१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जम्मु-कश्मीरका सम्बन्धमा नेपाललाई भारतको ब्रिफिङ

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले जम्मु-कश्मीरका सम्बन्धमा लिएको पछिल्लो निर्णयको नेपाललाई औपचारिक ‘ब्रिफिङ’ गरेको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् ।

जम्मु-कश्मीरका सम्बन्धमा नेपाललाई भारतको ब्रिफिङ

‘उहाँले जम्मु-कश्मीरका निणर्यबारे भारतको धारणा राख्नु भयो,’ राजदूत आचार्यले कान्तिपुरसँग भने । राजदूत आचार्यले गोखलेसँगको भेटका सम्बन्धमा थप बताउन चाहेनन् ।


भारतले जम्मु-कश्मीरलाई अलग राज्यको मान्यता खारेज गर्ने निर्णयको पक्षमा समर्थन जुटाउने प्रयासस्वरुप नेपाललाई ब्रिफिङ गरिएको हो । भारतले अनुच्छेद ३७० खारेज गर्ने सम्बन्धी प्रस्ताव राज्य सभामा पेस गरेकै दिन सोमबारदेखि अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन पहल सुरु गरेको थियो ।


साथै भारतले जम्मु-कश्मीरको निर्णय आफ्नो आन्तरिक मामिला भएको भन्दै त्यससम्बन्धमा प्रतिक्रिया नजाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरेको छ । जम्मु-कश्मीरको विषयमा अमेरिका र चीनलगायतका मुलुकले औपचारिक प्रतिक्रिया जनाइसके पनि नेपालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकाले भारतको निर्णयलाई आन्तरिक भनेको छ भने चीनले भने विरोध गरेको छ ।


नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीर राज्यलाई विशेष अधिकारको व्यवस्था रहेको संविधानमा अनुच्छेद ३७० र ३५ (क) लाई खारेज गर्ने निर्णय गरेको हो । ती अनुच्छेदले जम्मु-कश्मीरलाई विशेष राज्यको मान्यता दिएका थिए । धारा ३७० को खारेजी सँगै जम्मु-कश्मीरको हैसियत अन्य राज्यहरु सरह भएको । र, अब केन्द्रबाट लागू गरिने सबै कानूनहरु लागू हुनेछन् । यसका अतिरिक्त सरकारले जम्मु-कश्मीरलाई दुईवटा अलग केन्द्र शासित राज्यमा विभाजन गर्ने निर्णय समेत गरेको छ । जसअनुसार अब जम्मु र कश्मिर तथा लद्दाख दुईवटा केन्द्रशासित राज्य रहनेछन् ।

प्रकाशित : श्रावण २२, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?