्रममार्फत स्वदेश फर्कने कामदारलाई अध्यागमन विभागले कालोसूचीमा राख्ने कारण उनीहरू पुनः मलेसिया प्रवेश गर्न भने पाउने छैनन् । तत्कालका लागि यो कार्यक्रम पश्चिमी मलेसियामा कार्यान्वयनमा ल्याइएको हो ।


मलेसियामा रहेका करिब ४ लाख नेपालीमध्ये हजारौं गैरकानुनी अवस्थामा बसिरहेका अनुमान छ । त्यस्ता नेपाली यस्ता कार्यक्रमबाट देश फर्केको खण्डमा सजायबाट जोगिने छन् । करिब २० लाख विदेशी कामदार रहेको मलेसियामा ठूलो संख्यामा गैरकानुनी छन् । गृहमन्त्री यासिनले ब्याक फर गुड कार्यक्रमको म्याद सकिएपछि गैरकानुनी कामदारविरुद्ध देशव्यापी कारबाही चलाईने जनाए ।


यसअघि सरकारले सञ्चालन गरेको ‘थ्री प्लस वान भोलेन्टर्ली’ आममाफी कार्यक्रममा भने न्यूनतम ४ सय रिंगिट जरिवाना तोकिएको थियो । तर गैरकानुनी रूपमा मलेसियामा रहेको अवधिका आधारमा जरिवाना रकम तोकिएका कारण कतिपयले ३ हजार १ सय रिंगिटसम्म तिरेका थिए ।


मलेसियाको सरकारी तथ्यांकअनुसार सन् २०१४ देखि गतवर्षको अगस्टसम्म सञ्चालन गरिएको उक्त आममाफी कार्यक्रममार्फत ८ लाख ४० हजार गैरकानुनी आप्रवासी कामदार स्वदेश फर्केका थिए ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?