२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बेलायतमा प्रधानमन्त्रीको चुनाव सकियो

नवीन पोखरेल

लन्डन — टेरेजा मेको राजनीनामा सँगै रिक्त बेलायतको प्रधानमन्त्री चयनका लागि भएको चुनावी प्रक्रिया आइतबार सकिएको छ । झण्डै एक महिना लामो प्रक्रियापछि सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिने व्यक्ति देशको प्रधानमन्त्री बन्नेछन् ।

बेलायतमा प्रधानमन्त्रीको चुनाव सकियो

अन्तिम प्रतिस्पर्धामा रहेका पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान विदेशमन्त्री जेरेमी हन्टमध्येको बिजेतालाई मंगलबार प्रधानमन्त्री घोषित गरिनेछ ।


कञ्जरभेटिभ पार्टीका ३ सय १३ सांसदबीच नयाँ नेता चयनका लागि पाँचौं चरणसम्म भएका निर्वाचनमार्फत जोन्सन र हन्ट अन्ति दुईमा चुनिएका हुन् । टोरी नेता बन्न १० जनाले आवेदन दिएका थिए ।गत जुलाइ ६ मा कन्जरभेटिभ दलका करिब एक लाख ६० हजार सदस्यलाई नयाँ नेता चुन्न मत खुला गरिएको थियो । मतदानको अन्तिम समयसीमा आइतबार सकिएको छ । ५० प्रतिशतभन्दा बढि मत ल्याउने नेताले ६६ मिलियन जनसंख्या रहेको बेलायतको प्रधानमन्त्री बन्ने सौभाग्य पाउने छन् ।


टोरी सांसदहरूबीच बोरिस लोकप्रिय भएपनि पार्टी सदस्यहरूमाझ उनले कस्तो विश्वास जित्ने हुन हेर्न बाँकी छ । ब्रेक्जिट अभियानमा खुलेर लागेका जोन्सन सन् २००८ देखि २०१६ सम्म लन्डन मेयर थिए । सन् २०१० मा क्याबिनेट छिरेका हन्ट विदेशमन्त्री बन्नुअघि स्वास्थमन्त्री थिए । उनी बेलायतमा सबैभन्दा लामो समय स्वास्थमन्त्री बन्ने भाग्यमानी हुन् ।


प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट डिलबाट असन्तुष्टि जनाउँदै बोरिसले गतवर्ष राजिनामा दिएपछि हन्ट विदेशमन्त्री भएका हुन् ।बेलायती प्रधानमन्त्री बन्ने पक्रिया जति जटिल र लामो छ, चुनौतिका चाङ पनि उति नै छन् । नयाँ प्रधानमन्त्रीको पहिलो र मुख्य जटिलता अक्टोबर ३१ भित्र युरोपेली संघ (ईयू) बहिर्गमन (ब्रेक्जिट) मुद्दा पार लगाउने छ । बेलायतले बिना सम्झौता ईयु छोड्नुपर्ने स्थितिमा त्यसलाई कसरी झेल्ने तयारी र रणनीति प्रधानमन्त्रीसँग हुनुपर्ने देखिन्छ ।


बेलायती संसदले ‘नो डिल’ स्वीकार नगर्ने पक्षमा मतदान गरिसकेको छ । त्यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने पनि नयाँ प्रधानमन्त्रीलाई चुनौति हुनेछ । त्यस्तै निर्वाचित भएलगत्ते आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिनु पनि त्यति सजिलो छैन् । प्रधानमन्त्रीले छानेका मन्त्रीका आधारमा उनको चाहना प्रतिबिम्बित हुने भएकाले सन्तुलित ढंगले गर्नुपर्ने देखिन्छ ।


अर्थमन्त्री फिलिप ह्यामण्ड र कानूनमन्त्री डेभिड गाउकले बोरिस प्रधानमन्त्री भए आफूहरूले पदबाट राजिनामा दिने बताइसकेका छन् । ती बरिष्ठ मन्त्रीले बोरिसको ‘बिना डिल’ ब्रेक्जिट विकल्पमा आफ्नो असहमति जाहेर गर्दै त्यस्तो प्रतिक्रिया जनाएका हुन् । ब्रेक्जिटमा नयाँ प्रधानमन्त्रीको योजनाले विभाजनको दरार ल्याउने पक्काजस्तै छ ।


त्यसैगरि पछिल्लो समय देखिएको इरानसँगको तनावको कुटनीतिक पहल पैल्याउनु पनि नयाँ प्रधानमन्त्रीको कार्यक्षमतासँग जोडिएको छ । इरानले ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको’ दाबी गर्दै बेलायती झण्डाबाहक तेल ट्यांकर नियन्त्रणमा लिएपछि दुई देशबीचको सम्बन्ध चिसिएको हो ।

प्रकाशित : श्रावण ५, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?