कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्योङयाङमा  खाद्यान्न पठाइँदै

एजेन्सी

सोल — दक्षिण कोरियाले उत्तर कोरियाका लागि गर्न लागेको खाद्यान्न सहयोगको पहिलो खेप यसै महिना पठाउने भएको छ । दक्षिण कोरियाली एकीकरण मन्त्रालयले उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण धान उत्पादन घटेपछि सहयोग गर्न लागेको जनाएको छ ।

धान उत्तर कोरियाको प्रमुख खाद्यान्न हो । गत महिना सोलले प्योङयाङलाई विश्व खाद्य कार्यक्रममार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो ।


एकीकरण मन्त्रालयका उपप्रवक्ता किम युन–हानले भनेका छन्, ‘दक्षिण कोरियाले (जुलाईभित्रै उत्तर कोरियालाई चामल उपलब्ध गराउँदै छ र आगामी सेप्टेम्बरभित्रै तोकिएको सबै कोटा उत्तर कोरिया पुगिसक्छ । उनले उत्तर कोरिया पठाइने पानीजहाज र अन्य उपकरणको ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू फुकाउनेबारे गृहकार्य भइरहेको जनाए । परमाणु हतियार निर्माणका कारण अमेरिका युरोपेली संघ तथा संयुक्त राष्ट्र संघले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाउँदै आएका छन् ।


सन् २०१० यता उत्तर कोरियाका लागि चामल ढुवानी हुन लागेको यो पहिलो अवसर हो । त्यति बेला अतिवृष्टिका कारण खेतीबालीमा ठूलो क्षति भएपछि ५ हजार टन चामल उत्तर कोरिया पठाइएको थियो ।


उत्तर कोरियाको स्थलगत भ्रमण गरेका विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनका विज्ञ तथा प्रतिनिधिहरूले सन् २००८ यताकै विषम मौसमी प्रतिकूलताका कारण खाद्य उत्पादनमा ठूलो असर परेको जनाएका थिए । उनीहरूका अनुसार करिब देशको ४० प्रतिशत जनसंख्या अर्थात् एक करोडले खाद्यान्न अभाव झेलिरहेका छन् ।

प्रकाशित : श्रावण ७, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?