भारतीय पत्रकार रविशकुमारलाई म्यागासासे

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका चर्चित पत्रकार रविश कुमार रामोन म्यागासासे अवार्डबाट पुरस्कृत भएका छन् । फिलिपिन्सका पूर्वराष्ट्रपति रामोन म्यागासासेको नाममा स्थापित पुरस्कार एसियाको नोबलका नामले चिनिन्छ । 

भारतीय पत्रकार रविशकुमारलाई म्यागासासे

पुरस्कार छनोट समितिले आवाजविहीनलाई आवाज दिनका लागि पत्रकारितालाई माध्यम बनाएको भन्दै रविशलाई यस वर्षको म्यागासासे अवार्डबाट पुरस्कृत गरिएको जनाएको छ । टेलिभिजन च्यानल एनडीटीभीका प्रबन्ध सम्पादक कुमारले भारतीय राजनीतिक र ग्रामीण मुद्दालाई प्रखर रूपमा उठाउँदै आएका छन् ।


यस वर्ष म्यागासासेबाट रविशसँगै म्यान्मारका पत्रकार को सी विन, थाइल्यान्डकी अधिकारकर्मी अग्खंना निलापाइजित, फिलिपिन्सका संगीतकार रेमन्ड पुजान्ते कायाब्याब र दक्षिण कोरियाका अधिकारकर्मी किम जोङ की पनि पुरस्कृत भएका छन् ।

म्यान्मारका चर्चित पत्रकार तथा अलनाइन न्युज पोर्टल म्यान्मार वानका सम्पादक विनलाई पनि आमसञ्चारमाध्यमको सत्यतथ्य पस्कने क्षमता र शक्ति विकास गर्न योगदान गरेबापत् उनलाई पुरस्कृत गरिएको जनाइएको छ ।


सामाजिक सद्भाव भड्काउने किसिमको समाचार फेसबुकमा प्रेषित गरेको भन्दै उनलाई म्यान्मार सरकारले दूरसञ्चार कानुनअन्तर्गत मानहानिको मुद्दा लगाएको थियो । जसका कारण उनी करिब दुई वर्ष कैद भोग्न बाध्य भए । विनले फेसबुकमा सेयर गरेको समाचारमा म्यान्मारका बौद्ध भिक्षुहरूले रोहिंग्यालगायतका अल्पसंख्यक समुदायबाट तालिवानले जस्तै अमानवीय व्यवहार गरेको विषयवस्तु समेटिएको थियो ।


तर, उनको गिरफ्तारीलाई लिएर म्यान्मार सरकारको अन्तर्राष्ट्रिय रूपमै चर्को आलोचना भएपछि एक महिना मात्र उनलाई रिहा गरिएको थियो । पुरस्कार आगामी ९ सेप्टेम्बरमा फिलिपिन्सको राजधानीमा मनिलामा एक कार्यक्रमका वितरण गरिने छ ।


नेपालबाट अध्येता महेशचन्द्र रेग्मी, चिकित्सक सन्दुक रुइत, सूचनाप्रविधि अभियन्ता महावीर पुन, वरिष्ठ पत्रकार भारदत्त कोइराला र चेलिबेटी बेचबिखनविरुद्ध सक्रिय संस्था शक्ति समूहले पनि यो पुरस्कार पाइसकेका छन् ।


जनपक्षीय पत्रकारिता सम्मानित

अहिले भारतमा मात्र होइन, सबैजसो देशमा पत्रकारिता संकटमा छ । स्वतन्त्र पत्रकारिताको स्थान छैन । राजनीतिले नियन्त्रणमा लिएको छ । बाहिरबाट हेर्दा कर्पोरेट प्रभाव देखिए पनि राजनीतिको पकड छ । त्यसकारण पनि पत्रकारिता बाँच्छ कि बाँच्दैन भन्ने शंकाउपशंका सुरु भएको छ ।


तर, यो पुरस्कारले अझै पनि वास्तविक पत्रकारिताको भविष्य छ भन्ने देखाएको छ । यस किसिमको पत्रकारिता गर्नेहरूमा आशा पलाएको छ । जनताको पक्षमा गरिने पत्रकारिताको अझै पनि दर्शक छन् भन्ने कुराको पुष्टि पनि हो । पुरस्कार मैले पाए पनि यो नयाँ पुस्ताका लागि प्रेरणा हो ।


साथै यसले जनपक्षीय पत्रकारिताको स्कोप छ भन्ने पनि पुष्टि गरेको छ । प्रोपोगान्डा पत्रकारिता नै सबैथोक हो भन्ने बुझाइ बढिरहेका बेला जनपक्षीय पत्रकारितालाई मान्यता दिनु सुखद ठानेको छु ।


पत्रकारितामा कर्पोरेट र राजनीतिक क्षेत्र हाबी हुनुमा पत्रकारबीच मेल नहुनु पनि प्रमुख कारण हो । एउटा पत्रकारले सम्झौता गर्‍यो भने अरूलाई त्यसो गर्नबाट रोक्नु अन्य पत्रकारहरूको जिम्मेवारी हो । त्यसो भयो भने, जनताको स्वतन्त्र समाचार पढ्न, सुन्न र देख्न पाउने अधिकारको रक्षा हुने छ ।


त्योभन्दा मिडियामा कमजोरी नभएको होइन । मिडियाको सबैभन्दा ठूलो कमजोरी भनेको सहर र नेता केन्द्रित पत्रकारितामा सीमित हुनु हो । अझै पनि मिडिया गाउँका दूरदराजमा जाने छ भन्नेमा म आशावादी छैन ।


मुख्यमन्त्री र ठूला नेताका पछि लागेर मात्र हुँदैन । मिडियाको प्राथमिकतामै कमजोरी छ । त्यसैले यसको प्रभाव पनि कम हुँदै आएको छ । यहाँनेर मिडियाले पनि आत्मसमीक्षा गर्नुपर्छ । जब मिडियाले आत्मसमीक्षा गरेर निर्धक्क ढंगले अघि बढ्छ, तब नेता र कर्पोरेट कुनै पनि प्रभाव वा नियन्त्रणले काम गर्दैन ।

प्रकाशित : श्रावण १७, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?