१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्ट्रेलियाको कुल जनसंख्याको ३० प्रतिशत आप्रवासी

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारको तथ्यांक बिभागद्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार अस्ट्रेलियाको कुल जनसंख्याको ३० प्रतिशत जनता आप्रवासी रहेका छन् । विभागद्वारा केही दिन अघि सार्वजनिक गरिएको तथ्यांक अनुसार गत वर्षको अन्त्यसम्मको कुल जनसंख्यामध्ये ७३ लाख ४३ हजार व्यक्तिहरु विदेशमा जन्मिएकाहरु भएको उल्लेख छ ।

अस्ट्रेलियाको कुल जनसंख्याको ३० प्रतिशत आप्रवासी

जुन कुल जनसंख्याको २९ प्रतिशतभन्दा केही बढी हो ।


सरकारले सार्वजनिक गरेको उक्त तथ्यांकमा सबैभन्दा धेरै संख्या बेलायतमा जन्मिएकाहरुको छ । त्यस बाहेक चीन र भारतीयहरुको संख्या समेत उल्लेख्य रहेको छ । उच्च १० देशको तथ्यांक सार्वजनिक गरिएको सो रिर्पोटमा नेपालीहरुको संख्या उल्लेख गरिएको छैन् । प्रतिवेदनमा अस्ट्रेलियालाई बहुसांस्कृतिक देश निर्माणका लागि आप्रवासीहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।


तथ्यांक विभागका आप्रवासी तथ्यांक शाखाका सहायक निर्देशक निल स्कटले अस्ट्रेलिया विश्वका हरेक देशमा जन्मिएका नागरिकहरुका लागि आफ्नो देश बनाएको बताएका छन् । उनले जम्मा जनसंख्या करिब २ करोड ५० लाखमध्ये १ करोड ८० लाख अस्ट्रेलियामा जन्मिएका भएपनि यहाँको समाज निरन्तर सांस्कृतिक रुपले विविधायुक्त भएको बताए ।


तथ्यांक अनुसार गतबर्ष मात्र अस्ट्रेलियामा ५ लाख २६ हजार मानिसहरु आएका थिए जसमा ६२ प्रतिशत अस्थायी भिसामा अस्ट्रेलिया आएका थिए जसमध्ये ३० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु थिए । यही समयमा २ लाख ३७ हजारले अन्य देशमा बसोबास गर्नका लागि अस्ट्रेलिया छाडेका थिए ।


यसैगरी अस्ट्रेलियाको भिक्टोरियालाई अन्य राज्यहरुको तुलनामा धेरै आप्रवासीहरुले बसोबासका लागि छनोट गरेका छन् भने पश्चिम अस्ट्रेलियामा सबैभन्दा कम आप्रवासी आएका छन् ।


विश्वकै उत्कृष्ट बहुसांस्कृतिक देशका रुपमा चिनिएको अस्ट्रेलियामा विश्वका दुईसय बढी देशका नागरिकहरु बसोबास गर्ने गर्दछन् । यसका साथै सरकारले दक्ष र सक्षम नागरिकहरुलाई आफ्नो देशका अवसर दिने उद्देश्यले बिभिन्न आप्रवास सम्बन्धि कार्यक्रमहरु समेत घोषणा गर्ने गरेको छ । वार्षिक रुपले १ लाख ६० हजार आप्रवासीलाई भित्र्याइरहेको अस्ट्रेलियाको बेरोजगार दर समेत अन्य देशको तुलनामा कम रहेको छ ।


अहिले अस्ट्रेलियाको बेरोजगार दर ५ प्रतिशत मात्र रहेको छ । यसका साथै अस्ट्रेलियाले काम गर्ने सामान्य कामदारहरुलाई दिने न्यूनतम ज्यालादर समेत विश्वकै उत्कृष्टमध्येको रहेको छ । अस्ट्रेलियामा काम गर्ने जोकोहीलाई अहिले न्यूनतम १९ दशमलव ४९ डलर प्रतिघण्टा दिइने गरिएको छ ।


प्रकाशित : श्रावण ७, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?