दिल्लीकी पूर्व मुख्यमन्त्री दीक्षितको निधन

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राष्ट्रिय कंग्रेसकी वरिष्ठ नेतृ तथा दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी दीक्षितको नयाँदिल्लीस्थित एस्कर्ट फोर्टिस अस्पतालमा शनिबार हृदयाघातका कारण निधन भएको चिकित्सकले बताए । 

दिल्लीकी पूर्व मुख्यमन्त्री दीक्षितको निधन

भारतीय राजनीतिमा दीक्षित शालीन र जुझारु राजनीतिज्ञका रूपमा परिचित थिइन् । विशेष गरी दिल्लीमा उनको छवि निकै नै लोकप्रिय थियो । साढे तीन दशक लामो राजनीतिक जीवनमा उनी १५ वर्ष दिल्लीको मुख्यमन्त्रीका रूपमा रहिन् । उनी सन् १९९८ देखि २०१३ सम्म निरन्तर ३ कार्यकाल मुख्यमन्त्री रहिन् ।


नयाँदिल्लीलाई विश्वका अन्य राजधानीका तुलनामा आधुनिक बनाउने श्रेय पाएकी दीक्षितले मेट्रो रेल सेवाको परिकल्पना र निर्माण सुरु गराएकी हुन् । उनकै नेतृत्वमा दिल्लीमा दर्जनौं फ्लाइओभर निर्माण गरिए । दीक्षितले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि थुप्रै कल्याणकारी कार्यक्रम लागू गरिन् ।


हालै सम्पन्न लोकसभा चुनावमा नमिठो हार व्यहोरेसँगै नेतृत्वको संकट खेपिरहेको भारतीय राष्ट्रिय कंग्रेसका लागि शिलाको निधनले

थप चोट पुगेको छ । उनी नेहरू–गान्धी परिवारकी विश्वासपात्रसमेत थिइन् ।


शिला सन् १९८४ को राजीव गान्धी नेतृत्वको सरकारमा केन्द्रीय मन्त्रीसमेत थिइन् । दिल्लीमा कंग्रेसको खम्बा मानिने दीक्षित सन् २०१३ मा सम्पन्न विधानसभा चुनावमा नराम्रो हार व्यहोरेपछि सक्रिय राजनीतिबाट क्रमशः टाढिँदै गइन् । त्यसपछि दक्षिण भारतीय राज्य केरलाको गभर्नर नियुक्त शिलाले केन्द्रमा भारतीय जनता पार्टीको सरकार बनेसँगै पद त्यागिन् ।


सन् २०१७ को उत्तरप्रदेशको विधानसभा चुनावमा पार्टीले मुख्यमन्त्रीका रूपमा अघि सारे पनि उनले असमर्थतता जनाइन् । करिब दुई वर्ष सक्रिय राजनीतिबाट टाढा रहेकी दीक्षितलाई कंग्रेसले १७ औं लोकसभा चुनावको पूर्वसन्ध्यामा पुनः एकपटक दिल्लीको जिम्मेवारी दियो ।


दीक्षितको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । कंग्रेस नेता राहुल गान्धीले दीक्षितको निधनले आफू अत्यन्त दुःखी भएको र कंग्रेसले एउटी छोरी गुमाएको बताए । नयाँदिल्लीको राजनीतिमा दीक्षितका तीव्र आलोचक भनेर चिनिने मुख्यमन्त्री अरविन्द केजरीवालले उनको निधनले ठूलो क्षति भएको बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?