कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पश्चिम अस्ट्रेलियामा स्वेच्छिक मृत्यु प्रस्ताव

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वेच्छिक मृत्युलाई कानुनी मान्यता दिएको केही समयमा पश्चिम अस्ट्रेलियामा पनि यसलाई कानुनी रूप दिइने भएको छ ।

भिक्टोरिया अस्ट्रेलियामा स्वेच्छिक मृत्युको अधिकार दिने पहिलो राज्य हो । यही अधिकारको प्रयोग गरेर ६१ वर्षीया क्यान्सर रोगी महिला केरी रोबर्टसनले केही दिनअघि मात्र स्वेच्छिक मृत्युवरण गरेकी छिन् ।


विभिन्न कानुनी र स्वास्थ्यका प्रावधानहरू मेल खाएपछि मात्र प्रयोग गर्न पाउने यो अधिकारलाई संसद्बाट पारित गराउने उद्देश्यले पश्चिम अस्ट्रेलिया सरकारले समेत बिधेयक संसदमा लैजाने तयारी गरेको हो । राज्यका प्रिमियर मार्क म्यागवानले यसबारे विस्तृत छलफल र परामर्शपछि मात्र संसद्मा विधेयक लाने तयारी गरेको बताए ।


यस वर्षको अन्त्यसम्ममा इच्छामृत्युबारे निर्णय हुने जनाइएको छ । अस्ट्रेलियामा स्वेच्छिक मृत्युको अधिकार सम्बन्धमा लामो समयदेखि विभिन्न राज्यमा छलफल हुँदै आएको छ । ‘स्वेच्छिक मृत्युको अधिकार यस राज्यका नागरिकका लागि महत्त्वपूर्ण विषयका रूपमा रहिआएको र यस सम्बन्धमा बोल्न र मतदान गर्न सांसदले पाउनुपर्छ ।’ प्रिमियर म्यागवानले भने ।


यदि संसदले पारित गरेर कानुन बने पनि यसको अधिकार प्रयोग गर्नका लागि विभिन्न सर्तहरू राखिएका छन् । यस सेवाको उपयोग गर्न अस्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दा भएको हुनुपर्ने, १८ वर्षमाथिको हुनुपर्ने, पश्चिम अस्ट्रेलियामा एक वर्षदेखि बसोबास गरिरहेको हुनुपर्नेलगायतका सर्तहरू पूरा गर्नुपर्ने छ । यसैगरी प्राणघातक रोग लागेको हुनुपर्ने र ६ महिना वा १ वर्षसम्म मात्र बाँच्न सक्ने अवस्था हुनुपर्नेसमेत बताइएको छ ।


सञ्चारमाध्यमका अनुसार प्रस्ताव गरिएको कानुनमा यो सेवा प्रयोग गर्न चाहने बिरामीले तीन पटकसम्म स्वेच्छिक मृत्युका लागि अनुरोध गर्नुपर्ने छ भने दुईजना स्वतन्त्र व्यक्तिले यसको जमानी बसेको हुनुपर्ने छ । यसका साथै दुई चिकित्सकले दुई पटकसम्म स्वतन्त्र रूपले यसको जाँच गरेको हुनुपर्ने छ ।


राज्य सरकारले यो प्रक्रियालाई निगरानी गर्नका लागि संवैधानिक संस्था निर्माण गरिने बताएको छ । राज्यका स्वास्थ्यमन्त्री रोजर कुकले सरकारले विज्ञको सुझाव तथा अन्य सरोकारवालासँगको सरसल्लाहमा यसको प्रस्ताव तयार पारिएको बताएका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?