१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हङकङका प्रदर्शनकारीमाथि अज्ञात समूहको आक्रमण

एजेन्सी

हङकङ — हङकङमा जारी लोकतन्त्र पक्षधरहरूको प्रदर्शनमा संलग्न भएर फर्कंदै गरेका मानिसलाई अज्ञात समहूले आक्रमण गरेको छ । 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीलाई सेतो टिसर्ट लगाएका मानिसले एक रेल स्टेसनमा आक्रमण गरेका हुन् ।

हङकङका प्रदर्शनकारीमाथि अज्ञात समूहको आक्रमण

आक्रमणमा ४३ घाइते छन् । प्रहरीले घाइतेमध्ये एकको गम्भीर अवस्थामा उपचार भइरहेको जनाएको छ ।


सामाजिक सञ्जालमा सार्वजनिक दृश्यमा युएन लङ स्टेसनमा रेल कुरिरहेका मानिसलाई एक समूहले लठ्ठी प्रहार गरिरहेका छन् । आक्रमणस्थलमा प्रहरी ढिला पुगेको भन्दै हङकङ प्रहरीको आलोचना भएको छ । कपितय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘सरकारी योजनाअनुसार प्रदर्शनकारीमाथि आक्रमण गरिएको’ दाबी गरेका छन् ।


हङकङकी प्रमुख कार्यकारी क्यारी लामले आक्रमणको भर्त्सना गर्दै ‘राष्ट्रिय सार्वभौमिकतामाथि चुनौती थपिएको’ प्रतिक्रिया दिएकी छन् ।


सुपुर्दगी विधेयकको विरोधमा सुरू गरिएको प्रदर्शन हालैका दिनमा हङकङको प्रजातन्त्रका विभिन्न मुद्दामा केन्द्रित भएको छ । आइतबारका प्रदर्शनका क्रममा अनावश्यक बल प्रयोग गरेको भन्दै प्रहरीको आलोचना समेत भएको छ ।


प्रदर्शनको पूर्वसन्ध्यामा ठूलो परिमाणमा विस्फोटक सामाग्री बरामद गरिएको भन्दै अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पारेका थिए । प्रदर्शनमा ४ लाख ३० हजारभन्दा बढी मानिस सहभागी भएको आयोजकको दाबी छ । तर प्रहरीले भने १ लाख ३८ हजारले प्रदर्शन गरेको जनाएको छ । यसअघिका प्रदर्शनका क्रममा कतिपय मानिस संसद् भवन प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास, रबरका गोली प्रयोग गरेको थियो । त्यसक्रममा २८ प्रदर्शनकारी र १३ प्रहरी अधिकारी घाइते भएका थिए ।


अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी प्रदर्शनकारीको छ । तर हङकङका अधिकारीले सुपुर्दगीसम्बन्धी अन्तिम निर्णय घटनाको प्रकृतिमा भर पर्ने भएकाले विधेयकको विरोध गर्नु उचित नहुने बताएका थिए ।

हङकङका प्रमुख प्रशासनिक कार्यालय घेराउ गर्दै दसौं लाख सर्वसाधारण सडकमा उत्रेपछि सरकारले विधेयक स्थगित गरे पनि आन्दोलन भने रोकिएको छैन् । विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर उत्रेपछि प्रमुख कार्यकारी क्यारीले विधेयक स्थगनको घोषणा गरेकी थिइन् । उनले प्रदर्शनकारीलाई फकाउने उद्देश्यले ‘जनतामा छाएको त्रास सम्बोधन नभएसम्म विधेयक पुनः पेस नगरिने’ बताएकी थिइन् । तर प्रदर्शनकारीले विधेयक खारेजी तथा क्यारीको राजीनामा माग्दै आएका छन् ।


सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । बेलायतबाट स्वतन्त्र भएयता हङकङलाई ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनले शासन गर्दै आएको छ । यद्यपि, हङकङमा छुट्टै न्यायालय, संसद् र अर्थव्यवस्था छ ।

प्रकाशित : श्रावण ७, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?