भारत–पाक तनाव– 'जाधवलाई कूटनीतिक पहुँच’

एजेन्सी

इस्लामावाद — मृत्युदण्डको सजाय सुनाइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई पाकिस्तानले ‘कन्सुलर’ पहुँच दिने भएको छ । आफ्नो देशविरुद्ध जासुसी गरेको भन्दै पाकिस्तानी अदालतले जाधवलाई मृत्युदण्डको सजाय सुनाएको थियो । 

भारत–पाक तनाव– 'जाधवलाई कूटनीतिक पहुँच’

आईसीजेको आदेशलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘निर्णयको स्वागत गर्दै सरकार कानुनअनुसार अघि बढ्ने’ बताएका थिए । पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार भनेको छ, ‘एक जिम्मेवार राष्ट्रका रूपमा पाकिस्तानले आफ्नो देशको कानुनअनुसार कमान्डर कुलभूषण जाधवलाई कन्सुलर सेवाको पहुँच दिने छ ।’


अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले बुधबार जाधवविरुद्धको मृद्दाको पुनरावलोकन गर्न पाकिस्तानी अदालतलाई आदेशको दिएको थियो । त्यसका साथै अदालतले जाधवलाई कूटनीतिक पहुँच नदिएर पाकिस्तानले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको ठहर गरेको थियो ।


आईसीजेको पछिल्लो आदेशपछि दुई देशबीच तनाव थप बढ्ने देखिएको छ । जाधवलाई भारतीय कूटनीतिज्ञसँग पहुँच नदिएर पाकिस्तानले भियना सन्धिको उल्लंघन गरेको भारतको दाबी छ । पाकिस्तानले जाधव अवैध रूपमा छिरेका जासुस भएकाले उनको हकमा त्यस्ता पहुँच लागु नहुने भन्दै आएको थियो । जाधवलाई आफ्नो अधिकारबारे जानकारी नगराएको आईसीजेले समेत ठहर गरिसकेको छ । यद्यपि, पाकिस्तानले उक्त आरोपको खण्डन गर्दै आएको छ ।


जाधव पाकिस्तानको बलोचिस्तान प्रान्तमा सन् २०१६ मा समातिएका थिए । उनलाई पाकिस्तानको सैनिक अदालतले २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भारतको दाबी छ । उसले जाधवमाथि लागेका आरोप खण्डन गर्दै हस्तक्षेपको मागसहित राष्ट्रसंघीय अदालत पुगेको थियो ।


त्यसका साथै भारतले जाधवलाई रिहा गरी भारत फिर्ता गराइदिन आईसीजेलाई निवेदन दिएको थियो । यद्यपि, उक्त माग भने अदालतले अस्वीकार गरिसकेको छ । आईसीजेका आदेश बाध्यकारी हुने भए पनि ती आदेश लागु गराउने अधिकार भने छैन । पाकिस्तानले बलोचिस्तानमा जारी हिंसाका लागि भारत जिम्मेवार रहेको बताउने गर्छ । जाधव व्यापारको सिलसिलामा इरान पुगेको बेला अपहरण गरी पाकिस्तान पुर्‍याइएको भारतको दाबी छ ।


पक्राउ गरिएलगत्तै जाधवले जासुसी गरेको आरोप स्विकारेको भिडियो पाकिस्तानले सार्वजनिक गरेको थियो । भारतले भने उक्त भिडियो जाधवलाई दबाब दिएर बनाइएको दाबी गर्दै आएको छ ।


सन् २०१७ को अप्रिलमा भएको सुनुवाइका क्रममा पाकिस्तानी सैनिक अदालतले जाधवलाई मृत्युदण्डको सजाय सुनाएको हो । तर अदालतको फैसलालाई चुनौती दिँदै भारतले मुद्दा दायर गरेपछि आईसीजेले मुद्दाको अन्तिम फैसला नहुन्जेल सजाय कार्यान्वयन नगर्न पाकिस्तानी अदालतलाई आदेश दिएको थियो ।


पाकिस्तानले सन् २०१७ को डिसेम्बरमा जाधवकी आमा र श्रीमतीलाई उनीसँग भेट गर्न दिएको थियो । सन् १९४५ मा स्थापना भएको आईसीजेले विभिन्न देशहरूबीचको झगडा समाधान गर्न आदेश दिन सक्छ । त्यसका लागि उसले अन्तर्राष्ट्रिय कानुनको सहारा लिने गर्छ ।


यसअघि सन् १९९९ मा पनि भारत र पाकिस्तानबीचको मुद्दा आईसीजे पुगेको थियो । आफ्नो नौसैनिक विमान खसालेर १६ जनाको ज्यान लिएको भन्दै पाकिस्तानले भारतविरुद्ध मुद्दा दायर गरेको थियो । तर आईसीजेले उक्त मुद्दा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?