१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

“घरेलु हिंसाविरुद्ध बोलेकी हुँ”

काठमाडौँ — आफूमाथि घरेलु हिंसा भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले गत साता पति छविराज ओझाविरुद्ध प्रहरीमा उजुरी हालिन् । 
प्रहरीसामु ओझाले माफी मागेपछि शिल्पाले उजुरी फिर्ता लिए पनि सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिइसकेकी छन् ।

“घरेलु हिंसाविरुद्ध बोलेकी हुँ”

असार ८ गते फिल्म हेर्न जाने क्रममा बढेको विवादपछि पतिले कानमा असर पुग्ने गरी पिट्नुका साथै ज्यान मार्ने उद्देश्यले घाँटी थिचेपछि आत्मरक्षाका लागि लात हानेर फुत्किँदै घर छाडेको शिल्पाले बताउँदै आएकी छन् । छविले फेसबुकमार्फत् शिल्पालाई ‘दुनियाँका कुरा नसुनी’ छविको अदालतमा आउन आग्रह गरिरहेका बेला शिल्पाले भने ‘नर्कबाट निस्केजस्तो अनुभव गरिरहेको’ टिप्पणी गरेकी छन् ।


बिहीबार कान्तिपुरसँगको कुराकानीमा शिल्पाले पुराना दिनसमेत सम्झिन् । प्रेमी छँदा छवि नराम्रो लाग्दैनथ्यो शिल्पालाई । ‘त्यो बेला मेरो खुब ध्यान राख्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अति नै माया गर्नुहुन्थ्यो ।’ पाँच वर्षअघि छविले नै शिल्पालाई ‘लज्जा’ फिल्मबाट ब्रेक दिएका थिए । पूर्वपत्नी रेखा थापासँग सम्बन्धविच्छेद गरेपछि छवि शिल्पातर्फ आकर्षित भएका थिए ।


‘प्रेममा परेको बेला मलाई उहाँ मभन्दा ३० वर्ष जेठो जस्तो पनि लाग्थेन,’ उनले भनिन्, ‘साथीकै जस्तो व्यवहार थियो । माया गर्ने र फिल्म क्षेत्र बुझेको मान्छे भएपछि उमेर नहेरी विवाह गर्न राजी भएकी थिएँ । यति माया गर्नुहुन्थ्यो कि आज यस्तो दिन आउला भनेर त मैले कल्पना गरेकी थिइनँ । अहिले डरलाग्दो गरी उहाँको रूप परिवर्तन भयो ।’


२०७३ असार २९ मा पाटनको एलो हाउसमा धुमधामसँग विवाह भएको थियो छवि र शिल्पाको । लामो समय दुवै पक्षले विवाह गुपचुप मात्रै राखेनन्, मिडियामा हामी छिट्टै बिहे गर्दै छौं भनेर झूट बोलिरहे । ‘फिल्म ‘किस्मत २’ को बेला छविजीको भर्खर डिभोर्स भएको थियो । उहाँले आफूलाई असर गर्छ, र फिल्म पनि राम्रो चल्दैन भनेपछि बिहेबारे केही नबोलेको शिल्पाको भनाइ छ । तर पछि उनीहरूले बिहे नभएको भन्दै केही समयमा गर्ने बताए ।


‘मंगलम् फिल्मको बेला पनि त्यस्तै भयो । भन्न पनि नखोज्ने अनि बिहे दर्ता गर्न पनि नमान्ने । बहाना निकालिरहनुहुन्थ्यो,’ शिल्पाले भनिन्, ‘कहिले मेरो जेठी श्रीमतीसँग नै डिभोर्स भएको छैन भन्ने कहिले बसाइँसराइको कागज बनाएको छैन भन्दै टार्ने । मैले त बुबाआमा छोडेर आइसकें, एउटा केटा मान्छेलाई बिहेको कुरा किन लुकाउनुपर्छ ? जहिले हाम्रो लभ पर्दै छ मात्रै भन्नुहुन्थ्यो । मलाई पनि त्यसै भन्न लगाएपछि त झगडै गरें । झूट बोल्ने भए म अन्तरवार्ता नै दिन्नँ भनेर अड्डी पनि कसें । त्यसपछि उहाँले मलाई हेपिस् भन्न थाल्नुभयो ।’


बिहे गरेको तीन वर्ष हुँदा पनि समस्या बल्झिरह्यो । शिल्पाका अनुसार, बाहिर हुँदा कहाँ गएँ, के गरें, के खाएँ ? एकएक बेलीबिस्तार लगाउनुपर्थ्यो छविलाई । यति हुँदाहुँदै पनि शंका गर्ने र परपुरुषसँग नाम जोडेर जथाभावी बोल्न थालेपछि शिल्पाको चित्त दुख्दै गयो । ‘मैले काम गरेको फिल्मका कुनचाहिँ पुरुषसँग उहाँले शंका गर्नुभएन होला ?’ उनले भनिन्, ‘अरूले सुनाइदिएका कुरामा नै उहाँ बढी उचालिनुहुन्थ्यो ।’


शिल्पा, छविले आफूलाई सधैंभरि नराम्रो मात्रै गरेको पनि भन्दिनन् । ‘कहिलेकाहीं राम्रो पनि गर्नुहुन्थ्यो, कुट्नुहुन्थ्यो अनि फकाउनु पनि हुन्थ्यो । म मानिहाल्थें । पछिल्लोपटक चाहिं धेरै नै गाह्रो भयो,’ शिल्पा असार ८ गतेको घटना सुनाउँदै गर्दा भक्कानिइन्, ‘त्यस दिन झ्याम्म हान्नुभयो । मेरो कान तातो भएर आयो । म थचक्क बसें । पछि घाँटी अठ्याउनुभयो । पहिले पनि यसरी अठ्याउँदा लगत्तै छोडेर फकाउन थाल्नुहुन्थ्यो । तर यसपालि छोड्दै छोड्नुभएन । अति नै गाह्रो भएपछि मैले लात हानें । उहाँ लड्नुभयो । उहाँ जहिले पनि तँलाई एक दिन त मार्छु मार्छु भन्नुहुन्थ्यो । त्यो दिन पनि मार्छु भन्नुभयो ।’


यति बेला दाइ बनाएकी विकास रौनियारको घरमा संरक्षण लिइरहेकी शिल्पाले अब फर्केर नजाने अडान लिएकी छन् । ‘बिहे गरेर ल्याइसकेपछि पनि किन बिहे दर्ता गर्न मान्नुभएन त उहाँले ?’ उनले भनिन्, ‘मसँग केही स्वार्थ रहेछ कि ?’


तीन वर्षदेखि आफूले घरेलु हिंसा सहँदै बस्नु गल्ती भएको स्विकार्छिन् शिल्पा । ‘कानुन त रहेछ नि । गल्ती गर्नेले सजाय पाउँदो रहेछ’ यसैलाई घरेलु हिंसा भनिँदो रहेछ भन्ने आफूले बल्ल बुझेको बताउँदै उनी भन्छिन्, ‘यस्तो पीडा भोग्ने गाउँमा झन् कति होलान् ? मैले घरेलु हिंसाविरुद्ध बोलेकी हुँ । नत्र छविजीले माफी मागिसक्नुभएको छ, डिभोर्स केस फाइल भइसकेको छ, अलगअलग भइहालिन्छ । चुप बस्दा हुने हो । तर चुप बस्नु हुँदैन ।’

प्रकाशित : श्रावण ३, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?